विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत होऔँ : प्रधानमन्त्री

 जेठ १२, २०७७ सोमबार १८:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्कनेहरुलाई राम्रो व्यवहार गर्न आग्रह गर्नुभएको छ । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन आग्रह गर्नुभएको हो ।

'हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन, कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ, कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन' प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभएको छ ।

विदेशबाट फर्कनेहरुलाई पनि सचेत भइदिन उहाँको आग्रह छ । प्रधानमन्त्रीले भन्नुभयो, 'घर फर्किएका सबै दिदीबहिनी दाजुभाइहरुलाई आफ्ना कारणले आप्mनो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गर्दछु ।'

यस्तै प्रधानमन्त्री ओलीले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरुलाई रोजगारी उपलब्ध गराइने पनि बताउनुभएको छ ।

उहाँले भन्नुभयो, 'कोरोना महामारीका कारण रोजगारी गुमाउनेलाई विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर उपलब्ध गराइने छ ।’ यो बेला विदेशमा रोजगारी गुमेर ठूलो संख्यामा श्रमिकहरु स्वदेश फर्किएको र अझै पनि फर्कन सक्ने अवस्था छ ।

त्यसैले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकामा रहेका रोजगार सेवा केन्द्रलाई रोजगार बैंकको रुपमा अघि बढाउने र सूचीकृत बेरोजगारलाई उपलब्ध रोजगारीमा लगाउने प्रधानमन्त्रीले बताउनुभयो । यसका लागि आवश्यक सीप र तालिमको व्यवस्था सरकारले गर्ने पनि उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया