विदेशबाट आठ वर्षमा फर्कंदा कसैले चिन्दैनथे, अहिले सबैले चिन्छन्

 साउन २, २०७५ बुधबार

रामकुमार श्रेष्ठ/खाल्ले, खोटाङ । 

विदेशमा ८ वर्ष बसेर फर्कंदा छिमेकी बाहेक कसैले चिनेनन् । म ५ वर्ष मलेसिया र ३ वर्ष कुवेत बसें ।विदेशमा ८ वर्ष बिताएपछि भने छोराछोरी स्याहारेर घरमै बस्छु भनेर घर फर्किएँ । फर्किंदा छिमेकी बाहेक कसैले चिन्दैनथे ।

त्यतिबेला त मलाई मैले भएको परिचय पनि गुमाएछु जस्तो लाग्थ्यो । यसलाई कसरी फर्काउने होला भन्ने सोच्थेँ । तर अहिले त फर्काउँदै छु । विदेशमा आफूले थाहा पाएको कुरा अरुलाई सुनाउने मौका पाएपछि अहिले गाउँमा मात्रै होइन हाम्रो क्षेत्रका धेरैले चिन्छन् । 

म घर फर्र्किएको केही समयपछि हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको साझेदारीमा नवकिरण किरण सेवा समाज नेपालले सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत रिटर्नी भोलेन्टियर खोजिरहेको थाहा पाएँ । 

काम गर्ने इच्छा देखाएपछि मैले अवसर पाएँ । रिटर्नी भोलेन्टियरले गाउँमा पुगेर वैदेशिक रोजगारीका बारेमा जानकारी दिनुपर्ने । मसँग पनि विदेश जाँदा अनुभव छँदै थिए । त्यसैले विदेश जान लागेका युवा, विदेशबाट फर्किएका व्यक्ति, विदेश गएका व्यक्तिका परिवारलाई भेट्न थालेँ । 

उहाँहरुसँग भेट्न जाँदा गाउँका अरु व्यक्तिहरुसँग पनि भेट भयो । गाउँका बुढापाका राजनीतिक दलका व्यक्तिहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई भेटेर वैदेशिक रोजगारी र यसलाई सुरक्षित अनि लाभदायी बनाउन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन थालें ।

त्योसँगै विदेश जान लागेका युवाहरुलाई गाउँमै पनि गर्न सकिने कामका बारेमा पनि बुझाउँछु । जानकारी दिने मात्रै होइन अप्ठेरामा परेकाहरुलाई उनीहरुका समस्या सूचना केन्द्रसम्म ल्याएर सहयोग पनि गर्छु । ठगिएका, विदेशमै हराएकाका जानकारी लिएर उनीहरुलाई सहयोग गर्ने ठाउँसम्म पनि पुर्‍याउँछु ।

म सुरु सुरुमा विदेश जाने तयारीमा रहेकाहरुका घरमा पुग्दा बुझेर मात्रै जानुपर्छ अनि सीप सिकेर काम गर्न जान्ने भएर गयो भने राम्रो हुन्छ भन्ने थाहा नपाएकाहरु मेरै सहयोगमा काठमाडौंमा सामीले दिने तालिम लिएर विदेश गएका छन् । 

पछिल्लो १ वर्षमा म मेरो कार्यक्षेत्र भित्रका ९८ प्रतिशत घरमा पुगेछु । मैले विदेश जाने तयारी गर्दै गरेका ५५ जनालाई सूचना दिएँ । यही सूचनाका आधारमा चार जनाले सामीले दिने निःशुल्क तालिममा सहभागी हुनुभएको छ । 

समस्यामा परेकाहरुका नौ वटा निवेदन सूचना केन्द्रमा पुर्‍याएको छु । जसमध्ये छ जनाले केन्द्रबाट सहयोग पाए । पहिला विदेश जानु अघि कागजपत्रको फोटोकपी घरमा छोडेर जानुपर्छ भन्ने थाहा नपाएका १२ जनाले कागजपत्र छोडेर गएका छन् । अनि विदेशमा रहेका ८४ जनाको कागपत्र मगाएर घरमा पुर्‍याइदिएको छु ।  

विदेश जानेसँग म्यानपावरले धेरै पैसा माग्छन भन्ने त सबैलाई थाहा छँदैछ । मैले यसरी नै म्यानपावरले धेरै पैसा मागेकाहरुको दुई लाख १० हजार रुपैयाँ फिर्ता पनि गराइदिएको छु । एक जनालाई त फ्रि भिसा फ्रि टिकटमै पठाएको पनि छु । 

मैले काम गर्दाकै समयमा सुरक्षित वैदेशिक रोजगारीमा जानेहरुको पहिचानका लागि सामाजिक नक्सा बनायौं । अनि अभियान चलाएर दुई वटा टोललाई त सुरक्षित टोल बनाई सकेका छौं । 

मेरो विचारमा त एउटा गाउँ मात्रै होइन विदेश जानेहरु सबै सुरक्षित हुनुपर्छ । त्यसैले अहिले म वडाध्यक्ष र वडा सदस्यहरुसँग समन्वय गरेर यसका लागि पहल गरिरहेको छु । 

कोही विदेश जाने तयारीमा छ वा विदेशबाट छुट्टिमा आएको छ भन्ने सुनें भने म आफैं उनीहरुलाई भेट्न जान्छु । अहिले त यो मान्छेलाई भन्यो भने समस्या समाधान हुन्छ भन्ने लागेर होला केही समस्या पर्‍यो भने मलाइ फोन गर्छन । म आफ्नो कामबाट खुशी छु । 

(सन्तोष राईले गरेको कुराकानीमा आधारित )

तपाईको प्रतिक्रिया