यूएई हिँडेका दुई युवती विराटनगर पुगे, बेचिनबाट जोगिए

 माघ २८, २०७६ मंगलबार १४:४:२० | सुमन तिमल्सिना

विराटनगर –  गएको हप्ता सिन्धुपाल्चोकको मेलम्चीबाट दुई युवती यूएई जान घरबाट निस्किए । विदेश जाने गाउँका अरुले राम्रो कमाइ गरेको उनीहरुले देखेका थिए ।

आफू चाहिँ पैसाको अभावमा कतिन्जेल बाँच्नु ? दुवै जनाले साथीभाइले जस्तै कमाउने सोच बनाए । फेरि उनीहरुलाई विदेशको सपना देखाउने अर्जुन तामाङले पनि विदेशमा हुने कमाइको बारेमा राम्रै सुनाएका थिए । राम्रो कमाउने आशमा यूएई हिँडेका उनीहरु पत्तै नपाए विराटनगर पुगे र बेचिनबाट जोगिए ।

एजेण्टको जाल

पैसाको अभावमा जेलिएका दुवैले आफ्नो विदेश जाने योजना काठमाण्डौ बस्ने आफन्तलाई सुनाएका थिए । तीमध्ये एक थिए, सिन्धुपाल्चोक दुबाचौरका लाक्पा ।

जसलाई उनीहरु मामा भन्थे । दुवैले लाक्पा मामालाई विदेश पठाइदिन आग्रह गरे । लाक्पाले गाउँका धेरैलाई विदेश पठाएकाले उनीहरुलाई पनि लाक्पामाथि विश्वास थियो ।

तर उनीहरुलाई विदेश पठाउने आश्वासन दिएका लाक्पाको गएको भदौमा निधन भयो । त्यसपछि लाक्पाले नै चिनाएका अर्जुन तामाङले उनीहरुलाई विदेश पठाउने काममा सहयोग गरे । अर्जुनले नै यूएई पठाउने भन्दै पासपोर्ट बनाउन सहयोग पनि गरे । 

‘हामीले पासपोर्ट बनाउन आउँदा मात्र हो उसलाई भेटेको, उसले नै हाम्रो पासपोर्ट बनाउने पैसा पनि हालिदिएको हो,’ उनीहरु सुनाउँछन् । पासपोर्ट बनाउन काठमाण्डौ आउजाउ गर्ने ती युवतीलाई पैसा पनि अर्जुनले नै दिएका थिए । 

पासपोर्ट बनाइदिनेदेखि खर्च दिने अर्जुनको आफ्नै तौरतरिका थियो । उनीहरु भन्छन्, ‘घरको काममा जान्छु भन्यो भने पासपोर्ट नै नबनाइदिने रहेछ, हामीलाई पनि पैसा लिन कहिले जोरपाटी कहिले गौशाला बोलाउँथ्यो ।’ 

दुवैको चाहना कम्पनीको काममा जाने थियो । तर हिँड्ने बेला श्रम निकाल्ने मानिस भागेको भन्दै दुवैलाई नेपालको विमानस्थलबाट जान नसकिने भने । एजेण्ट अर्जुनको कुरामा विश्वास गर्नुबाहेक अर्को विकल्प पनि थिएन । उनले दिल्लीबाट जान सकिन्छ भनेपछि उनीहरु दिल्ली जान काँकडभिट्टाको गाडी चढे । 

बस चढेर यूएईको यात्रा 

जसरी भए पनि विदेश जाने र कमाउने चाहना भएका उनीहरु एजेण्टको कुरामा विश्वास गरेर काठमाण्डौको गौशलाबाट काँकडभिट्टा जाने गाडी चढे । २० र २२ वर्षका उनीहरुलाई जसरी पनि विदेश पुग्नु थियो । एक जना त घरमा अढाइ वर्षको छोरा छाडेर कमाउन हिँडेकी थिइन् । गाडी चढ्दा अर्जुनले पासपोर्ट कसैलाई पनि नदेखाउनु भनेका थिए । 

बुधबार बिहान झण्डै ४ बजेतिर काँकडभिट्टा भन्दै चढाएको बसले इटहरीमा झारिदियो । उनीहरु अलमलमा परे । रातीको समय, त्यो पनि नचिनेको नयाँ ठाउँमा बसले ओरालेपछि उनीहरुले त्यहीँबाट एजेण्ट अर्जुनलाई फोन गरे । 

बसका सहचालकले विराटनगरतर्फ आउन लागेको गाडीमा उनीहरुलाई चढाएका थिए । तर कहाँ झर्ने, कसलाई भेट्ने उनीहरुलाई थाहा थिएन । 

‘बसपार्कमा झरेपछि को लिन आउँछ, कहाँ जाने कसलाई भेट्ने भनेर हामीले अर्जुनलाई फोन गर्‍यौँ, उसले नाम भनेन साथी आउँछ मात्र भन्यो,’ उनीहरु भन्छन्, ‘नम्बर मागेर फोन गरेको फोन नै उठाएन, पछि फोन गरेर ६ बजेमात्र आउँछु भन्यो ।’

उनीहरुका अनुसार बिहान ६ बजे लिन आउने विराटनगरकै राजु रिजाल हुन् । राजुले कुनै एक लजमा लगेर राखे । उनीहरुलाई नाम थाहा छैन तर कोठा नम्बर भने ६ थियो । 

‘कोठमा पुगेपछि ऊ चाहिँ बेडमा सुत्यो, हामीलाई कुर्सीमै बस्न भन्यो, पछि पैसा बोकेको होला नि खानेकुरा किनेर खानु भन्दै हिँड्यो,’ उनीहरु सुनाउँछन् । उसले १० बजेतिर लिन आउँछु र तयार भएर बस्न भनेका थिए । तर उनीहरुसँग पैसा थिएन । दुवै जनासँग साथमा भएको अलिअलि पैसा मिलाएर कोठाको पैसा तिरे । खाजा पनि खाए । 

साढे १० बजेतिर राजु आइपुगे । पाइन्ट लगाएर बसेका उनीहरुलाई सामान्य घरमा बस्दा लगाउने लुगा लगाउन भने । 

‘उसले भनेजस्तै लुगा लगाएर हामी बाहिर निस्कियौँ, राजुले हामीलाई दीपक कुर्मीको साथमा जान भने,’ दुवै युवती भन्छन्, ‘उसले हाम्रो ब्याग बोकेर हिँड्यो, हामी पनि उसकै पछिपछि हिँड्यौँ ।’

अघि पछि गर्दै हिँडेका उनीहरुलाई आफन्त नेपालका कर्मचारीले सोधीखोजी गर्न थाले ।  अघि अघि लागेका दीपक कुर्मी अघि कटिसकेका थिए । उनीहरु दुवै जनालाई छुट्टाछुट्टै राखेर सोध्दा उनीहरु वैदेशिक रोजगारीको नाममा दिल्लीमा फस्ने अवस्थामा पुगेको आफन्त नेपालका कर्मचारी बताउँछन् । 

रानी नाकामा यसरी फसे

आफन्त नेपालकी परामर्शकर्ता ज्योति राई भन्नुहुन्छ, ‘रानीको २ नम्बर ढाटमा बैनीहरु जाँदै थिए, उनीहरु अलमलिएको देखेपछि हामीले बोलाएर सोध्यौँ, उनीहरुभन्दा अगाडि एक जना व्यक्ति देख्ने बित्तिकैै उनीहरुको बारेमा शङ्का लागिसकेको थियो ।’

सोधपुछ गर्दा दुवैले सुरुमा त झुट बोलेको र पछि मात्रै उनीहरुले सिन्धुपाल्चोकबाट आएको भनेको ज्योतीले बताउनुभयो । ‘सुरुमा त भाउजु बिरामी भएकाले चिनी लिन हिँडेको भनेका थिए, पछि भाइलाई भेट्न जान लागेको भने, परामर्शकर्ता ज्योतिले भन्नुभयो, ‘पछि मात्र वैदेशिक रोजगारीको लागि भारत हुँदै जाने हो भने ।’ 

दुवैलाई काँकडभिट्टा नाकाबाट लाने भनिएकाले जोगबनी नाका पुगेको समेत पत्तो नभएको उहाँले बताउनुभयो । 

यसरी सीमा पार हुँदै गर्दा सीमा निगरानीको क्रममा कसैले शपिङ गर्न, कसैले श्रीमती बनाएर, कतिपयले प्रेम विवाह गरेर, अनि कतिपयले वैदेशिक रोजगारीको नाममा महिला र बालबालिका बेच्नको लागि लग्ने गरेको परामर्शकर्ता ज्योतिको अनुभव छ ।

 इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर) दीपक थापाले रानी नाका भएर जान लागेका उनीहरुलाई कसैले झुक्याएर लग्न खोजेको देखिएको बताउनुभयो । उद्धार भएर फर्काइएका दुवै किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा फेला परेका दीपक कुर्मीलाई मानव ओसारपसार तथा बेचबिखनसम्बन्धी मुद्दा चलाइने पनि उहाँले बताउनुभयो । कुर्मीलाई अनुसन्धानमा राखिएकोले अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।   

मध्यरातमा इमोमा फोन

उनीहरुलाई घरबाट हिँड्नभन्दा पहिलादेखि नै इमोबाट एक जना व्यक्तिले लगातार सम्पर्क गर्ने गरेको थिए । कहिले आउने भनेर पटक पटक फोन गर्ने गरेका थिए।

यी युवतीले भिसा पठाउनु म आउँछु भन्ने गरेका थिए । तलब कति दिने भनेर युवतीहरुले सोध्दा खाना पकाउने, बच्चा हेर्ने, घर सफा गर्ने र बच्चालाई विद्यालय पुर्याउने काम गर्नुपर्ने भनेर हिन्दीमा कुरा गर्ने गरेको उनीहरुले सुनाए ।

 ‘उसले पहिला हिन्दीमा कुरा गर्ने कि नेपालीमा भनेर सोध्यो’, एक युवतीले भनिन्, ‘मैले जुन भाषामा कुरा गर्दा पनि हुन्छ भनेँ, त्यसपछि उसले लगातार हिन्दीमा कुरा गर्न थाल्यो ।’ 

‘सुरुमा फोनबाट मात्रै कुरा गर्ने ती व्यक्तिले पछि इमोबाट कल गरेर बोलेको बोल्यौ गर्न थालेपछि मैले फोन पनि उठाउन छाडेको थिएँ’, उनले भनिन् । पैसा नभए उसले १५ हजार रुपैयाँ घरमा पठाउने र त्यही पैसाबाट आउन भनेको समेत उनले सुनाइन्  ।’ 

(दुवै युवतीको परिचय गोप्य राखिएको छ ।)
 

सुमन तिमल्सिना

सुमन तिमिल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया