विदेशबाट फर्केर स्वदेशमै उद्यम, सरकारबाट भनेजस्तो सहयोग नपाएको गुनासो

 माघ २७, २०७६ सोमबार ११:४८:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ – हिजोआज कमाउन भन्दै परदेश जानेहरुको लर्को मात्र हैन, विदेशमा राम्रो कमाइ गर्दागर्दै पनि स्वदेशमै केही गर्छु भनेर फर्किनेहरुको संख्या पनि धेरै छ ।

काभ्रेका उत्तम बिक, झापाका दीर्घराज भट्टराई र लछुमन काफ्ले यस्तै जुझारु युवा हुन्, जो विदेशको राम्रो कमाइ छोडेर आफ्नै देशमा उद्यम गरिरहेका छन् । खाडीमा बगाउने पसिना देशकै माटोमा सिँचिरहेका छन् । आफ्नै पाखाबारी उर्बर बनाइरहेका छन् ।

काभ्रेको बनेपा नगरपालिका टुकुचामा उनीहरुको नवज्योती कृषि फार्म छ । फार्ममा कुखुरा र बाख्रा पालनसँगै तरकारी खेती पनि गरेका छन् । बारीमा काउली र आलुसँगै साग र मौसमी तरकारी पनि मौलाएको छ । 

नवज्योती कृषि फार्म वि.सं.२०७५ सालको मंसिरदेखि सञ्चालन भएको हो । १० वर्षको लागि २० रोपनी जग्गा भाडामा लिएर ३० लाख रुपैयाँ लगानीमा सुरु भएको यो फार्मले अहिले राम्रै आम्दानी दिइरहेको सञ्चालक उत्तम बिकले बताउनुभयो ।

सन्तोषजनक आम्दानी

यूएईमै हुँदा उनीहरुले नेपालमा गएर कृषि व्यवसाय गर्ने योजना बनाएका थिए । तीनै जना गएको वर्ष नेपाल फर्किए । यूएईमा छँदै बनाएको योजनाअनुसार नेपाल फर्किएर कृषि व्यवसायमा सामूहिक लगानी गरे र अहिले त्यसमै व्यस्त छन् ।

तीनैजना आफैं बारी र फार्ममा खट्छन् । अरु तीन जनालाई रोजगारी पनि दिएका छन् । व्यवसायबाट आम्दानी सँगसँगै सन्तुष्टी पनि मिलेको छ । आफ्नै देशमा काम गर्दा कमाइ भन्दा ठूलो आत्मसन्तुष्टी हुने दीर्घराजले बताउनुभयो ।

‘अहिले मासिक दुईदेखि चार लाख रुपैयाँसम्म आम्दानी भैरहेको छ’, भट्टले भन्नुभयो, ‘अहिले आम्दानी सन्तोषजनक नै छ, अझै व्यवसायलाई विस्तार गर्दै आम्दानी बढाउने सोचेका छौँ ।’

यूएईमा रहँदा झापाली समाज हुँदै एनआरएनए यूएईको केन्द्रीय तहमा पुग्नुभएका र सामाजिक अभियानमा सक्रिय अर्का सञ्चालक लछुमन काफ्ले पनि १० वर्षे विदेश बसाइले दिन नसकेको खुशी अहिले आफ्नै देशमा काम गर्दा मिलेको बताउनुहुन्छ ।

तन, मन र धन लगाएर कृषि व्यवसायमा आफैं खटिएमा स्वदेशमै राम्रो आम्दानी हुने र वैदेशिक रोजगारीको लागि म्यानपावर कम्पनीको ढोका ढकढकाउन नपर्ने तीनै जनाको भनाइ छ ।

कहाँ कस्तो व्यवसाय फस्टाउँछ त्यसबारे बुझेर मात्र व्यवसाय गर्नुपर्छ । यही नै व्यवसाय सञ्चालनको सुत्र हो । मुनाफा कति भयो भन्दा पनि कति पछिसम्म मुनाफा दिनसक्छ भन्ने सोचले नै व्यवसायलाई दीगो बनाउँछ । यी सबै कुरालाई मध्यनजर गर्दै आफूहरुले व्यवसाय सञ्चालन गरेका कारण आम्दानी राम्रो गर्न सकेको उत्तम बताउनुहुन्छ ।

‘हामीले सही समयमा यो काम सुरु गर्यौं, अहिले बजारमा अण्डाको भाउ बढीरहेको बेला आफ्नो फार्मबाट उत्पादित अण्डाले राम्रै बजार पाएको छ’, उत्तमले खुशी हुँदै भन्नुभयो ।

अहिले उहाँको फार्ममा दुई हजार लेयर्स कुखुरा छन् । २० वटा बाख्रा छन् ।

सरकार र बैंकको असहयोग

यूएईमा रहेको बेला तीनै जनालाई लागेको थियो, ‘अब त वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई व्यवसाय गर्नको लागि नेपाल सरकारले बिना व्याज ऋण दिने भनेको छ, सजिलो हुने भयो ।’ तर सोचेजस्तो भएन  ।

‘कृषिप्रति नेपाल सरकारको चासो देखिएन’, तीनै जनाले एकै स्वरमा भने, ‘सहयोगको त के कुरा, केही व्यवसाय गर्छु भनेर अघि सरे पनि सुरुवात गर्न निकै झण्झटिलो पो रहेछ ।’

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई बिना धितो ऋण दिने भनेको छ । वार्षिक करोडौँ रुपैयाँ खर्च हुन्छ कृषि अनुदानको लागि भनेर । तर ऋण पाइने प्रक्रिया र लाग्ने समय नै धेरै लामो हुने र त्यसैमाथि नेतासम्मको भनसुन चाहिने भएकाले आफूहरुले त्यस्तो कुनै सुविधा नपाएको उत्तम बिक बताउनुहुन्छ ।

‘सभामा मन्त्री, नेताहरुले भाषण गरेको सुन्दा सबै कुरा तत्कालै भैहाल्छ जस्तो देखिन्छ तर सम्बन्धित निकायमा पुग्दा त्यो सबै भ्रम रहेछ भन्ने लाग्छ’, उत्तमले भन्नुभयो, ‘सरकारको कृषिमा लगानी भन्ने नीति ठिक छ तर कार्यान्वयन गराउन सकेको देखिन्न ।’

रिटर्नी माइग्रेन्ट नेपालले एनएमबी बैंकसँग सहकार्य गरेर वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्नेहरुलाई बिना धितो १० लाख रुपैयाँसम्मको ऋण दिने भने पनि अहिलेसम्म आफूहरुले त्यो ऋण पाउन नसकेको उहाँहरुको गुनासो छ ।

‘रिटर्नी माइग्रेन्टबाट सबै कागजात तयार पारेर बैंकमा बुझाएको दुई महिना भइसक्यो, तर बैंकले भोलि भोलि भन्दै कुराएको छ’, उत्तमले ऋण नपाउँदाको पीडा पोख्नुभयो, ‘यस्तै राष्ट्रिय वाणिज्य बैंकमा पनि ऋणको लागि निवेदन दिएको तीन/चार महिना भइसक्यो तर ऋण पाइने छाँटकाँट देखिंदैन ।’
 

तपाईको प्रतिक्रिया