सीप सिकेर विदेश जाँदा महिनाको लाख कमाएँ

 भदौ १३, २०७५ बुधवार | मेरो कथा मेरो भोगाई

चईनकुमार राई/हलेसी तुवाचुङ नगरपालिका, राजापानी खोटाङ ।

नेपालमा बसेर केही पनि हुँदैन भन्ने लाग्यो । त्यसैले म विदेश जाने सोच बनाएर काठमाडौं आएँ । तर कहाँ सोचेको जस्तो हुँदोरहेछ र । जानेको केही छैन । अर्काको देशमा के गर्ने भन्ने लाग्यो । गाउँबाट काठमाडौं आउँदा त यसै विदेश गइन्छ जस्तो लाग्थ्यो । 

त्यसैले मैले इलेक्ट्रिसियनको तालिम लिएँ । तालिम पछि विदेश जान पनि आँट आयो । त्यसैले सन् २००२ मा म्यानपावरलाई ७० हजार रुपैयाँ तिरेर साउदी गएँ । सीप सिकेकै काममा । म्यानपावरलाई बुझाएको पैसा ऋण काढेको थिएँ । सय कडा तीनका दरले । 

तर मासिक ८ सय रियाल तलब हुन्छ भनेर मलाई ऋण काढ्न पनि डर लागेन । तर साउदी पुगेपछि भयो के भने, कम्पनीमा एक जना मान्छे चाहिएको रहेछ । हामी तीन जना भयौं । अन्तर्वार्तामा अरुनै देशका नागरिक चुनिए । म छानिन सकिन । 

त्यसपछि सुरु भयो लेबरको काम । नेपालमा सिकेको सीप पनि त्यती बेला त बालुवामा पनि खन्याए झैं भयो । महिनाको ८ सय रियाल कमाउने सपना पनि चक्नाचुर भयो । 

लेबरको काम गर्दा महिनाको ५ सय रियाल हुन्थ्यो । त्यही कमाइबाट खान पनि पथ्र्यो । खाएर जम्माजम्मी २ सय ५० रियाल बचाउन पनि गाह्रो हुने । जे भएपनि काम गरिरहेकै थिएँ । 

तर चार महिना पछि मेडिकल गर्दा अनफिट आयो । मेडिकलमा फीट नभएपछि म घर फर्किएँ । जाँदा देखाका सपना सबै सकिएका थिए । बाँकी थियो त साहुको ऋण । 

घरमा तीन चार वर्ष त यसै बित्यो । साहुको ऋणको व्याजको पनि व्याज पाकिसकेको थियो । साउदीमा हण्डर खाएर फर्किदा पनि नेपालमा केही गर्न सकिन । त्यसैले फेरि कतार जाने योजना बनाएँ । 

सन् २००६ मा गल्फ म्यानपावरबाट कतारको सीसीआईसी कम्पनीमा गएँ । साउदी जाने बेलामा जस्तै मैले योपाली पनि तालिम लिएरै गएँ । स्काफेल्डिङको काम सिकेर गएको थिएँ । पहिले जस्तै ८ सय रियाल तलब भनिएको थियो । तर योपाली सबै गरे महिनाको १३ सय रियालसम्म कमाउन थाले ।

 साहुको ऋण तिरेँ । अनि धेरथोर बचाएँ पनि । ४ वर्षमा नेपाल फर्किएँ । छ महिनापछि फेरि स्काफफोल्डिङकै काममा युएई गएँ । बेसिक १८ सय दिर्हाम थियो मेरो तलब । युएई गएको तीन महिनामा स्काफोल्डिङको अर्को कोर्स गरेँ । त्यसपछि मेरो बढुवा भयो । 

त्यसपछि त ओभर टाइमसहित गरेर मैले ३५ सय दिर्हाम बचाउन थालेँ । २ वर्ष युएईमा काम गर्दा २१ लाख रुपैयाँ जम्मा भयो । दुई ठाउँमा घडेरी किनेँ । घर बनाएँ । 

मैले दुई देशमा खासै कमाउन सकिन । तर दुई देशको दुःखलाई संगालेर अर्को देशमा त्यसलाई प्रयोग गर्दा कमाउन सकेँ । मैले सीप नसिकेको भए सायद त्यो सम्भव थिएन । त्यसैले विदेश जाने सोच छ भने सीप चाहिँ सिकेर मात्रै जानुहोला ।

चईनकुमार राईसित सुरक्षित आप्रवासन सामि परियोजना नवकिरण सेवा समाज नेपालका सामाजिक परिचालक तारानाथ फुयलले गरेकाे कुराकानीमा अाधारित ।

1 Comments

तपाईको प्रतिक्रिया