‘विदेशमा कडा काम गर्नेलाई मिर्गौलासम्बन्धी समस्या हुन सक्छ, ख्याल गरौं’

 कात्तिक १५, २०७६ शुक्रबार १२:१५:३७ | उज्यालो सहकर्मी

काठमाण्डाै – वैदेशिक रोजगारीमा जानेमध्ये कतिपयमा मिर्गौलासम्बन्धी समस्या देखिने गरेको छ । विशेषगरी यो समस्या अझै मलेसिया लगायत खाडी देशमा काम गर्न जाने नेपाली कामदारहरुमा बढी देखिने गरेको छ । मानवअंग प्रत्यारोपण केन्द्रका अनुसार मिर्गौला प्रत्यारोपणको लागि त्यहाँ पुग्नेमध्ये २५ प्रतिशत खाडी देशबाट फर्केकाहरु नै छन् । 

वैदेशिक रोजगारीमा खाडी देशहरुमा जानेहरुलाई किन मिर्गौला सम्बन्धी समस्या बढी हुन्छ र त्यसबाट बच्न के कस्ता उपाय अपनाउनुपर्छ भन्ने विषयमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेसँग हामीले कुराकानी गरेका छौँ ।

वैदेशिक रोजगारीको लागि खाडी देशमा गएका केही नेपाली युवा मिर्गौला सम्बन्धी समस्या लिएर स्वदेश फर्कने गरेका छन् । यस्तो समस्या किन हुन्छ ?

वैदेशिक रोजागारीमा जाने धेरै नेपालीहरुमा नेपालमा हुँदा कडा मेहनत गर्ने बानी बसेको हुँदैन । विदेश गएपछि त्यहाँ १२ देखि १४ घण्टा काममा खटिनुपर्छ । सुत्ने समय कम हुन्छ । काम गराई बढी र सुताई कम भएपछि ज्यान दुख्न थाल्छ ।

पीडा कम गर्नको लागि दुखाई कम गर्ने औषधिको सेवन गर्न थाल्छन् । यसले मिर्गौलामा रहेका नेफ्रोनलाई असर गर्छ, निस्कृय तुल्याउँछ र मिर्गौला सम्बन्धी रोगले गाँज्न थाल्छ ।

प्रशस्त मात्रामा पिउनुपर्ने पानी पिउँदैनौँ । खाडी देशहरुमा अत्यधिक गर्मी हुन्छ । हाम्रो शरीरलाई बढी भन्दा बढी पानीको आवश्यकता पर्छ । तर पनि हामी प्यासले छटपटी नभएसम्म पानी पिउँदैनौ । यसले मिर्गौलालाई सबैभन्दा बढी असर गर्छ ।

१६ घण्टा काम गरेर आठ घण्टा पनि सुत्दैनन् । त्यो कारणले पनि मिर्गौैला बिगार्छ । त्यही भएर पर्याप्त मात्रामा सुत्नुपर्छ । शरीर स्वस्थ राख्नको लागि नियमित व्यायाम गर्नुपर्ने हुन्छ । हामीमा आफ्नो स्वास्थ्यको लागि ध्यान दिने बानी परेको छैन ।

कार्यस्थलमा गरेको कामलाई हामी व्यायाम गरेको ठान्छौं । मैले त १६ घण्टा काम गरेको के व्यायाम गर्नुपर्यो र भन्ने गलत सोचले गर्दा हामीहरु व्यायाम गर्न आवश्यक ठान्दैनौँ । तर हामी यहाँनेर चुक्छौं । आफ्नो शरीरलाई स्वस्थ बनाएर काममा लगायौँ कि अस्वस्थ स्थितिमै काममा लगायौँ भन्ने कुराको ख्याल गर्दैनौँ ।

यस्तै हामी विदेशमा गएर त्यहाँको संस्कृतिमा रमाउँछौँ । मदिरा सेवन गर्ने र अत्यधिक मात्रामा मासु पिउँछौं । दिनभरी काम गरेर थाकेको बहानामा आधा केजी जति नै मासु एक्लैले खाइदिन्छौं । यसरी नियमितजसो यति धेरै मासु खाएपछि मिर्गौलालाई असर पर्छ ।

वैदेशिक राेजगारीमा जाने कस्ता कामदारलाई यस्तो समस्या देखिने गर्छ ?

यसरी मिर्गौलाको समस्या हुने दुई प्रकारका व्यक्ति हुन्छन् । एकथरीका व्यक्ति आफूमा रोग छ भन्ने जान्दाजान्दै पनि रोग ढाकछोप गरेर विदेश जान्छन् । यति सानो समस्या त हो, यसले के हुन्छ र भन्ने सोच्छन् । विदेशमा पुगेपछि वातावरण मिल्दैन, उपचार गर्दैनन् । समस्या बल्झिंदै जान्छ र एक्कासी मिर्गौला बिग्रेपछि मात्र  थाहा हुन्छ ।

अर्कोथरीका मानिसहरु हुन्छन्, स्वस्थ व्यक्ति । यहाँबाट जाँदा मिर्गौला तथा पिसाब सम्बन्धी कुनै पनि प्रकारको रोग लागेको हुँदैन । विदेशमा पुगेर त्यहाँको कम्पनीले जाँच गर्दा पनि केही समस्या देखिंदैन । 

त्यहाँ गएको दुई तीन वर्षपछि बिस्तारै समस्या देखिन थाल्छ । त्यो सबै व्यक्ति स्वयंले गर्ने खानपान र रहनसहनका कारणले हुने हो । 

मिर्गौला बिग्रन नदिन के गर्ने ?

दैनिक तीन लिटर पिसाब गर्ने गरी पानी पिउनुपर्छ । त्यसको लागि पाँच लिटर पानी पिउनुपर्छ । चर्को गर्मीमा काम गर्नेले पानी पिउँदैनन्, त्यसले झनै कमजोर बनाउँछ । शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलालाई असर पर्न जान्छ र बिग्रिन सुरु हुन्छ ।

मासुको सेवन कम गर्नुपर्छ । दुखाई कम गर्ने औषधी खाइहाल्नुभन्दा किन दुखाई भयो भनेर डाक्टरलाई देखाउने गर्नुपर्छ । हत्तपत्त दुखाई कम गर्ने औषधि खानु हुँदैन ।

योग गर्न सके धेरै राम्रो । राति खाना खाएको आधी घण्टापछि १५ मिनेट हिँड्ने गरेमा धेरै फाइदा हुन्छ ।

यस्तै दिनदिनै मासु खाइन्छ भने किन यति धेरै खानुपर्यो ? चार/चार टुक्रा खाए हुँदैन र ? केही कुरा हाम्रो हातमा हुँदैनन्, तर आफूले गर्न सक्ने कुरा हामीले गर्नुपर्छ ।

मिर्गौला सम्बन्धी समस्या भयो भनेर कसरी जान्ने ?

सामान्यतया मिर्गौला सम्बन्धी रोग लागेको छ भनेर अगाडि नै थाहा हुँदैन । रोगले गाँजीसकेपछि र मिर्गौला बिग्रिन थालिसकेपछि मात्र व्यक्तिमा विभिन्न किसिमका लक्षणहरु देखिन थाल्छन् । जस्तो खुट्टा सुन्निने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने आदि ।

यदि पिसाब फेर्दा फिँज आयो भने मिर्गौला सम्बन्धी रोग लागेको छ भन्ने बुझ्नुपर्छ । त्यसपछि तुरुन्तै नजिकको मेडिकलमा गएर पिसाब परीक्षण गराइहाल्नुपर्छ ।

परीक्षण गर्दा पिसाबमा  एल्बोमिन कति मात्रामा गएको छ भन्ने थाहा हुन्छ । रगतमा क्रियाटिन बढेको देखिने हुन्छ । यसलाई मिर्गौलामा हुने नेफ्राइटिस रोग पनि भन्न सकिन्छ । त्यही भएर हामीले वर्षमा एकपटक पिसाब परीक्षण गराउनुपर्छ । 

यस्तै कतिपय व्यक्तिको उच्च रक्तचाप देखिन्छ । यसरी उच्च रक्तचाप देखिएमा मिर्गौलाको रोग सुरु भयो भन्ने बुझ्नुपर्छ । उमेर ढल्केपछि त उच्च रक्तचाप हुने गर्छ । तर ३५ वर्ष भन्दा कम उमेरकालाई यस्तो भएमा मिर्गौला सम्बन्धी रोग लागेको हुने सम्भावना धेरै हुन्छ । 

मिर्गौलामा समस्या भइसकेपछि मात्र थाहा हुने र संवेदनशील रोग भएकाले यसमा हामीले हेलचेक्र्याईँ गर्नुहुँदैन । 

समस्या भैहालेमा के गर्ने ?

रोग भएको आशंका भएपछि तुरुन्तै अस्पताल वा नजिकको मेडिकलमा गएर परीक्षण गराइहाल्नुपर्छ । 

रोग कस्तो अवस्थामा छ ? औषधि खाएरै ठिक हुने हो कि अरु प्रक्रियाहरु पनि गर्नुपर्ने हो भन्ने कुरा रिपोर्टले नै भन्छ । यस्तोमा डाक्टरको सल्लाह अनुसारको औषधि सेवन गर्नुपर्छ ।

यदि एउटा मिर्गौला मात्र बिग्रेको छ र कामै नलाग्ने भएको छ भने त्यसलाई निकालेर फाल्नु नै उत्तम विकल्प हुन्छ । एउटा मिर्गौलाले पनि बाँच्न सकिन्छ । यसले त्यस्तो केही फरक पार्दैन । तर नियमित स्वास्थ परीक्षण भने गरिराख्नुपर्छ । 

तर यदि दुईवटै मिर्गौला बिग्रेर कामै नलाग्ने भएको छ भने दुईवटा विकल्प हुन्छ । एउटा डायलासिस गर्ने र अर्को प्रत्यारोपण गर्ने । मिर्गौला डायलासिस गराइराख्नु भन्दा प्रत्यारोपण गरेकै राम्रो हुन्छ । डायलासिस गर्दा अस्पताल गइराख्नुपर्छ, झण्झटिलो हुन्छ र दिगो पनि हुँदैन ।

प्रत्यारोपण गरेपछि अस्पताल गइराख्नुपर्ने झण्झट रहँदैन । नियमित औषधि सेवन भने गरिराख्नुपर्छ । बुवा आमा श्रीमान श्रीमती र नजिकको आफन्त कोही मिर्गौला दान दिन इच्छुक हुनुहुन्छ भने उहाँहरुबाट मिर्गौला लिन सकिन्छ । 

मिर्गौला प्रत्यारोपण नेपाल सरकारले निःशुल्क गरेको छ । वीर अस्पताल, शिक्षण अस्पताल, भक्तपुर अंग प्रत्यारोपण केन्दमा निःशुल्क प्रत्यारोपण हुन्छ ।  निःशुल्कको मतलब पैसा नलाग्ने पनि होइन ।

औषधि (एटीजी)  तथा विभिन्न परीक्षणको दुई चार लाख रुपैयाँ लाग्न सक्छ । तर धान्नै नसक्ने गरी महंगो हुँदैन ।

तपाईको प्रतिक्रिया