पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ

 साउन ३०, २०७५ बुधबार १६:३०:२७ | उज्यालो सहकर्मी

काठमाडौं – पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई जना युक्रेनी नागरिक पक्राउ परेका छन् । 

पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र नाटालियाले कामदार भिसामा पोल्याण्ड पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 
पीडितको उजुरीको आधारमा वैदेशिक रोजगार विभाग र प्रहरीको अपराध अनुसन्धान महाशाखाले बुधबार छापा मारेको थियो । 

उनीहरुले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका र सम्पर्कमा आएका व्यत्तिबाट सुरुमै २ लाख रुपैयाँ माग्ने गरेको खुलेको छ ।  अन्तिम अन्तवार्ताका लागि भारत जानुपर्ने र ७ लाख रुपैयाँसम्म खर्च लाग्ने बताउने गरेको पीडितले उजुरी दिएका थिए ।  

उनीहरुले ‘पिपल फर वर्क’ नामको कम्पनी दर्ता गरेको र काठमाडौंको शंकरदेव क्याम्पस अगाडि कार्यालय नै सञ्चालन गरेको भेटिएको छ । उनीहरुले कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सूचना प्रविधीमा काम गर्ने उद्देश्य राखेको पाइएको छ ।

कार्यालयमा उपलब्ध सबै सामान पनि जफत गरी उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 
 

तपाईको प्रतिक्रिया