नुन तेलको हिसाब राख्ने काइदा, छन् फाइदै फाइदा (भिडियोसहित)

 साउन ३, २०७५ बिहिबार १६:५०:० | मोहन पौडेल
unn.prixa.net

काठमाडौं – 

२०७४/८/११ –  नुनतेल १/१ प्याकेट – ३०, ६५ रुपैयाँ 

२०७४/८/२५ –  तेल एक कार्टुन – १३ सय ३० रुपैयाँ

चिनी एक केजी – ९५ रुपैयाँ
भैंसीको पाडा – ११ हजार रुपैयाँ
साबुन लुगा धुने ३ वटा – ९० रुपैयाँ

झट्ट हेर्दा पसलेले सामान बेचेर टिपेको हिसाब जस्तो लाग्ने यो विवरण एउटी गृहिणीले टिपेको घर खर्चको विवरण हो । यसरी दैनिक हुने खर्चको विवरण राख्ने गृहिणी हुनुहुन्छ, रुपाकोट मझुवागढी दिक्तेल नगरपालिका–५ लफ्याङकी बिरिमफूला राई ।

उहाँ दिनभरी केके कुरामा कति खर्च भयो बेलुका यसरी नै टिप्नुहुन्छ । खर्चसँगै आम्दानीका हिसाब पनि राख्नुहुन्छ । नुन तेल किन्दा भएको खर्चसँगै कुखुरा बेच्दा होस् या श्रीमानले ज्याला मजदुरी गरेर पैसा ल्याउँदा उहाँ यही खातामा टिप्नुहुन्छ ।

बिरिमफूलालाई यसरी आम्दानी र खर्चको विवरण टिप्न सिकायो, वित्तीय साक्षरता कक्षाले । बिरिमफूलाका श्रीमान सर्वधन राई बिहे हुनुअघि नै विदेश जानुभएको थियो । कतारमा ४ वर्ष बिताएर फर्किएपछि बिरिमफूलासँग बिहे गरेका सर्वधन केही महिना बसेर मलेसिया जानुभयो ।

मलेसियामा ९ महिना बस्नुभयो, तर कमाउन सक्नुभएन । मलेसियाबाट रित्तो हात फर्किएका सर्वधनले कमाउने अरु बाटो देख्नुभएको थिएन । त्यसैले केही महिना बसेर उहाँ साउदी अरब जानुभयो । तर साउदीमा पनि मलेसियाकै जस्तो अवस्था दोहोरियो । भनेको काम नपाएछि उहाँले कमाउन सक्नुभएन । 

साउदीबाट श्रीमानले ६ हजार रुपैयाँ मात्रै पठाएको बिरिमफूलाले बिर्सिनुभएको छैन । ‘उहाँले ६ हजार रुपैयाँ पठाइदिएको छु भन्नुभयो । मलाई त विदेशबाट पठाएको त्यो पनि ६ हजार के लिन जानु भन्ने लाग्यो । म त लिन नै गइनँ’ बिरिमफूला भन्नुहुन्छ ‘नन्दले होइन नि भाउजु, पैसा त पैसा नै हो नि भनेपछि मात्रै एक हप्तामा पैसा निकालें ।’

त्यही बिचमा बिरिमफूला बिरामी पर्नुभयो । दिक्तेलमा उपचार हुन नसकेर काठमाडौं आउनु परेपछि सर्वधन पनि साउदीबाट फर्किनुभयो । बिरिमफूला काठमाडौंमा भएकै बेला छिमेकीले गाउँमा वित्तीय साक्षरता कक्षा हुने कुरा सुनाए । काठमाडौंबाट फर्किएपछि बिरिमफूला कक्षामा जानुभयो । 

खर्च घटाउन सिकेका बिरिमफूला र उहाँका श्रीमानले बचत पनि गरिरहनुभएको छ । गएको असोजदेखि कक्षामा सुरु गरेको केही हप्तापछि एकसय रुपैयाँमा खुत्रुके किनेकी बिरिमफूलाले अहिले त्यसमा झण्डै १६ हजार रुपैयाँ जम्मा गरिसकेको सुनाउनुभयो । 

कक्षामा काम र कमाईका कुरासँगै बचतका कुरा पनि भए । कुरा गजबकै थिए । तर जोगाउने कसरी ? सहभागी सबैका कुरा यही हुन्थे । बिरिमफूलालाई पनि त्यही लाग्यो । कक्षामा मिनप्रसाद आचार्य (वित्तीय साक्षरता सहजकर्ता) ले हिसाब राख्ने कुरा सिकाउनुभयो । 

आचार्यले घरमा दिनहुँ हुने खर्च टिप्नुपर्छ, यसले पैसा जोगाउन सकिन्छ भन्दा कक्षाका सहभागी कसैलाई पनि यो आवश्यक कुरा हो अनि यसले जोगाउन सकिन्छ भन्ने नै लागेन । ‘दिनैपिच्छे नभई नहुने कुराको हिसाब किन राख्नु अनि हिसाब राखेर के हुन्छ र भन्ने लागेको थियो’ बिरिमफूला सम्झिनुहुन्छ । 

तर आफैंले व्यवहारमा लागू गरेपछि बिरिमफूला अहिले त आफैं दङ्ग हुनुहुन्छ । ‘यसले अनावश्यक खर्च घटाउन सहयोग गर्दो रहेछ’ बिरिमफूलाले भन्नुभयो । कसरी त ? उहाँले थप्नुभयो ‘महिनाभरि गरिएको हिसाब हेर्दा खर्च यति गरिएछ । तर यसमा यति नगरेको भए हुन्थ्यो भन्ने लाग्ने रहेछ । अनि आउने दिनमा चाहिँ त्यो खर्च घटाइने रहेछ ।’

बिरिमफूलाले खर्च घटाउनुभयो, अनि श्रीमानले पनि । श्रीमतीले लाउने कुरामा हुने धेरै खर्च घटाउँदा सर्वधनले चाहिँ कुलत त्याग्नुभयो । ‘म पहिला जाँडरक्सी खान्थें, अनि कहिलेकाहीँ साथीहरुले बसौं भन्दा तास पनि खेल्थें, तर अहिले त यी सबै कुरा छोडें’ सर्वधनले सुनाउनुभयो । 

सर्वधन बनाएको टनेल भत्काएर फेरि विदेश नै जाने सोचमा पुगिसक्नुभएको थियो । तर तरिका नजान्दा सुरुमा यस्तै हुन्छ, गर्दै जाँदा आम्दानी लिन सकिन्छ भन्ने कुरा बुझेपछि अहिले टनेलमा फेरि टमाटरका बिरुवासँगै प्याज, लसुन अनि सागसब्जी लगाउनुभएको छ । यसले सर्वधनको सोच फेरिएको छ । ‘अब त विदेश जान्न’ उहाँले भन्नुभयो । 

कक्षामा बस्नुभन्दा अगाडि बिरिमफूला साथीहरुले जस्तो लुगा लगायो देख्यो, त्यस्तै लगाउनुहुन्थ्यो । तर अहिले बिरिमफूलाको व्यवहार त्यस्तो छैन । उहाँले भान्सामा हुने खर्च पनि घटाउनुभएको छ । श्रीमान विदेशमा हुँदा ससुरा, काका ससुरा अनि बिरिमफूला मात्रै हुनुहुन्थ्यो घरमा । त्यतिबेला एक पोका तेलले ५ दिन पनि पुग्दैनथ्यो । श्रीमान् विदेशबाट फर्किएपछि घरमा चारजना भएका छन् । तर त्यही एक पोका तेलले १० दिन पुर्‍याइरहनुभएको छ उहाँले । 

श्रीमानले त्यागे विदेश जाने सोच 

कक्षाबाट दैनिकी चलाउन अनि कमाउन विदेश नै जानु पर्दैन भन्ने पनि सिकेपछि बिरिमफूला र सर्वधनले बारीमा टनेल बनाउनुभयो । टमाटरसहितका तरकारीका बिरुवा रोप्नुभयो । तर तरिका नमिलेकाले सोचे र सुने अनुसार बिरुवा सप्रिएनन् ।

त्यसैले सर्वधन बनाएको टनेल भत्काएर फेरि विदेश नै जाने सोचमा पुगिसक्नुभएको थियो । तर तरिका नजान्दा सुरुमा यस्तै हुन्छ, गर्दै जाँदा आम्दानी लिन सकिन्छ भन्ने कुरा बुझेपछि अहिले टनेलमा फेरि टमाटरका बिरुवासँगै प्याज, लसुन अनि सागसब्जी लगाउनुभएको छ । यसले सर्वधनको सोच फेरिएको छ । ‘अब त विदेश जान्न’ उहाँले भन्नुभयो । 

एक सयमा किनेको खुत्रुकेमा १६ हजार 

खर्च घटाउन सिकेका बिरिमफूला र उहाँका श्रीमानले बचत पनि गरिरहनुभएको छ । गएको असोजदेखि कक्षामा सुरु गरेको केही हप्तापछि एकसय रुपैयाँमा खुत्रुके किनेकी बिरिमफूलाले अहिले त्यसमा झण्डै १६ हजार रुपैयाँ जम्मा गरिसकेको सुनाउनुभयो । 

ज्याला मजदुरी गर्ने श्रीमानले ल्याएको पैसा बिरिमफूला खुत्रुकेमा बचत गर्नुहुन्छ । ससुराहरु पनि काम गर्नुहुन्छ । घर खर्चका लागि बिरिमफूला उहाँहरुसँग पनि पैसा माग्नुहुन्छ ।

‘ससुराले दिएको पैसा खर्च भयो भने श्रीमानले दिएको पैसा खुत्रुकेमा हाल्छु । खर्च चाहिँ अाप्पाहरुले (ससुराहरु) दिएको पैसाबाट चलाउँछु’ बिरिमफूलाले बचत गर्ने काइदा पनि सुनाउनुभयो । छोरा बुहारीले गरेको कामले घर सजिलै चलेको देखेपछि त ससुराहरुको विचार पनि फेरिएको छ ।

पहिला यस्तो हिसाब के राख्नु,  खाएर लाएर उब्रिएको मात्रै सम्पत्ति हो भन्ने ससुराहरुले पनि अहिले खर्च घटाउन र पैसा जोगाउन सघाइरहनुभएको छ । युवा अवस्थादेखि नै रक्सी पिउँदै आएका ससुरा र काका ससुराले पनि रक्सीको मात्रा घटाएको देख्दा बिरिमफूलालाई खुशी लाग्छ । 

याे पनि पढ्नुहाेस्

मलेसियाबाट फर्किएपछि फेरिएका डिल्लीबहादुरस् ढुङ्गा बोक्न, गिट्टी कुट्न लाज लाग्दैन

‘अब श्रीमानलाई विदेशबाट फर्काउँछौं’ (भिडियो कथा)

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया