म्याद सकिए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने क्रम चल्दै

 मंसिर १७, २०७६ मंगलबार ११:२५:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम म्याद आइतबारदेखि सकिएको छ । गएको कात्तिक १५ गते एक महिनाको लागि भनेर तेस्रो पटक थपेको म्याद आइतबार सकिएको हो ।

म्याद सकिए पनि कोषमा सूचीकृत हुने क्रम भने चलिरहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार अहिलेसम्म कोषमा ११ हजार ६ सय रोजगारदाता र १ लाख २७ हजार श्रमिक सूचीकृत भइसकेका छन् र आउने क्रम जारी छ ।

थपिएको म्याद भित्र पनि सूचीकृत हुन नआउनेलाई के गर्ने भन्ने विषमा अहिले कुनै निर्णय नभए पनि म्याद थप हुनसक्नेतर्फ उहाँले संकेत गर्नुभएको छ । ‘म्याद सकिए पनि कोषमा सूचीकृत हुने क्रम चलिरहेकाले फेरि पनि म्याद थप हुन सक्छ’, उहाँले उज्यालोसँग भन्नुभयो ।

छाता संगठनहरुसँगको अन्तरक्रिया प्रभावकारी आफ्नो कार्यकालको अन्तिमतिर निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट प्रतिष्ठानहरुको छाता संगठनसँगको अन्तरक्रियामा व्यस्त रहनुभयो ।

थप गरिएको पछिल्लो एक महिनामा प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा ल्याउन उहाँको निकै सक्रियता रह्यो। छाता संगठनसँग गरिएको अन्तरक्रिया प्रभावकारी भएकाले फेरि पनि छाता संगठनसँगको अन्तरक्रिया अगाडि बढाइने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताउनुभयो ।

अहिलेसम्म सहकारी, बैंक, मजदुर सँगठन, होटल व्यवसायी संघ, विज्ञापन एजेन्सी, उद्योग वाणिज्य महासँघ, निजी विद्यालयको सँगठन (प्याब्सन)ले आफूहरु कोषमा सूचीकृत हुने भनेर प्रतिबद्धता गरिसकेका छन् ।

प्रतिबद्धता गरिसकेपछि पनि आउन केही समय लाग्न सक्ने र सूचीकृत हुनेमा सबै सकारात्मक भएको ज्ञवालीले बताउनुभयो । ठूला प्रतिष्ठानहरुको आकर्षण सामाजिक सुरक्षा कोषमा ठूला रोजगारदाता कम्पनीहरु सूचीकृत भइसकेको र हुने क्रम जारी रहेको कोषले जनाएको छ ।

अहिलेसम्म कोषमा लगभग १० हजार कर्मचारी संख्या भएको गरुड सेक्युरिटीज प्रालि सूचीकृत भइसकेको छ ।

यस्तै चार हजार भन्दा बढी कर्मचारी भएको रिलायन्स स्पिनिङ मिल्स, लगभग ४ हजार कर्मचारी भएको जि फोरएस सेक्युरिटी सर्भिसेज नेपाल प्रालि, जी फोर्स सेक्युरिटी, एन्फोटेक सर्भिसेज प्राली, सीजी फुड्स, त्रिवेणी स्पेनिङ मिल्स प्राली, जगदम्बा स्टिल्स, किरण सुज म्यानुफैक्चर्स, नोबल मेडिकल कलेज कोषमा सूचीकृत भइसकेको कोषले जनाएको छ ।

कोषले सेवा दिन सुरु सामाजिक सुरक्षा कोषका योगदानकर्ताका आश्रित परिवारले सेवा पाउन थालिसकेका छन् । योगदानकर्ता काभ्रेका प्रकाश मोक्तानका बुवा बिमानसिंह मोक्तान र आमा धनमाया मोक्तानले एकमुष्ट ४५ हजार ७ सय ४० रुपैयाँ पाइसक्नुभएको छ ।

यस्तै मकवानपुरका रुपेन्द्र थापाकी श्रीमती सुष्मिता क्षेत्रीले ५९ हजार ७ सय ७० रूपैयाँ पाउनुभएको छ । योगदानकर्ताका आश्रित परिवारले आजीवन निवृत्तिभरण पनि पाउने व्यवस्था छ ।

प्रकाशका बुवाआमाले निवृत्तिभरण स्वरुप महिनाको दश हजार दुई सय र रुपेन्द्र थापाकी श्रीमतीले महिनाको १७ हजार रुपैयाँ पाउने कोषले जनाएको छ । प्रकाश काठमाण्डौको एउटा क्याफेमा काम गर्नुहुन्थ्यो भने रुपेन्द्र इन्जिनियर हुनुहुन्थ्यो ।

कोषमा अहिलेसम्म १९ करोड रकम जम्मा भइसकेको कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो । ६९ जिल्लाका प्रतिष्ठान कोषमा सातओटै प्रदेशका ६९ जिल्लामा रहेका प्रतिष्ठानहरु कोषमा आइसकेका छन् ।

सबैभन्दा बढी प्रदेश नम्बर ३ का सात हजार ४६ प्रतिष्ठान र त्यसमा कार्यरत ८७ हजार २ सय ४२ श्रमिक कोषमा सूचीकृत भइसकेका छन् । प्रदेश नम्बर तीन पछि कोषमा सूचीकृत हुने संख्या सबैभन्दा बढी प्रदेश नम्बर १ बाट रहेको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया