दुई महिनाको अवधिमा मलेसियाबाट ३१ हजार कामदारको माग

 मंसिर १७, २०७६ मंगलबार १७:९:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – गएको दुई महिनामा मलेसियाबाट ३१ हजार २०१ नेपाली कामदारको माग आएको छ ।

गएको अक्टोबर र नोभेम्बरमा ३१ हजार २ सय १ नेपाली कामदारको मागपत्र प्रमाणिकरण गरिएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । स्वास्थ्य परीक्षण लगायत विभिन्न बहानामा मलेसिया जाने कामदार ठगीमा परेको भन्दै सरकारले २०७५ जेठ २ गतेदेखि झण्डै १५ महिना मलेसियाको रोजगारी बन्द गरेको थियो ।

गएको वर्ष कात्तिक १२ गते नेपाली श्रमिकको सुरक्षाको प्रत्याभूत हुनेगरी दुई देशबीच श्रम समझदारी भएको थियो । नयाँ श्रम समझदारी अनुसार गएको भदौ २९ गतेदेखि मलेसियाको रोजगारी खुलेसँगै मलेसियाका रोजगारदाता कम्पनीले गरेको नेपाली कामदारको माग दूतावासले प्रमाणीकरण गरेको हो ।

मलेसियाको अौद्यौगिक क्षेत्रबाट सबैभन्दा धेरै कामदारको माग आएको छ । औद्योगिक क्षेत्रको कामका लागि १७ हजार १ सय १६ जना कामदारका लागि दूतवासले मागपत्र प्रमाणीकरण गरेको छ ।

सेक्यूरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १ सय ८३, कृषि क्षेत्रका लागि १ हजार ४ सय ७५, प्लान्टेसनका लागि १ हजार ३ सय ९७ तथा निर्माण क्षेत्रका लागि १ हजार ३० कामदारको मागपत्र प्रमाणिकरण गरिएको दूतावासले जनाएको छ ।

छुट्टै शाखा र कर्मचारीको व्यवस्था

मागपत्र प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाउने उदेश्यले प्रत्येक प्रक्रियामा छुट्टाछुट्टै शाखा र कर्मचारीको व्यवस्था गरेको पनि दूतावासले जनाएको छ ।

मागपत्र प्रमाणीकारणको लागि कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भई आवश्यक कागजपत्र पेश गर्नुपर्छ ।

स्थानीय समयअनुसार १० देखि १२ बजेसम्म दूतावासमा पेश गर्ने, पेश हुन आएका मागपत्रको विवरण रुजु गर्ने, अद्यावधिक गर्ने र प्रमाणिकरणको पत्र तयार गरिने दूतावासले जनाएको छ । मागपत्र प्रमाणीकरणका लागि एकदेखि पाँच दिनसम्म लाग्ने दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया