आप्रवासी कामदारको अधिकार संरक्षणका लागि ३० देशका प्रतिनिधि काठमाण्डौमा सहभागी हुने

 कात्तिक २१, २०७६ बिहिबार १३:३७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आप्रवासी कामदारको अधिकार संरक्षणका लागि कामदार पठाउने र लिने झण्डै ३० देशका प्रतिनिधिहरुको भेला काठमाण्डौमा हुने भएको छ ।

आउँदो २६, २७ र २८ गते राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गर्न लागेको आप्रवासी कामदारको अधिकार संरक्षणका सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारी अधिकारी, मानवअधिकार आयोगका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र नागरिक समाज लगायत ६२ जनाको सहभागिता हुने आयोगले जानकारी दिएको छ ।

सम्मेलनमा कामदार पठाउने र कामदार लिने देशका समस्यामाथि छलफल गरी काठमाण्डौ घोषणापत्र जारी गरिने आयोगका सदस्य सुदिप पाठकले जानकारी दिनुभयो ।

सम्मेलनमा मानवअधिकारका लागि विश्वव्यापी संजालका प्रमुख डा. कार्लो अल्फोनसो नेग्रेट मोस्क्युरासहित केन्या, मलेसिया, माल्दिभ्स, मंगोलिया, दक्षिण अफ्रिका, कतार, बंगलादेश, भारत थाइल्याण्ड लगायतका देशका मानवअधिकार संस्थाका आयुक्तहरु, सरकारी निकाय लगायतका प्रतिनिधि सहभागी हुनेछन् ।

नेपालसहित जर्मनी, फिलिपिन्सलगायतका प्रतिनिधिले पाँचवटा कार्यपत्र पस्तुत गर्ने र कार्यपत्रका आधारमा काठमाण्डौ घोषणा पत्र जारी गर्दै त्यसको कार्यान्वयनका विषयमा पनि छलफल गरिने आयोगका सदस्य पाठकले जानकारी दिनुभयो ।

‘समस्यामा रहेका नागरिकको अधिकारको रक्षा होला भनेर यो सम्मेलनको आयोजना गर्न लागेका हौं´ आयोगका सदस्या पठकले भन्नुभयो, ‘कामदार पठाउने र कामदार लिने देशका प्रतिनिधि एकै ठाउँमा भेला हुने भएकाले पनि समस्यामा पर्नेहरुको अधिकार रक्षाका लागि यो सम्मेलनले सहयोग पुग्नेछ भन्ने विश्वास छ ।’

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणका लागि क्षेत्रीय, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तरका सम्मेलन सुरु गर्न थालेको हो । 

तपाईको प्रतिक्रिया