विदेशबाट शव ल्याउन समस्या, ५८ परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिए

 जेठ ९, २०७७ शुक्रबार १९:३५:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ –  खाडीका देश र मलेसियामा दुई महिनाको अवधिमा काेराेना र अन्य कारणबाट २०७ जनाको ज्यान गएको छ । यूएईमा ४ जना महिला र ४२ जना पुरुष गरी ४६ जना, साउदीमा एक महिला र ४८ जना पुरुष गरी ४९ जना, मलेसियामा ४४ जना पुरुष, कतारमा १ महिला र ४० जना पुरुष गरी ४१ जनाको ज्यान गएको छ ।

यस्तै कुवेतमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जना, बहराइनमा ३ जना, सेसल्समा एक, दक्षिण कोरियामा ३ जना, टर्कीमा एक, ओमानमा एक र जोर्डमा एकजना तथा अन्य विभिन्न देशमा ६ जना पुरुष गरी लकडाउनको अवधिमा २०७ जनाको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार ५८ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि सहमति दिएका छन् । यूएईमा ४६ मध्ये ३२ जनाको परिवारले उतै अन्त्येष्टिका लागि सहमति दिएका छन् । अब यूएईमा १४ वटा शवको व्यवस्थापन बाँकी छ ।

साउदीमा ४९ मध्ये ७ जना मृतकका परिवारले उतै अन्त्येष्टिका लागि सहमति दिएका छन् । मलेसियामा ४४ मध्ये २ जना मृतकका परिवारले मात्रै उतै सदगत गर्ने अनुमति दिएका छन् ।

मलेसियामा पनि ४२ मृतकको शव व्यवस्थापन गर्न बाँकी छ । बहराइनमा एक, सेसल्समा एक र दक्षिण कोरियामा तीनै जना मृतकका परिवारले अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

यस्तै जोर्डनमा १ र अन्य विभिन्न देशमा मृत्यु भएको पाँच जनाको परिवारले पनि अन्त्येष्टिका लागि सहमति दिएकाले अब विदेशमा १४९ शव व्यवस्थापन गर्न बाँकी रहेको बोर्डले जनाएको छ ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अहिले विदेशमा मृतकको शवसमेत ल्याउन कठिन भइरहेको छ । अन्तर्राष्ट्रिय उडान नखुल्दासम्म शव ल्याउन नसकिने भन्दै बोर्डले मृतकका परिवारलाई उतै अन्त्येष्टिका लागि सहमति दिन अनुरोध गरिरहेको छ ।

महामारीको समयमा गन्तव्य देशमै शव अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई सान्त्वना राहत स्वरुप थप ५० हजार रुपैयाँ पनि दिने सरकारले निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया