भोलि र पर्सि उद्धार उडान नहुने, शनिबारसम्म २६ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किए

 असार २८, २०७७ आइतबार ९:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि भोलि सोमबार र मंगलबार उडान नहुने भएको छ ।

विदेशमा कोरोनाका कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको उडान दुई दिनका लागि स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

‘कुनै कारणले रोकिएको होइन, लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको हो’ सहसचिव लामिछानेले भन्नुभयो ।

फेरि जुलाइ १५ अर्थात बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।

तर जुलाई २१ पछि अवस्थाको विश्लेषण गरेर नियमित उडान गर्ने या अहिले झैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ । सहसचिव लामिछानेका अनुसार अब जुलाई २१ पछि विदेशमा रहेका नेपालीको स्वदेश फिर्ती नयाँ हिसाबले गर्नेबारे छलफल भइरहेको छ ।

अवस्था हरेर नियमित उडान गर्न सक्ने सम्भावना पनि रहेको उहाँले बताउनुभयो । गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ । नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् ।

सरकारले आजैदेखि उडान स्थगित गर्ने भने पनि आज विभिन्न ६ उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् । आज बहराइन, जापानको नारिता, फिलिपिन्सको मनिला, साउदीको दमाम, मलेसियाको क्लालाम्पुर, यूएईको दुबईबाट हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले नेपाली लिएर आउँदै छन् ।

२६ हजार ३ सय ९६ जना नेपाली फर्किए

शनिबारसम्ममा विभिन्न देशमा समस्यामा परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गइ उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एअरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्धार गरिएको हो ।

अहिलेसम्म संयुक्त अरब एमिरेट्स यूएईबाट ५ हजार ५ सय २७ सय, कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी ५ हजार २ सय ४३ जना र बहराइनबाट ५६७ जना नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जना स्वदेश फर्किएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्किएका छन् । शनिबार मात्रै विभिन्न देशबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् ।

1 Comments

  • laxman sunar

    July 12, 2020, 10:42 a.m.

    म यहाँ दुबईमा भीसा सकिएर बसेको ४ महिना भयो , टिकटको प्रवन्ध हुन सकेको छैन किनकि टिकटमा ठूलो चलखेल छ / जो वास्तविक पीडित छन्, उनीहरुको उद्धार भएको छैन / म कतिपटक ट्राभल्समा गएँ , तोकेको रेट भन्दा बढी भन्छन दलाल मार्फत काम गर्नु भन्छन /लास्टै पीडित अवस्थामा छु / नेपाल वाट पनि आफ्नो मान्छेहरुलाई मात्र टिकट दिने काम भैरहेको छ / मेरो संगै बस्ने साथीको आफ्नो मान्छे पदमा रहेछ, त्यसैले उहाँ नेपाल पुगिसक्नु भयो , के हामी जस्तो मान्छेको पालो नै आउंदैन त घर जान ??

तपाईको प्रतिक्रिया