कोरोनाको जोखिमका बेला म्यानपावर कम्पनीको बेवास्ताले दुबईमा ३० जना नेपाली समस्यामा

 चैत १३, २०७६ बिहिबार ११:२८:२३ | उमाकान्त पाण्डे

यूएई – कोरोनाको जोखिम बढिरहेका बेला म्यानपावरको लापरबाहीले कामका लागि दुबई आएका ३० जना नेपाली समस्यामा परेका छन् । काठमाण्डौको एमबी हुम्यन रिसोर्समार्फत यूएईको फ्लेक्स फ्यासीलिटी म्यानेजमेन्ट कम्पनीमा काम गर्न आएका ३० जना नेपाली समस्यामा परेका हुन् ।

३ महिना पहिले यूएई आएका उनीहरुलाई कम्पनीले कामको व्यवस्था गर्न नसकेपछि नेपाल फर्काउन थालेको थियो । म्यानपावर कम्पनीले यहाँको कम्पनीसँग समयमै समन्वय नगर्दा नेपाल फर्कन ढिला हुँदा समस्यामा परेको श्रमिकको गुनासो छ ।

सरकारले शून्य लागतमा आउन पाउने गरी सम्झौता गरे पनि यहाँ आउन झण्डै एक लाख १५ हजारदेखि एक लाख ५० हजारुपैयाँसम्म तिरेका छन् । कम्पनीमा काम नभएपछि गएको शुक्रबार नेपाल फर्किन भन्दै हवाई टिकट काटेर विमानस्थल पुगेका थिए । कोरोना सङक्रमणका कारण उडान बन्द भएपछि उनीहरु नेपाल फर्कन पाएनन् ।

नेपाल फर्किन नपाएपछि एयरपोर्टमा भेटिएका नेपालीसँग सहयोग मागेर कम्पनीको क्याम्पमै फर्किएको समस्यामा परेका नेपालीले उज्यालोसँग बताएका छन् । ‘भएको पैसाले हवाई टिकट काट्यौं, अहिले हातमुख जोड्ने पैसा छैन’ अलपत्र परेकामध्येका खोटाङका नरबहादुर नेपालीले बताउनुभयो । कम्पनीले अहिले कोरोनाको असरले उत्पन्न अवस्थाका कारण काम दिन नसक्ने भएकाले पुराना श्रमिकलाई भिसा रद्द गरेर र नयाँ श्रमिकलाई ५ महिनासम्मको बेतलबी बिदामा नेपाल पठाउन लागेको थियो ।

तर उडान अबरुद्द भएपछि नयाँ पुराना कोही पनि नेपाल फर्कन पाएका छैनन् । त्यसरी फिर्ता पठाउन लागेकामा नेपालसहित अन्य देशका नागरिक पनि छन् । कम्पनीले भिसा रद्द गरेका र सम्बन्धित देश फर्काउन लागेकाहरुलाई खाने र बस्ने व्यवस्था गर्न नसक्ने भनेकाले अहिले उनीहरुलाई खान र बस्नको समस्या भएको छ ।

श्रमिक पठाउने नेपालको म्यानपावर कम्पनीले समयमै समस्या सुनुवाई नगरेकाले अहिले आफूले समस्या भोग्नुपरेको उनीहरुको गुनासो छ । यूएईमा रहेको नेपाली दूतावास आबुधावीमा निवेदन दिए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको पीडितको भनाइ छ । यूएईमा नेपाली एकता समाजमार्फत उनीहरुले दूतावासमा सम्पर्र्क गरेर आफ्नोे समस्याबारे जानकारी गराएको समाजका उपाध्यक्ष अर्जुनप्रसाद उपाध्यायले बताउनुभयो ।

दूतावासले श्रमिक, म्यानपावर कम्पनी र यहाँको रोजगारदाता कम्पनीसँग समन्वय गरिएको बताएको छ । हवाई उडान सञ्चालन हुनासाथ उनीहरुलाई नेपाल पठाउन सकिने तर अहिलेलाई म्यानपावर कम्पनीलाई भनेर खाना र बस्नको व्यवस्था मिलाउन भनेको नेपाली दूतावास आबुधावीका श्रम सहचारी मोतिराम भुसालले बताउनुभयो ।

श्रमिक समस्यामा परेकोबारे जानकारी पाएलगत्तै समाधानका लागि दूतावासले समन्वय गरिरहेको र छिट्टै सम्बोधन हुने दूतावासले आश्वासन दिएको छ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया