सरकार र म्यानपावरका कारण साउदीमा हण्डर खाएका बलबहादुर न्यायको पर्खाइमा

 भदौ २, २०७५ शनिबार ११:९:५६ | उज्यालो सहकर्मी

रमा मगर/उदयपुर ।

उदयपुर – हातमा हरियो पासपोर्ट, मनमा कमाउने सपना । उदयपुरगढी गाउँपालिका ८ खोल्मेका बलबहादुर राई २०७३ पुषमा साउदी उड्नुभएको थियो । झण्डै २० महिनापछि २०७५ साउन २५ गते बलबहादुर त्रिभुवन विमानस्थलमा ओर्लिनुभयो । 

उहाँसँग विदेशबाट फर्किनेहरुसँग जस्तो साथमा ठूलो सुटकेश थिएन । जाँदा जस्तै हातमा पासपोर्ट, अनि मनमा चाहिँ झण्डै २० महिना खेपेका अठारौं हण्डरको तीतो सम्झना । 

कमाउने सपना उतै मारेर फर्किनु परे पनि बलबहादुरलाई घर फर्किन पाएकोमा सबैभन्दा खुसी लागेको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत उदयपुरमा सञ्चालित सूचना केन्द्रमा घर फर्किन पाउँदाको खुसी साट्न आइपुगेका बलबहादुरले म्यानपावर र देशका सरकारी निकायको लापरबाहीले आफूले पाएको दुःख पनि सुनाउनुभयो ।

बलबहादुर अल जफर  म्यानपावरबाट २०७३ साल पुस ५ गते साउदी उड्नुभएको थियो । मोदी अल बकावी फाममा उहाँको सम्झौता कृषिको काममा थियो । 

म्यानपावरले १४ सय रियाल मासिक तलब पाउने बताएको थियो । तर साउदी पुगेपछि न सोचेको काम मिल्यो, न त दाम । तर उहाँले त्यो कामका लागि ८० रुपैयाँ बुझाउनुभएको थियो म्यानपावरलाई ।

कृषिको काम भने पनि उहाँले मेशन(मिस्त्री)को काम गर्नुपर्‍यो । ‘तलब पनि १२ सय रियाल मात्रै भन्यो, अब गैहालियो, के गर्नु बाध्यताले भए पनि त्यही काम गर्न थालेँ, तर त्यो काम पनि कहाँ भनेको जस्तो भयो र’ बलबहादुर सुनाउनुहुन्छ ।

जस्तो भएपनि बलबहादुरलाई काम गर्नु थियो । गर्नु पनि भयो । तर कम्पनीले २ महिनाभन्दा बढी काम दिन सकेन । कम्पनीले काम नै दिन नसकेपछि कामाइ त परको कुरा, बलबहादुरलाई पराई देशमा मामको पनि समस्या पर्ने भयो ।

त्यसैले उहाँले घर फर्किने निणर्य गर्नुभयो । तर यो विकल्प पनि उहाँका लागि सजिलो भएन । आफ्ना समस्या म्यानपावरमा राख्नुभयो । तर म्यानपावरले उहाँको उद्धारमा चासो देखाएन । 

बलबहादुरले साउदीमा रहेको नेपाली दूतावासमा २०७४ भदौ २२ गते आफ्ना समस्या राख्नुभयो । र, नेपाल फर्काइदिन अनुरोध गर्नुभयो । 

‘म साउदीबाट कराइरहें, कसैले सुनेनन’

‘मैले म्यानपावर र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा पनि कति पटक फोन गरेँ, तर कसैले मेरो कुरा सुनेनन्,’ बलबहादुर गुनासो गर्नुहुन्छ । 

नेपालमा रहेकाले त बलबहादुरकोे आवाजलाई सुनेनन् । तर साउदीमै रहेको नेपाली दूतावासले समेत आफ्नो पीडा नबुझेको बलबहादुरको गुनासो गर्नुहुन्छ ।‘कर्मचारी र म्यानपावरका मानिस त अच्चमैका हुँदा रहेछन्, दुवैको मिलेमतोमै मरो उद्धारमा ढिलाई भएको हो’ बलबहादुर भन्नुहुन्छ । 

बलबहादुरलाई कम्पनीले अकामा(परिचय पत्र) नबनाइदिएकाले हिँडडुल गर्न पनि समस्या  थियो । बलबहादुरले अकामा बनाउन साउदी सरकारलाई झण्डै चार लाख रुपैयाँ कर तिर्नुपर्ने थियो । त्यसैले म्यानपावरले चार लाख रुपैयाँ तिरेर उहाँलाई नेपाल झिकाउनु चासो दिएन । 

‘मैले वैदेशिक रोजगार विभागमा पनि फोन गरेको हुँ, मलाई उद्धार शाखाका कर्मचारीले तिमी भागेर पुलिसकोमा जाउ समेत भन्नुभयो,’ बलबहादुर भन्नुहुन्छ, ‘म जेल बसेर फर्किंदा न पैसा तिर्नुपर्ने, न म्यानपावर र विभागलाई तनाव हुने, पीडा त मलाई भयो नि ।’

कम्पनीमा काम बन्द भएपछिका सास्ती

‘कम्पनीले न काम दियो, न खानका लागि पैसा, पेट पाल्न अरुको घरमा गएर काम गरेँ,’ बलबहादुरले भन्नुभयो, ‘कतिले त घरमा काम लगाएर पैसा पनि दिएनन्, त्यसरी नै दिन चलाएँ ।’ कमाई नभएको दिन भोकै बस्नुपर्ने बाध्यता थियो बलबहादुरलाई ।

‘एक दिन रोटी किन्न भनेर बाहिर निस्केको थिएँ, पुलिसले भोटिहाल्यो, परिचय पत्र नभएकाले पिटाइ सहनुपर्‍यो,’ उहाँले साउदीमा पाएको सास्ती सुनाउनुभयो, ‘भोकै मर्न नसकिने रहेछ, अरुको जुठो पनि खाएँ, एक दिनलाई ल्याएको भात चार दिन पुर्‍याएर पनि खाएको छु ।’

यसरी भयो उद्धार

दाइ बलबहादुरलाई उद्धारका लागि अनुरोध गर्न भाइ लिलबहादुर २०७४ संसिर १४ गते सूचना केन्द्रमा आउनुभयो । म्यानपावर र विभागले उद्धारमा चासो नदेखाएपनि बलबहादुर समस्यामा भएको खबर विभिन्न सञ्चार माध्यममा बाक्लिए ।

विभागले नै उहाँलाई पुलिसको सहयोगमा नेपाल फर्किन भने पनि उहाँले बिना गल्ती भागेर घर नफर्किने हठ गर्नुभयो । र, अन्त्यमा सञ्चार माध्यममा आएका खबर र सूचना केन्द्रको पहल पछि म्यानपावरका मानिस साउदी गए । 

‘म्यानपावरका मान्छेले नै होला मलाई पक्राउन लगाएको, पुलिसले पक्रियो, अनि २० दिन जेल बसेर फर्र्किएँ,’ बलबहादुरले भन्नुभयो ।

न्यायकाे पर्खाइमा

बलबहादुरले म्यानपावरलाई ८० हजार रुपैयाँ बुझाएर साउदी जानुभएको हो । सय कडा तीनको ब्याजमा लिएको ऋणको सावाँ ब्याज यसै छ । झण्डै २० महिना साउदीमा बिताउँदा उहाँले ३ हजार ६० रियाल मात्रै पाउनुभयो । बलबहादुरका अनुसार २० हजार रियाल उहाँको तलब हुन्छ ।

त्यसैले उहाँले बाँकी तलब पाउँ भनी वैदेशिक रोजगार विभागमा निवेदन दिनुभयो । साउदीमा बगाएको पसिनाको मूल्य पाइन्छ या पार्इंदैन ठेगान छैन, तर उहाँलाई साउदीमा खेपेका हण्डरले धेरै कुरा सिकाएको छ ।

कमाउने सपना उतै बिसाएर फर्किएका बलबहादुरले अब गाउँघरमै व्यवसाय गर्ने योजना बनाउनुभएको छ । भन्नुहुन्छ, ‘अब विदेशमा हैन देशमै बाख्रा पाल्छु र कमाउँछु ।’
 

1 Comments

तपाईको प्रतिक्रिया