परदेशमा जोखिम मोलेर काम गर्नुभन्दा आफ्नो गाउँमा खोलेसिस्नु खानु बेस

 चैत २८, २०७६ शुक्रबार ११:३९:४० | मेरो कथा मेरो भोगाई

भानुभक्त केसी, दाङ । हाल, यूएई ।

कोरोनाको डर मनमा नहुने को होला र अहिले । कोरोनाले संसारलाई छाडेको छैन । म त परदेशी न परें । यूएईमा काम गर्र्छु । यहाँ धेरैजसो कम्पनीहरु बन्द भए।

क्वारेण्टीनमा राखिएको छ श्रमिकलाई भन्छन् । तर मेरो भने काम चलिरहेको छ । क्याट्रिङको काम भएकाले बन्द भएको छैन ।

त्यसैले त काम गरिरहनुपर्दा मनको डर पनि कम भएको छैन । जोखिम मोलेर काम गर्नुपरेको छ । कम्पनीले सुरक्षा सतर्कता अपनाएको छ । तर विभिन्न समस्याहरु छन् । सर्जिकल मास्कसम्म पाइएको छैन । कसरी यही हालतमा काम गर्नुपर्ने हो थाहा छैन । 

घर परिवार छाडेर सात समुद्रपारी आएर काम गर्ने मन त कहाँ थियो र ? सपना बोकेर आइयो, अहिले कोरोनाले संसार नै कहालीलाग्दो बनाइदियो । कति साथीहरुको कम्पनी बन्द भएर काम भएका छैन, पैसा पनि छैन भनेको सुन्दा साह्रै दुःख लाग्छ । आफ्नो त काम भइरहेको छ । तर डरको सीमा छैन ।

तर यो परिस्थिती हामीले चाहेर भएको हैन । तर यस्तो बला कम्पनीमा आफ्नो देशले समस्यामा परेका नेपालीलाई लगेर सुरक्षित साथ क्वारेण्टीनमा राख्न मिल्दैन र ? यतिको आशा त के गर्नु र खै ।

हामी आफ्नै खर्चमा नेपाल आउन चाहन्छौं भनेर टिकट समेत काटेकालाई त सरकारले उतै बस भनिरहेको छ । यस्तो खबर सुन्दा लाग्छ, हामी परदेशी पैसा कमाउँदासम्मका लागि मात्र रहेछौं । पैसा छ त सबै छ, पैसा छैन त केही पनि र कहीँ पनि छैन । म सरकारलाई हामीले पठाएको रेमिट्यान्स सम्झ भन्छु एकपटक र सोच हामीलाई अन्याय भएको छैन र ?

खाडीका देशमा पनि नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिन थालिसकेको छ । यस्तो बेला त काम गर्न मन लाग्दो रहेनछ । एक छाक खाए पनि बरु नेपालमै सुरक्षित भइन्थ्यो होला जस्तो लाग्छ ।

परदेशमा जोखिम मोलेर काम गर्नुभन्दा आफ्नो गाउँमा खोलेसिस्नु खानु बेस जस्तो लाग्छ । तर परदेशमा जस्तो भए पनि काम गर्नपर्छ । डरै डर छ । निद्रा पनि लाग्दैन । यस्तै छ परदेशीको पीडा । 

तर पनि मन लाई जसोतसो सम्हालेका छौं । यहाँको सरकारले बनाएका नियमको पालना गरेका छौं । यो अवस्थामा मन दह्रो बनाएर हौसला राखी आफ्नो सुरक्षा आफैं गरेर बच्नुको विकल्प पनि त छैन ।

अन्तर्राष्ट्रिय श्रम सङगठनका अनुसार खाडीमा झण्डै ५० लाखको रोजगारी गुम्ने खतरा छ । त्यसैले सरकारलाई अनुरोध छ, विदेशबाट फर्कने युवालाई आफ्नै देशमा गरिखाने वातावरण बनाउ ।


 

तपाईको प्रतिक्रिया