अवैधानिक कामदारसँगै मलेसियाका रोजगारदाता पनि पक्राउ परे

 भदौ १९, २०७५ मंगलबार १३:२२:१४ | उज्यालो सहकर्मी

मलेसिया – मलेसियामा ३० हजार भन्दा धेरै अवैधानिक विदेशी कामदार पक्राउ परेका छन् । 

मलेसियाली अध्यागमनका निर्देशक दातुक सेरी मुस्ताफर अलिका अनुसार गएको आठ महिना अर्थात जनवरी १ देखि सेम्टेम्बर ३ सम्ममा अवैधानिक रुपमा मलेसियामा रहेका विदेशी नागरिकलाई पक्राउ गरिएको हो । 

मलेसियालाई अवैधानिक कामदारमुक्त बनाउने भन्दै मुस्ताफर अलिले देशव्यापी रुपमा नै अभियान चलाएर अवैधानिक रुपमा रहेका कामदारलाई पक्राउ गर्न सुरु गरिएको बताएका छन् । 

‘अवैधानिक कामदारका कारण धेरै समस्या उत्पन्न भएका छन्, स्वास्थ्य र लागुऔषध लगायतका समस्या उत्पन्न भएका छन्, त्यसैले हामी अवैधानिक कामदारका हकमा भने पछि हट्न सक्दैनौं,’ निर्देशक मुस्ताफर अलिको भनाइलाई उद्धृत गर्दै द स्टारले लेखेको छ । 

पटक पटक अवैधानिक कामदारलाई स्वदेश फर्किन मौका दिएपनि मलेसियामै लुकेर बसिरहेको पाइएको भन्दै निर्देशक अलिले धरपडक तिव्र बनाएको बताएका छन् । 

रोजगारदाता पनि पक्राउ

अवैधानिक विदेशी नागरिकलाई काममा लगाउने एक हजार जना रोजगारदातालाई पनि पक्राउ गरिएको छ । अवैधानिक कामदारलाई काममा लगाएको पाइएमा रोजगारदातालाई पनि कारवाही गर्ने मलेसियाले जनाएको छ ।

एकातिर अवैधानिक विदेशी कामदारलाई काममा लगाउँदा प्रशासनको निशानामा परिने डर रोजगारदातालाई छ भने अर्कातिर कामदार नहुँदा काममा असर पर्ने हो कि भन्ने चिन्ता छ । 

रोजगारदाता र सरोकारवालाले धरपकडप्रति चिन्ता व्यक्त गर्दै उपयुक्त विकल्प ल्याउन आग्रह गरेका छन् । तर मलेसियाको सरकारले भने थप कडाइ गर्ने बताउँदै आएको छ ।

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन भएको ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफी कार्यक्रम सकिएपछि मलेसियाले अवैधानिक कामदारविरुद्ध धरपकड गर्ने भएको हो । यसबाट अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार प्रभावित हुनेछन् ।

गएको फेबु्रवरी १५ अर्थात फागुन ३ गतेदेखि मलेसियाले अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्किनका लागि ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ सञ्चालन गरेको थियो । यो अवधि गएको बिहीबार सकिएको छ । 

मलेसियाले यसअघि पनि अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई वैधानिक प्रक्रियामा दर्ता भई काम गर्न पाउने अवसरसहितको ‘रिहाइरिङ’ कार्यक्रम सञ्चालन गरेको थियो ।

तर झन्झटिलो प्रक्रियाका कारण धेरै विदेशी कामदार वैधानिक हुनबाट वञ्चित भएका छन् । यसरी वैधानिक हुने कार्यक्रम पनि गएको जुन महिनामै सकिएको छ । मलेसियाले अवैधानिक कामदारलाई वैधानिकता र आममाफी कार्यक्रम पटकपटक सञ्चालन गरिसकेको छ ।

तर यो समयमा स्वदेश नफर्किएका विदेशी कामदारलाई मलेसियाले पक्रने जनाएको छ । पछिल्लो समय दिएको आममाफीको उपयोग गरी १२ हजार ८४१ जना नेपाली स्वदेश फर्किएका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत छन् । तीमध्ये कति नेपाली अवैधानिक रुपमा काम गरिरहेका छन भन्ने तथ्याङ्क छैन । 


 

तपाईको प्रतिक्रिया