अर्को हप्तादेखि विमानस्थलमा कर्मचारीले सोध्नेछन् – विदेशमा के सिक्नुभयो ? अब के गर्नुहुन्छ ?

 भदौ २१, २०७५ बिहिबार ९:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ र छिट्टै स्वदेश फर्कने तयारी गर्दै  हुनुहुन्छ भने थाहा पाइराख्नुहोस्, तपाईंले विमानस्थल ओर्लनेबित्तिकै आफ्नो काम र अबको योजनाबारे बताउनुपर्नेछ ।

विमानस्थलको डेस्कमा रहेका सरकारी कर्मचारीले ‘कुन देशबाट आउनुभयो ? त्यहाँ कुन कम्पनीमा के काम गर्नुभयो ? के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? अब फर्केर के गर्नुहुन्छ ?’ लगायतका प्रश्न सोध्नेछन् । तपाईं विदेश गएकोदेखि विदेशबाट फर्किएर आएसम्मका सबै विवरण सरकारसँग सुरक्षित रहनेछ ।

वैदेशिक रोजगारीका सबै तथ्याँक र विवरणलाई एउटै अनलाइन प्रणालीमा राख्ने र विदेशमा काम गरेर फर्कनेको तथ्याँक संकलन गर्ने तयारी पूरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रममन्त्री गोकर्ण विष्टको पहलमा तयार पारिएको अनलाइन प्रणाली आउँदो सोमबार सार्वजनिक गर्ने तयारी छ । 

‘हाम्रो तयारी सकियो, अर्को हप्तादेखि सुरु गर्ने तयारी छ’ मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

यो प्रणालीमा श्रम मन्त्रालय र यस अन्तर्गतका विभाग, कार्यालय, विदेशमा रहेका नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण गर्ने संस्था, तालिम तथा अभिमुखीकरण केन्द्र सबै जोडिएका हुनेछन् । पासपोर्ट नम्बर हान्नेबित्तिकै कामदारको सबै विवरण उतिखेरै थाहा पाइनेछ । 

कामका लागि विदेश जाने सबैको नाम थर, ठेगाना, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायताका सबै विवरण राखिने भएकाले फर्किंदा पासपोर्ट नम्बरको आधारमा व्यक्तिले कुन सीप लिएर फर्किएको छ भन्ने जानकारी हुनेछ । 

सरकारी तथ्याङ्क अनुसार दिनहुँ सरदर १५ सय युवा रोजगारीका लागि विभिन्न देश उड्छन् । ४५ लाखभन्दा धेरै युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । तर विदेशबाट फर्कनेहरुको तथ्याँक अहिलेसम्म राख्ने गरिएको छैन । यस्तो तथ्याँक र विवरण नहुँदा वैदेशिक रोजगारीबाट कति फर्के र उनीहरुसँग के सीप छ भन्ने जानकारीको समेत अभाव छ । 

विदेशको सीप र अनुभवलाई स्वदेशमा सदुपयोग

विमानस्थलमा विदेशमा काम गर्न जानेहरुजस्तै काम गरेर फर्कनेहरुको पनि लर्को देखिन्छ । तर यसरी फर्किने कामदार विदेश फेरि नफर्किने गरी कति फर्किए, कतिले देशमै केही गर्ने योजना लिएर फर्किए अहिलेसम्म सरकारसँग तथ्याङ्क छैन । विदेशबाट फर्किएका जनशक्तिको महत्व बुझेर विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

अबदेखि अनलाइनमै सबै विवरण हुने भएकाले पनि विदेशबाट फर्किएकामध्ये कोसँग के सीप र अनुभव छ भन्ने राम्रोसँग थाहा हुन्छ । साथै मौखिक रुपमै पनि विमानस्थलमा उसले गरेको काम, अनुभव र आगामी योजनाका बारेमा सोधिने मन्त्रालयले जनाएको छ । 

यसबाट कसको कुन क्षेत्रमा कति क्षमता र अनुभव छ भन्ने थाहा हुनेछ । उनीहरुले विदेशमा सिकेका सीप र अनुभव सदुपयोग गरेर अरुलाई पनि स्वरोजगार बनाउन सकिने सरकारको दाबी छ ।

पाँच वर्षभित्र कामको लागि विदेश जान नपर्ने गरी देशमै रोजगारी सिर्जना गर्न भन्दै सरकारले विभिन्न योजना सार्वजनिक गरिसकेको छ । यस्ता योजनामा बेरोजगारको गणना गर्नेदेखि प्रमाणपत्र धितो राखेर ऋण दिने सम्मका कार्यक्रम परेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषण गर्दा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट फर्किएका युवाको सीप प्रमाणीकरण गर्ने र त्यसका आधारमा १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

अब विदेशमा काम गरेर फर्किनेको व्यवस्थित रुपमा तथ्याँक राख्न थालिएपछि उनीहरुको सीप प्रमाणीकरणमा पनि अझ सहज हुनेछ । 

देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै त्यसका लागि तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरेको छ ।

विदेशबाट फर्केका युवाले आफ्नो सीप देशभित्र पनि प्रयोग गर्न सक्नेछन् ।

10 Comments

  • दिनेश रेग्मी

    Sept. 8, 2018, 8:50 a.m.

    बिदेशबाट फर्किएका सङ्ग अनुभवको डायरी पल्टाएर राख्नु राम्रो हो तर सोही अनुसारको प्राविधिक तथा औद्द्योगिक बिकास पनि त हुनु पर्यो । जसले रास्ट्र समृद्ध हुन सहयोग गर्छ।

  • Jayaram

    Sept. 6, 2018, 7:01 p.m.

    ज्वाईं पाले जसरी पालेका छन् , केहि पनि सिकिएन नेपाल सरकार !!

  • श्याम भुजेल

    Sept. 6, 2018, 5:26 p.m.

    खै केभन्नु र हजुर हाम्रो देशमा मुखले मात्र भन्छन ब्येबहारमा कहिले उतार्दैनन राजनीति गरेर भाषण गर्नेहरुको कसरी बिश्वास गर्नु।

  • Prachand mahara

    Sept. 6, 2018, 5:22 p.m.

    सोधपुछ का साथसाथै लौ है तिमिले फलानो काम सिक्नु भएछ नेपाल मा नि यो गर्न सकिन्छ है भनेर सुझाव सल्लाह दिदा अझै राम्रो !!!!!!!!

  • डम्बर तुम्बापो

    Sept. 6, 2018, 4:26 p.m.

    कार्यसोच ठीकै हो । नेपालको राजनैतिक डामाडोलको कारण नै हुन् अधिकांश युवाहरु विदेशिनु बाध्य भएका । यसमा कतिको जीवनयापन सहज पनि भैरहेको छ त कतिको अझै भद्रगोल पनि बनेको छ । बिदेशिएर अार्थिक सुधार हुन नसकेका युवाहरु पनि धेरै छन् जसले स्वदेश फर्केर पनि केही गर्न नसक्ने अवस्थालाई पनि कुनै प्रकारले जीवन धान्न सहज हुने सुविधाबारे सोच बनाए धन्य हुनेथिए लाखौं अभागि युवाहरु ।

  • Prakash Sigdel

    Sept. 6, 2018, 3:07 p.m.

    श्रम तथा रोजगार मन्त्रालयको यो प्रयास प्रसंशनीय छ | अव विदेशवाट फर्केका युवा युवतीहरुलाई उनीहरुको शिप र क्षमता अनुसार स्वदेशमै रोजगारी दिएर अन्य वेरोजगारहरुलाई यिनै मार्फत शिप समेत हस्तान्तरण गर्दै सीपयुक्त जनशक्ति तयार गर्नुपर्दछ |

  • लाल.

    Sept. 6, 2018, 2:54 p.m.

    यो राम्रो काम हो यसको समान गरनु पारछा

  • नारायण सुयल

    Sept. 6, 2018, 2:26 p.m.

    त्याे अलिक मन पर्दाे प्रश्न भएन्, परदेशकाे ५१° मा पसिनामा दिन रात नुहाएर गहुँ काे राेटि चपाएर ताताे पानी सँग घुटुक्क निल्दाकाे पीडा हामी अाफै सँगै छ। दुई चार सयकाे केहि सामान लिएर अाउदा कर लगाउन तम्तयार भएर बसेका उनिहरुले यस्ता प्रश्न सुहाउदैन् , बाेरा अनि सुट्केश भरि सुन भरेर त्यहि बाटाे अाउदा कति किलाे सुन कति पैसाकाे हाे? , के का लागि अनि कसले ल्यायाे भनेर एक वचन साेधे? कसैले ! लाज नभए पछि जे गर्दा पनि हुने रहेछ, अाफ्नाे देशमा केे काम सिकेर जानुहुदैछ भनेर साेध्नु त परै जाअाेस् , अर्काकाे देशमा बाँचे अाकासमा , मरे बाकसमा भनेर गएका परदेशीलाई के सिक्याै भनेर साेध्ने! हाे म भन्छु - मैले परदेश बसेर दशैकाे दिन खबुस ( गहुकाे खस्राे राेटी ) अनि दहि खाए, दुख सिकेर अाए कतारकाे ५१ ° काे अनुभव सिकेर अाए, घर परिवारकाे दिन रातकाे सम्झना अनि चिन्ता सिकेर अाए, साहुकाे ऋण तिर्न परदेशिएकाे एक पात्रकाे कथा सिकेर अाएर , मेराे घरकाे दुई छाक टार्न , अनि पहाडकाे घरमा नुन र अाटाे किन्नलाई रगत र पसिना झिकेर अाए , हाे मैले यहि सिकेर अाए ! ल भन् उच्च अधिकारीहरु , एयरपोर्टकाे कार्य समय अबधि भर के सिक्याै? नारायण सुयल - मुग्लान बाट

  • Ram bhahadur thaoa

    Sept. 6, 2018, 2:16 p.m.

    मेरो बिचार मा यो सबै राम्रो हो तर आजकल छुट्टि मा गोयका लाई घर को भिसा लाई जो जादै आउदै गरेको छ उसलाई सरकार ले श्रम गरि दिनु पर छ घर जस्को राम्रो छ तेहि मत्र फेरि फर्केर आउ छ यो कुरा सरकार ले बुझ्न् धेरै जरुरी छ

  • सुर्य मगर

    Sept. 6, 2018, 1:23 p.m.

    राम्रो कम साथ मा लगानी पनि गरि दिन्छु भने आझा राम्रो हुन्थेयो https://namastelumbini.com/

तपाईको प्रतिक्रिया