चिया उद्योगमा काम गर्ने श्रमिकको न्यूनतम तलब तोकियो

 साउन ३१, २०७५ बिहिबार १४:२६:२ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले चिया उद्योगमा काम गर्ने कामदारको न्यूनतम तलब निर्धारण गरेको छ । 

प्रत्येक दुई वर्षमा पुनरावलोकन हुनेगरी तलब र भत्ता गरेर महिनाको १० हजार ७ सय ८१ रुपैयाँ निर्धारण गरिएको हो । जसमा तलब ६ हजार ४ सय ६९ रुपैयाँ र महंगी भत्ता ४ हजार ३१२ रुपैयाँ हुने छ । 

श्रम ऐन २०७४ र नियमावली २०७ अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो । दैनिक ज्यालादारीमा काम गर्ने कामदारले महंगी भत्तासहित ३८५ रुपैयाँ पाउने छन् भने एक घण्टाको ५१ रुपैयाँ पाउने छन् । 

त्यस्तै चिया उद्योगमा काम गर्ने तर बगान बाहिर सक्रिय कामदारको परिश्रमिक भने महिनामा भत्ता र तलब गरी १३ हजार ४५० रुपैयाँ निर्धारण गरिएको छ ।  साउन १ गतेदेखि नै लागू हुने गरी सबै श्रमिकको न्यूनतम परिश्रमिक सम्बन्धी सूचना बिहीबार राजपत्रमा प्रकाशित गरिएको छ । 

उद्योगी, सरकार र मजदुरका प्रतिनिधि सम्मिलित समितिले चिया बगानमा काम गर्ने कामदारको तलब निर्धारण गरेको हो । 
 

तपाईको प्रतिक्रिया