सुन ल्याइदिने शर्तमा ऋण लिएर मलेसिया जाँदा

 भदौ ८, २०७५ शुक्रबार

हिराधन राई/अर्खौले, खोटाङ । 

गाउँबाट विदेश जाने लहर चलेको थियो । विदेश जानेहरुले विदेशमा काम र तलब राम्रो छ भनेर चिठ्ठी पठाउँथे । उनीहरुका कुरा सुनेरै मैले पनि विदेश जाने सोच बनाएँ । त्यतिबेला मेरो बिहे भएको थिएन । 

बिहे गरेपछि जिम्मेवारी थपियो । त्यसमा बुवाआमाले पनि विदेश गएकाहरुले राम्रो कमाइरहेका छन भन्दै विदेश जा भन्नुभयो । म २१ वर्षको थिएँ । पढाई एसएलसीसम्म मात्रै थियो । घरको जेठो छोरो भएकोले पनि आर्थिक भार थपिँदै गएकाले २०६० कात्तिकमा म मलेसिया गएँ । 

म्यानपावरले मलाई मलेसियाको टङ्गिम इलेक्ट्रोनिक्स एमएसएन बीएचडी कम्पनीमा ८० हजार रुपैयाँ लिएर पठायो । म्यानपावरलाई दिने त्यो पैसा मैले साहुसँग ऋण लिएको थिएँ ।  त्यो पैसाको ब्याज सयकडा ५ लगाएका थिए साहुले । त्यति मात्रै होइन मलेसियाबाट फर्किंदा एक तोला सुन पनि ल्याइदिने सर्तमा बल्ल पैसा पाएको थिएँ । 

मलेसिया पुगेपछि मैले यहाँ भनेकै काम पाएँ । काम उही भएपनि तलब चाहिँ २० रिंगिट कम पाएँ । यहाँ मलाई ४८१ रिंगिट भनिएको थियो तर मलेसियामा ४६१ रिंगिट मात्रै पाएँ । ओभरटाइम पनि पाएको थिएँ । त्यसैले मैले महिनाको ५५० रिंगिटसम्म कमाएँ । 

विदेशमा अरुका समस्याको कसैलाई ख्याल हुँदैनथ्यो । घरमा आफ्ना पीडा सुनाउनलाई अहिलेको जस्तो सबैका हातमा मोबाइल थिएन । त्यसैले चिठ्ठीमै लेख्नुपर्थ्याे । लेखेको चिठ्ठी घर पुग्न ३/४ महिना लाग्थ्यो । 

यसै गर्दा गर्दै ३ वर्ष बित्यो । बिदामा घर आएँ । बिदाको समय सकिएपछि फेरि त्यही ठाउँमा फर्किएँ । पहिलेको भन्दा मलाई दोस्रो पटक जाँदा निकै सजिलो भइसकेको थियो । एक त काम पनि जानियो अनि ठाउँ पनि त्यही । त्यसैले अरु ५ वर्ष मैले त्यही ठाउँमा बिताएँ । ८ वर्ष बस्दा मैले झण्डै २२ लाख रुपैयाँ कमाएँ । 
त्यही पैसाले अर्खौले बजारमा घर बनाएँ । अनि बाँकी रहेको पैसाले चाहिँ हलेसी तुवाचुङ नगरपालिका– १० दुक्सेलिमामा रहेको गुप्तेश्वर महादेवको मन्दिर अगाडि पूजा सामग्रीको पसल चलाइरहेको छु । त्यही पसलको कमाईले घर चलिरहेको छ । 

(नवकिरण सेवा समाज, दुर्छिम खोटाङद्वारा सञ्चालिक सुरक्षित आप्रवासन सामी परियोजनाका सामाजिक परिचालक तारानाथ फुयलले गर्नुभएको कुराकानीमा आधारित)   
 

तपाईको प्रतिक्रिया