मलेसियाबाट फर्किएर नर्सरी व्यवसाय, मासिक ४५ हजार बचत

 मंसिर १०, २०७६ मंगलबार १५:११:३८ | सुजता सुनुवार

इलाम– इलामको सुर्योदय नगरपालिका–१ गोर्खेका मनोज गोले (तामाङ्ग) फूलको साह्रै सौखिन ।

मनमा लहरिएको फूल खेतीको रहर अनि फूलका थुंगा एक अर्काका परिपुरक नै ठान्नुहुन्छ उहाँ । सपनालाई साकार बनाउन गोलेले २०६२ सालमा ‘गोले फूल नर्सरी फार्म’ स्थापना गर्नुभयो । रहरैरहरले खोलेको फूल नर्सरीले अहिले उहाँको जीवन बदलिएको छ ।

‘शुरुमा १२ प्रजाती फूलको विरुवाबाट नर्सरी थालेँ’,उहाँ भन्नुहुन्छ, ‘अहिले यही नर्सरीमा एक सय २० जातका फूल छन् ।’ मनोजलाई न घर चलाउन परदेश जान पर्यो न अरुको भनाइ सहन । मलेसियाको दुःख भोगेर फर्किएपछि खोलेको फूलको नर्सरीले मनोजको दैनिकी पनि फूलझैं भएको छ ।

जहाँ इच्छा, त्यहाँ उपाय

गोलेको घर गोर्खेमा पर्छ । घरसम्म पुग्ने राम्रो बाटो छैन । बजारबाट पैदल हिँडेर घर आउजाउ गर्नुपर्छ । घर नजिक फूलको बजार पनि छैन । त्यसैले उहाँले फिक्कल बजार नजिकै पर्ने बरबोटेमा जग्गा लिजमा लिएर फूल नर्सरी चलाइरहनु भएको छ ।

फिक्कल पशुपतिनगर कालोपत्रे छाडेर एक मिनेट हिँड्दा नर्सरीमा पुगिन्छ । बजार नजिकै भएकाले फूल बिक्री गर्न उहाँलाई कुनै चिन्ता छैन । उत्पादन भएको फूल पश्चिमी जिल्लाहरुमा समेत बिक्री हुन्छ ।

पश्चिमतिरबाट घुम्न आएकाहरुले फार्मबाट फूल खरिद गरेर लैजाँदा इलामको चिनो लगे भनेर आफैं मख्ख पर्नुहुन्छ मनोज । तामाङ्गले लिजमा लिएको जग्गाको महिनाको १५ सय ८३ रुपैयाँ तिर्न पर्छ । तर कमाइ भने लोभलाग्दो छ ।

फूल बिक्रीको सिजनमा एक लाख ५० हजार रुपैयाँ कमाउनु हुन्छ । सिजन परेको बेला पनि उहाँको मासिक कमाई ५० हजार रुपैयाँभन्दा कम हुँदैन । यही आम्दानीले घरखर्च कटाएर उहाँ मासिक ४५ हजार रुपैयाँसम्म जोहो गर्नुहुन्छ ।

मनोज भन्नुहुन्छ, ‘फूलैफूलको काम गरेर विदेशमा जानेले जत्तिकै कमाएको छु, काम गर्ने मन भए विदेश जान नपर्ने रहेछ ।’ तर कुनै समय मनोजलाई पनि लागेको थियोे – ‘कमाइ गर्ने बाटो विदेशमा हो ।’

त्यो बेला आफ्नै गाउँठाउँमा पनि पैसा कमाउन सकिन्छ भन्ने उहाँलाई लागेकै थिएन । २०५८ सालमा उहाँ मलेसिया जानुभयो । ‘मलेसिया पुगेर दुःख भोगेपछि पो थाहा भयो सोचेजस्तै हुँदो रहेनछ विदेश,’ मनोज परदेशको अनुभव सुनाउनुहुन्छ ।

मलेसिया पुगेकाे ६ महिनासम्म उहाँले कपडा सिलाउने काम गर्नुभयो । त्यसपछि धागो प्याक गर्ने र कपडामा स्टिकर टाँस्ने काम गर्नुभयो । तर कमाइ सोचेजस्तो थिएन । जानेबेला म्यानपावरले मासिक ४५ हजार रुपैयाँ हुन्छ भनेको थियो । तर सुरुसुरुमा त महिनाको १० हजार रुपैयाँ मात्रै थियो कमाइ ।

फर्किने बेलामा चाहिँ बढेर बल्ल ३० हजार रुपैयाँ पुगेको थियो । जसोजतो काम गर्दै हुनुहुन्थ्यो । तर अढाइ वर्षपछि उहाँ बिरामी हुनुभयो । मेरुदण्डमा नशा च्यापिएको थियो । त्यसको उपचार गर्नुभयो ।

कमाउन गएको ज्यान नै बिरामी भएपछि उहाँ जाँदा काढेको ऋण मात्र तिरेर २०६१ सालमा घर फर्किनुभयो । एक पटक विदेशको दुःख चाखेपछि स्वदेशमा नै कमाउन सकिन्छ भन्ने आँखा खुल्यो मनोजको ।

विदेशबाट फर्किएपछि उहाँले मिल सञ्चालन गर्नुभयो, तयारी चियाको व्यापार पनि गर्नुभयो । तर व्यवसाय त्यति फस्टाएन । त्यसपछि उहाँले रहरको काम नर्सरी सुरुवात गर्नुभएको हो ।

नर्सरीमा पिटुनिया, गणेशिया, सिजनथस, प्रेममुला लगायतका फूलको खेती छ । त्यसमध्ये एन्जेलिया र सिजन सिनियरी जातका फूल सबैभन्दा बढी बिक्री हुन्छ ।

‘मैले यो नर्सरी खोल्दा इलाममा फूलकाअरु नर्सरी थिएनन्, फूल रोप्न थाल्दा विदेशबाट आएर के काम थालेको भनेर धेरैले प्रश्न गर्थे´ उहाँ सुनाउनुहुन्छ,‘कतिलाई मैले तालिम गराएर फूल खेती शुरु गराएको छु ।’

स्वदेशको काममा सम्मान

फूल खेतीमा तल्लिन मनोजलाई फूल व्यवसायले दिलाएको सम्मानले सन्तुष्ट हुनुहुन्छ । फूल व्यवस्थामा योगदान गरेकै कारण उहाँले एउटा

अञ्चलस्तरीय र १०वटा स्थानीय पुरस्कार पाउनुभएको छ । ‘विदेशको जति दुःख नेपालमा गर्दा विदेशकोभन्दा धेरै कमाईंदोरहेछ,’ मनोज भन्नुहुन्छ, ‘अब त विदेशको नामसम्म लिन्नँ ।

सुजता सुनुवार

सुजता सुनुवार इलामका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया