दूतावास भन्छन् : फोन उठेन मात्र नभन्नुहोस्, समस्या परेमा फोन गर्नुहोस्

 बैशाख १६, २०७७ मंगलबार १४:५२:२४ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि विदेशमा रहेका श्रमिकको गुनासो र समस्या बिसाउने ठाउँ भनेको त्यहाँ रहेका नेपाली दूतावास हुन् । सरकारले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई जहाँ छौ, त्यही सुरक्षित भएर बस्नु भनेको छ । समस्या परेको बेला दूतावासमार्फत समाधान खोज्न पनि सरकारको आग्रह छ । तर नेपाली दूतावासले फोन समेत उठाएनन् भन्ने श्रमिकको गुनासो छ । खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका फोन किन उठ्दैनन् ? कोरोना माहामारीको समयमा श्रमिकलाई परेका समस्या सुन्न र समाधानका लागि दूतावासले के कस्ता पहल गरेका छन् । यिनै विषयमा हामीले मलेसिया, कतार, ओमान, र बहराइनका नेपाली राजदूत तथा यूएईका लागि श्रम काउन्सिलरसँग कुराकानी गरेका छौं ।

फोन गर्नुहोस्, फोन पनि उठ्छ, समस्या समाधान पनि हुन्छ

उदयराज पाण्डे, मलेसियाका लागि नेपाली राजदूत 

अहिले हामीले २४ घण्टे हटलाइन सबैलाई उपलब्ध गराएका छौं । केही पर्‍यो भने त्यो नम्बरमा फोन गर्न भनेका छौं । दैनिक १० बजेदेखि १ बजेसम्म दूतावास खोल्छौं ।

केही समस्या पर्‍यो भने त्यो बेलामा पनि दूतावासको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्नो गुनासो राख्न सक्नुहुन्छ । त्यस्तै हामीले फेसबुक लाइभ चलाउँछौं । त्यसमार्फत पनि आफ्ना गुनासा राख्न सक्नुहुन्छ । 

कहिलेकाहीँ होला, तर फोन नै नउठ्ने कुरा त चलिआएको भनाई हो जस्तो लाग्छ । 

इमेलमार्फत पनि हामीले श्रमिकका गुनासा सुन्ने गरेका छौं । दूतावासमा आएका समस्या कुन कम्पनीका हुन्, तिनै कम्पनीसँग समन्वय गरेर समस्या समाधानका लागि पहल गरिररहेका छौं । कतिपय अवस्थामा चाहिँ नेपाली संघ संस्थासँग मिलेर पनि सहयोग र समन्वय गरिरहेका छौं ।

धेरैजसो समस्या भनेको करार अवधि सक्किएकोहरु, जो घर फर्कन चाहनुहुन्छ उहाँहरुको छ । गैरकानुनी रुपमा बस्नुभएकाहरुको पनि समस्या छ । उहाँलाईलाई अहिले कामको समस्या छ । काममा जानेले पनि जोखिम भयो भनेका छन् । यस्तै खालका गुनासा आइरहेको छ ।

फोन नउठ्ने भन्ने हुँदैन, तपाईँहरु फोन गर्नुहोस्

फोन उठ्दैन दूतावासको भन्ने पनि आइरहेका छन् । तर हटलाइनमा २४ घण्टै फोन उठ्छ । दिनमा २ सय देखि ३ सयसम्म फोन आइरहेका छन् । त्यसको रेस्पोन्स भइरहेको छ । अर्को कुरा दूतावासको ल्याडलाइनमा चाहिँ १० बजेदेखि १ बजेसम्म उठ्छ ।

कसैले १ बजेपछि गर्नुभयो भने उठ्दैन । तर यो ल्याडलाइनको हकमा मात्र हो । तर कतिपय दूतावासका कर्मचारीको नम्बर पनि धेरैलाई थाहा छ । कतिपयले त्यसमा पनि फोन गरेर आफ्नो गुनासो राख्न सक्नुहुन्छ । राखिरहनुभएको पनि भएको छ । 

एउटा त जसले फोन उठेन भन्छ, उसले फोन नगरेको पनि हुनसक्छ । अहिले त फेसबुकमै एक लाखभन्दा बढीले हामीलाई हेर्नुहुन्छ । त्यहाँबाट पनि हामीले हाम्रो फोनदेखि इमलेसम्म पनि दिइरहेका हुन्छौं । कहिलेकाहीँ होला, तर फोन नै नउठ्ने कुरा त चलिआएको भनाई हो जस्तो लाग्छ । 

दूतावासको ल्याण्डलाइनमा १० देखि १ बजेसम्म फोन गर्न सक्नुहुन्छ भने हटलाइनमा २४ घण्टा नै फोन गर्नुहोस् । लाग्छ र उठ्छ पनि  । पछिल्लो समय गैरकानुनी रुपमा बस्नुभएकालाई अहिले समस्या पर्‍यो भन्ने गुनासो आइरहेका छ ।

कोरोना सङ्क्रमण हुँदा सरकारले नै उपचार गर्छ । श्रमिकको लिगल अवस्था अनि, खाने बस्ने कुरा हो भने दूतावासमा सम्पर्क गर्नुभयो भने दूतावासले लकडाउनअघि कुन कम्पनीमा काम गरिरहनुभएको थियो, त्यही कम्पनीसँग समन्वय गरेर व्यवस्था गर्छौं । त्यसो गर्दा पनि भएन भने एनआरएनएसँग पनि समन्वय गरेर खाद्यान्न उपलब्ध गराएका छौं ।

दूतावासले श्रमिकको समस्या समाधान गरिरहेको छ । हामीसँग स्रोत साधन पनि छ । आफ्नो समस्या दूतावासलाई भन्नुहोस् । हामीले आज पनि गरेका छौं र भोलि पनि गर्छौं ।

श्रमिकलाई अन्याय हुँदैन

नारदनाथ भारद्वाज, कतारका लागि नेपाली राजदूत 

कतारमा कोरोना सङ्क्रमण भएका नेपालीसँग हाम्रो पहुँच छैन । कतारले राष्ट्रियता नखुलाउने भएकाले कति नेपाली सङ्क्रमण हुनुहुन्छ भन्ने अवस्था पनि छैन । परिवारले माग गरेपछि हामीले सोधीखोजी गर्दा १५ नेपालीबारे चाहिँ जानकारी आएको छ । तर पनि हाम्रो पहुँच उनीहरुसम्म छैन ।

हामीहरुले यहाँको सरकारकोे व्यवस्थापनमै भर पर्नुपर्ने हुन्छ । हामीले परराष्ट्रबाट जानकारी लिने गर्छौं । उहाँहरुको भनाइ अनुसार अधिकांश नेपाली सङ्क्रमितहरुको अवस्था राम्रो छ । उहाँहरु सामान्य स्वास्थ्य स्थितिमा हुनुहुन्छ र धेरैजसो युवा हुनुहुन्छ ।

नेपालबाट बिरामीको परिवारले नै जानकारी लिन चाहेपछि हामीले यहाँको सरकारसित माग गर्छौं र उहाँहरुले उपलब्ध गराइदिनुहुन्छ । १५ जना बिरामीको बारेमा पनि परिवारले नै जानकारी मागेर हामीले पाएका हौं ।

अहिले आएर स्वस्थ नेपालीका पनि गुनासा र समस्याहरु आउन थालेका छन् । कहिले कम्पनीले बिदा दिने कुरा गरेको, कहिले आधा तलब मात्र दिने भनेर कम्पनीले दबाब दिइरहेको छ भन्ने गुनासाहरु आउने गरेका छन् ।

अनि कम्पनीले घर जानको लागि भनिरहेको तर लकडाउनका कारण कसरी जाने भन्ने किसिमका समस्याहरु आउने गरेका छन् । हामीले खान पाएनौं भन्ने गुनासा पनि आइरहेका छन् ।

तर त्यस्ता समस्याहरुको हामीले समाधान गरिरहेका छौं । यहाँ नेपाली प्रवासी सँघ, कतार च्यारिटी, कतार रेड क्रिसियन सोसाइटी भन्ने कल्याणकारी संस्थाहरु छन् । ती संस्थाहरुले हामीलाई फुड प्याकेजहरु उपलब्ध गराएका छन् । यसरी कोही नेपालीहरु खान पाएनौं भनेर दूतावास आउनुभयो भने हामीले उहाँलाई त्यो फुड प्याकेज उपलब्ध गराउन सक्छौं ।    

गुनासा सुन्ने संयन्त्रहरु यहाँ पर्याप्त नै छन्, त्यही भएर अन्यायमा पर्छन् जस्तो मलाई लाग्दैन । 

हामीले कोरोनाका कारण समस्यामा पर्नेहरुको तथ्याँक सङ्कलन पनि थालेका छौं । यहाँको यथार्थ अवस्था के छ, भोलि कस्तो तयारी गर्नुपर्ने हो, त्यसको समग्र जानकारी हामीलाई होस् भन्ने उदेश्यले गरिएको तथ्याँक हो, कुनै खास लक्ष प्राप्तीको लागि गरिएको होइन ।

लकडाउन हुनुभन्दा अगाडि जहाजको टिकट काटेर पनि जान पाउनुभएको छैन, उहाँहरुको तथ्याँक हामीसित छैन ।

त्यो तथ्याँक भयो भने, भोलि स्थिति जटिल भयो अथवा हामीले ठूलो मात्रामा कार्यक्रम आयोजना गर्नुपर्ने भयो भने पनि हामीलाई सजिलो होस् भनेर यसो गरिएको हो । 

श्रमिकलाई अन्याय हुन दिंदैनौं

पहिलो कुरा त कामदारहरुलाई गैरकानुनी तरिकाले कसैले अवकास दियो भने पहिले त हामीले कम्पनीसँग कुरा गर्छौं । कम्पनीसित हाम्रो सरकारको कुनै न कुनै शर्त र बन्देजहरु छन् । उदाहरणको लागि ती कम्पनीहरुले नेपालबाट श्रमिक ल्याउँछन् भने उनीहरुले यहाँ दूतावासबाट माग प्रमाणिकरण गराउनुपर्ने हुन्छ । 

अहिले नेपाली कामदारहरुलाई उनीहरुले दुव्र्यवहार गरे, तलब दिएनन्, सम्झौता विपरित काम गरे भने उनीहरु श्रमिकको माग  प्रमाणिकरण गर्र्न आउँदाखेरी हामीले सहयोग गर्दैनौं । त्यस्तो गरेर हामी उनीहरुलाई एक किसिमको जवाफ दिन सक्छौं ।

यदि त्यति गर्दा पनि भएन भने यहाँ श्रम मन्त्रालय छ, त्यहाँ हामी श्रमिकको हकहित हेर्ने शाखामा उजुरी गर्न सक्छौं । यस्तै अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालय छ । त्यसले पनि मुद्दा मामिलालार्ई हेरेर मध्यस्थता गरिदिन सक्छ ।

यस्तै मानवअधिकार आयोग छ, त्यहाँ पनि श्रमिकले गुनासा सुुनाउन सक्छन् । गुनासा सुन्ने संयन्त्रहरु यहाँ पर्याप्त नै छन्, त्यही भएर अन्यायमा पर्छन् जस्तो मलाई लाग्दैन । 

कतिपय अहिले हाम्रो रोजगारी गुम्ने हो कि भनेर पनि चिन्ता गरिरहनुभएको छ । यो कोरोना भाइरस कति समय रहन्छ ? यदि सुरुमा अनुमान गरेजस्तै आउँदो अगस्ट सेप्टेम्बरसम्म यो भाइरस सकिएर स्थिति सामान्य भयो भने अहिले बन्द भएका कम्पनीहरु, व्यवसायिक संस्थाहरु फेरि पहिलेजस्तै सञ्चालन हुन सक्छन् । त्यो स्थितिमा कयौं नेपालीहरुले यहीँ बसेर आफ्नो काम निरन्तर गर्न सक्नुहुन्छ । 

कतिपय नेपालीहरु यहाँ आउनेबित्तिकै लकडाउनमा पर्नुभयो, काम नै गर्न पाउनुभएन, कमाउन पाउनुभएको छैन । त्यस्ता नेपालीहरु निकै समस्यामा हनुहुन्छ । उहाँहरु यहीँ बसेर काम गर्न चाहनुहुन्छ । 

यस्तै सङ्क्रमण लामो समयसम्म गयो, अस्थिरत छायो, धेरै कामदारहरु बिरामी पर्ने अवस्था आयो भने अहिले पनि क्रियाशिल भएका ठूला कम्पनीहरु पनि बन्द हुनसक्ने अवस्था आउन सक्छ । त्यसले गर्दा आर्थिक कारोबारहरु बन्द हुने, श्रमिक गतिविधिहरु बन्द हुने अवस्था आउन सक्छ । त्यो स्थितिले नेपाली कामदार मात्र होइन सम्पूर्ण आप्रवासी कामदारहरुको श्रम रोजगार संकुचन हुन सक्छ । र त्यो सम्भावना नेपाली श्रमिकको लागि पनि छ ।

दूतावासको फोन उठेन भन्ने कुरामा सत्यता छैन 

दूतावासको फोन उठ्दैन भन्ने श्रमिकको गुनासोमा सत्यता छैन । हाम्रो दूतावासमा एउटा मात्र होइन, पाँच छ वटा समर्पित फोनहरु छन् । ती फोनहरु हाम्रो अफिसियल वेवसाइटबाट, अफिसियल फेसबुकबाट हामीले त्यो जानकारी गराइरहेका हुन्छौं ।

हामी मध्यराति नै उद्धार गर्न सक्छौं । कतिपय बेला महिलाहरुले हामीलाई अन्याय भयो, कुटपिट गर्यो, हामीलाई बचाइदिनुपर्यो भनेर पनि फोन आउँछ, हामी त्यस्तो बेला कुनै ढिालसुस्ती नगरी तुरुन्तै उद्धार गर्नतर्फ लागिहाल्छौं ।

केही जानकारी पाउनेबित्तिकै हामीले सूचना जारी गरिरहेका हुन्छौं । तर यहाँ यस्ता मानिसहरु पनि छन्, जो फेसबुकबाटै समस्या राख्छन् र फेसबुकबाटै समस्या समाधान होस् भन्ने चाहन्छन् । 

तर त्यस्तो चाहिँ हुँदैन । किनभने कुनै पनि कुरा हामीलाई औपचारिक रुपले जानकारी भएन भने त्यस्तो अवस्थामा अन्याय हुँदा पनि हामीले केही गर्न सक्दैनौं । किनभने यो त कार्यकारी संस्था हो नि, यो दुई देशबीचको सम्पर्क गर्ने पुल हो, राज्यको प्रतिनिधि संस्था हो । 

आधिकारिक दस्तावेजबिना अफ्ना कामदारलाई अप्ठ्यारो पर्यो, न्याय गरिदिनुपर्यो भनेर अर्को सरकारलाई त्यत्तिकै भन्न मिल्दैन । र उहाँहरु कस्तो भने फेसबुकमा अप्रिय कुरा, आलोचनात्मक कुरा बढी गर्ने, दूतावासलाई, राजदूतलाई गाली गर्ने तर औपचारिक रुपमा त्यस्ता गुनासाहरु नल्याउने । यसले गर्दा कहिलेकाहीँ सम्बन्धित व्यक्तिले न्याय नपाउन पनि सक्छ । तर त्यो भनेको विशुद्ध एउटा प्राविधिक कमजोरीले गर्दा यस्तो भएको हुन सक्छ ।

अहिलेको अवस्थामा पनि श्रमिकले यदि औपचारिक माध्यमबाट दूतावासमा गुनासो राखेमा दूतावासले त्यसको समाधानको लागि केही कमी गर्ने छैन । मध्यराति पनि फोन गर्न सक्छन्, हामी मध्यराति नै उद्धार गर्न सक्छौं । कतिपय बेला महिलाहरुले हामीलाई अन्याय भयो, कुटपिट गर्यो, हामीलाई बचाइदिनुपर्यो भनेर पनि फोन आउँछ, हामी त्यस्तो बेला कुनै ढिालसुस्ती नगरी तुरुन्तै उद्धार गर्नतर्फ लागिहाल्छौं ।

तर कहिलेकाहीँ के हुन्छ भने यो दुईटा राज्यको कुरा हो । हामीले उनीहरुको संवेदनशील ठाउँमा पुगेर हामीले चाहेका सूचनाहरु हामी संकलन गर्न सक्दैनौं । त्यस्तोमा जाँदा खास कुटनीतिक पहल गरेर मात्र जान सकिन्छ ।

त्यस्तो गर्दा आपदविपदमा परेका व्यक्तिहरुको यथास्थिति तत्काल घटनास्थलमा पुगेर बुझ्न नसिकिने हुनसक्छ  । अर्काको देशको सार्वभौमिकताको कुरा पनि हो त्यसलाई बुझिदिनुपर्छ । त्यसले गर्दा कतिपय यहाँ रहनुभएका नेपाली दाजुभाइहरु यी कुरा बुझिदिनुहुन्न । नबुझेपछि दूतावासले केही गरिदिएन भन्नुहुन्छ ।

महामारीको स्थिति छ, तर धेरै नियमित कामहरु कटौती भएका छन् । ती नियमित क्रियाकलाप भन्नाले पासपोर्ट इस्यू गर्ने, भिसा इस्यू गर्ने, काउन्सिलर सर्भिस इस्यू गर्ने, शवलाई देशमा पठाएर मृतकको परिवारको जिम्मा लाउने कामहरु पनि छन् ।

अहिले समग्र लकडाउन भएकाले यी क्रियाकलाप बन्द भएका छन् । त्यस्तो हुँदा हाम्रा जनशक्तिहरु प्नि वचत भएकोले अहिलेको आपत व्यवस्थापनमा केन्द्रित भएर  लागिरहेका छौं । हामीसँग म्यानपावर पर्याप्त नभए पनि तत्कालै थपिहाल्नुपर्ने स्थिति पनि छैन । 

तर लकडाउन खुल्यो, अन्तर्राष्ट्रिय उडानहरु सुरु भए, दूतावासमा भिड बढ्न थाल्यो भने हामीलाई थप मानव संशाधनको आवश्यकता पर्छ । त्यस्ता चुनौतीहरु थपिए भने हामीले त्यहीअनुसारको दरबन्दीको लागि माग पनि गर्छौं सरकारसित ।

कतारमा रहेका नेपालीलाई सन्देश

यो अवस्था सजिलो छैन । त्यसले गर्दा हामीले अत्यन्तै धैर्यता र संयम अपनाउनुपर्छ । हामी विदेशमा छौं । आफ्नो देशको जस्तो जे पायो त्यो गर्न स्वतन्त्र छैनौं । यहाँको सरकारले नीति कानुन, निर्देशिकाको पूर्ण पालना गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनले अगाडि ल्याएका निर्देशनको  पालना गरौं ।

आफू बसेको ठाउँलाई शुद्धीकरण गर्दै आफ्नो समग्र स्वास्थ्यको बारेमा सचेत बनौं । यसो गर्यो भने यो स्थिति सधैं रहँदैन । महामारी सकिनेबित्तिकै हामी पूर्वस्थितिमा फर्किन्छौं र हाम्रो जीवन पद्धतिको पुनस्र्थापना हुन सक्छ र भविष्य हेरेर बसौं भन्न चाहन्छु ।

फोन उठाउन नपाउँदा पछि हामी आफैं फर्काउँछौं

पदम सुन्दास, बहराइनका लागि नेपाली राजदूत 

बहराइनमा अहिलेसम्म ४९ जना सङ्क्रमित हुनुभएको छ । उहाँहरु सबैको स्वास्थ्य अवस्था राम्रो छ भन्ने जानकारी आएको छ । अहिले दूतावासमा अरु श्रमिकहरुले पनि गुनासो गर्न थाल्नुभएको छ ।

कतिले कामबाट हटाइयो भन्नुभएको छ भने कतिलाई कम्पनी बन्द हुँदा खानबस्न समस्या भएको छ । अवैधानिक श्रमिकलाई अलि समस्या परेको छ अहिले ।  खाद्यान्न समस्या हुनेलाई दूतावासले नै उपलब्ध गराइरहेको छ ।

आइतबारसम्म हामीले २५ जना जतिलाई उनीहरुकै बासस्थान खाद्यान्न पुर्‍याइदिएका छौं । खाद्यान्न समस्या रोजगारी गुमेर हो ।

कलैलाई कोरोनाको शंका लागेमा पनि हामीले समन्वय गरिरहेका छौं । तर बहराइनमा त्यति धेरै समस्या छैन । खान बस्नै नपाउने भन्ने अवस्था आइसकेको छैन । 

हामीले श्रमिकको समस्या सुन्न अफिसको फोन बाहेक पनि दुईवटा हटलाइनको व्यवस्था गरेका छौं । कुनै समस्या आउन साथ हामीले तत्काल रेस्पोन्स गर्छौं । कतिपयलाई त मेरै पनि नम्बर दिएको छु । बहराइनमा अलिकति दूतावासले फोन उठाएन भन्ने खालको समस्या छैन ।

कहिलेकाहीँ फोन उठाउन नपाउँदा पनि हामी आफैं फर्काउँछौं । जतिजनाले खबर गर्नुभएको छ । उहाँहरुलाई मागेको कुराको व्यवस्था पनि छौं ।

अहिले राहत र उद्धारका लागि हामीले बजेटको माग पनि गरिसकेका छौं । यहाँ हुने श्रमिकलाई परेको समस्या समाधान हुन्छ । दूतावासलाई जानकारी चाहिँ गराउन पर्छ । 

अबको एजेण्डा भनेकै नेपाली श्रमिकको हकहितको हो 

शर्मिला ढकाल पराजुली, ओमानका लागि नेपाली राजदूत

अहिलेसम्म ओमानमा सबै नेपालीहरु सुरक्षित छन् । अब मे ८ सम्म लकडाउन छ मस्कटमा । अरुतिर काम पनि भइरहेको छ भन्ने सुनिएको छ । कतिपय ठाउँमा पीपीई दिएरै काम गरिरहेका छन् । हामीले बुझेअनुसार सुरक्षित नै हुनुहुन्छ ।

समस्या परेका श्रमिकका लागि हामीले यहाँका निकायहरुसँग सहकार्य गरिरहेका छौं ।

निरन्तर यहाँको परराष्ट्र मन्त्रालयको माध्यमबाट यहाँको  स्वास्थ्य मन्त्रालय, म्यानपावर मिनिस्ट्री सबैसँग सहकार्य गरिरहेका छौं । उहाँहरुबाट प्राप्त सूचना पुर्याउने, सङ्क्रमण भएको अवस्थामा पनि उपचार गराउनुपर्छ । अब त्यो सबैको लागि हामी सम्पर्कमै छौं ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि छुट्टीमा घर गएकाहरु रोकिनुभएको छ । यस्तै यहाँबाट जानको लागि तयार भएका नेपाली श्रमिकहरु पनि रोकिएका छन् ।

कम्पनीहरुबाट बिदा बसेकाहरु यस्तै समस्या भएकाहरुले हामीलाई फोन गरिरहनुभएको छ ।

उहाँहरुलाई हामी सम्झाइरहेका छौं । नेपालमा पनि लकडाउन छ, ओमानमा पनि बन्द नै छ ।

त्यही भएर अहिले तत्कालै नेपाल पठाउन सक्ने अवस्था छैन । लकडाउन खुल्नेबित्तिकै उहाँहरुको अवस्था हेरेर हामीले पठाउने भन्ने सोचेका छौं ।

अब समस्या समाधान कसरी गर्ने भनेर छलफल गरियो । अबको एजेण्डा भनेकै नेपाली श्रमिकको हकहितको हो ।

तपाईँहरुलाई कोरानोका कारण कम्पनी बन्द भयो, खान बस्न समस्या भयो भने दूतावासलाई सम्पर्क गर्नुहोस् । हामीहरुले खानाको व्यवस्था नभएकाहरुलाई दूतावासबाट गरिरहेका छौं । 

ओमानमा दर्ता भएका सोसल क्लब सामाजिक संस्थाहरुलाई त्यहाँको क्याबिनेटले नै प्रयोग गरेर आआफ्नो देशका भाषामा समाचार सूचनाहरु बनाउन भनेको छ । त्यस्तो क्लबलाई मोबिलाइज गर्ने भनेको दूतावासले नै हो । दूतावाससँगै सहकार्यमा काम गर्ने हो त्यस्तो क्लबले ।

उनीहरुले हामीहरुसँग त्यहाँको सूचना आदिको भाषा उल्था गरेर माग्नुहुन्छ । त्यसले हामीले अरु भाषाबाट नेपाली भाषामा उल्था गरिदिन्छौं । धेरै नेपालीसम्म ती सूचना पुगुन् भनेर उहाँहरुले धेरै राम्रो गरिरहनुभएको छ । मोबाइलमा पनि म्यासेज नेपालीबाटै आउँछ ।

खडीका देशसहित पाकिस्तानका राजदूत सबैले अनलाइन छलफल गरेका छौं । यसले गर्दा हामीले व्यक्तिगत रुपबाट एक अर्काका समस्याहरु साटासाट भयो । अब समस्या समाधान कसरी गर्ने भनेर छलफल गरियो । अबको एजेण्डा भनेकै नेपाली श्रमिकको हकहितको हो ।

सम्भव भएसम्म सबैको विवरण राख्छौं

निर्मला थापा, श्रम काउन्सिलर नेपाली दूतावास यूएई 

हामीलाई फोन गर्नुभयो भने, हामीले उहाँको अवस्था सोध्छौं । अवस्था अलि गाह्रो भएको छ भने हामीले सम्बन्धित व्यक्तिको फोन नम्बर दिन्छौं । त्योभित्र पनि इमर्जेन्सी कल पनि हामीलाई उपलब्ध गराएको छ, यहाँको सरकारले, त्यो पनि दिन्छौं ।

त्यो बाहेक हामीले जो जो हामीसँग गुनासो गर्नुभएको छ, जानकारी दिनुभएको छ ती गुनासाहरु हामीले यहाँका अधिकारीहरुलाई पनि सुनाउँछौं । त्यही हो, हामीले फोनबाट काउन्सिलिङदेखि सबै गर्छौं । आत्तिनेहरु धेरै हुनुहुन्छ ।

थाहा पाएसम्म  हामीले फोन नउठाएको कुनै पनि छैन । एउटासँग कुरा गर्दागर्दै अर्काको फोन पनि आउँछ, त्यस्तो बेला उठाउन सकिंदैन । तर म अफिसमा हुँदा उठाउन पाइएन भने कल ब्याक गर्छुं । त्यही भएर दूतावासको फाने उठेन भन्दा पनि यतिबेला गर्दा उठेन पो भन्नुपर्यो ।

नेपाल गइहाल्न पायो भने हुन्थ्यो भन्नेहरु हुनुहुन्छ । गुनासाहरु एकदमै बढी छन् । तर नेपाल सरकारको निर्णय हो । हामीले केही समयलाई धैर्य गरिदिनुहोस् भन्छौं । कम्पनीलाई पनि सहयोग गरिदिनहुन सम्भव भएसम्म फोन गर्छौं । संघसंस्था पनि सबैसँग हामीले सम्पर्क गरिरहेका हुन्छौं । 

हामीले दूतावासमा आएका गुनासाहरुको अभिलेख पनि  राख्छौं । कतिपय फोन बाटोमा हुँदा आउने गर्छ, त्यो सम्भव हुँदैन । सम्भव भएसम्म हामीले उहाँहरुले सम्पूर्र्ण विवरणहरु राख्ने गरेका छौं । 

खानबस्न गाह्रो त छ । त्यस्ता समस्याहरुको सम्बोधन गर्न हामीले छलफल गरेरै योजना बनाउनुपर्छ भन्ने छ । राजदूतसँग बैठक बस्छौं । हामी छलफलकै क्रममा छौं।

थाहा पाएसम्म  हामीले फोन नउठाएको कुनै पनि छैन । एउटासँग कुरा गर्दागर्दै अर्काको फोन पनि आउँछ, त्यस्तो बेला उठाउन सकिंदैन । तर म अफिसमा हुँदा उठाउन पाइएन भने कल ब्याक गर्छुं । त्यही भएर दूतावासको फाने उठेन भन्दा पनि यतिबेला गर्दा उठेन पो भन्नुपर्यो ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • Kheem

    April 29, 2020, 1:56 p.m.

    बोल्न र जवाफ दिन त कसले सक्नु हो .... हाम्रा दुतहरुलाई लाग्छ केहि भएको नै छैन /मानौं उनीहरु दिनरात नभनिकन काम गर्दैछन ...हामी चाहिँ लाटो सुधो केही थाहा नै नपाएका ...राजदूतावासले भन्यो ..हामीले पत्यायौ/

  • Nepali Janata

    April 28, 2020, 5:35 p.m.

    गफै त हो नि सोल्टा भनेको जस्तै नै त हो नि ..यहाँ मान्छेहरु अलपत्र परेको छ.... खान नपाएर मर्नेबेला भएको छ / दुतावासमा फोन गर्दा कहिले पनि फोन उठ्दैन /अब के गर्ने भनेर बिचल्लीमा छ /दुतावासका कर्मचारी र राजदुत नाममात्रका ...कसैलाई ५ पैसाको सहयोग छैन / दुतावास नै नराखे पनि हुन्छा नि ! फोकटमा जनताको पैसावाट तलव खाएर बसेको छ / नागरिकलाई सहयोग गारे पो तलब खाएको पनि मज्जा आउँछ / यहाँ लाखौँ मान्छे बिचल्लीमा छन्...दुतावासका मान्छे कसरी निदाउन सकेका ??भगवान, अल्लाह, जिसस कसैको पनि डर छैन र ? भोलि मरेर कहाँ जाने होला र ?? नागरिकको लागि राखेका मान्छेले नागरिकलाई वास्ता गर्दैन भने दुतावास किन चाहियो ?? सन्दर्भ युएईको दुतावासको ....सोध्नुस यहाँका नेपालीलाई ....उत्तर पाउनुहुनेछ /

तपाईको प्रतिक्रिया