कतारमा नयाँ कानुन : रोजगारदाताको अनुमतिबिना नै स्वदेश फर्कन पाइने

 भदौ २१, २०७५ बिहिबार १३:२४:३५ | उज्यालो सहकर्मी

कतार – कतारमा रहेका विदेशी कामदारले अब रोजगारदाताको अनुमतिबिना नै स्वदेश फर्किन पाउने भएका छन् ।

मंगलबार कतारका अमिर शेख तमिम विन हमाद अलथानीले ‘एक्जिट पेपर’सम्बन्धी कानुनलाई प्रमाणित गरेसँगै अब स्वदेश फर्किन रोजगारदाताको अनुमति लिनुपर्ने नियम खारेज भएको छ । 

यसअघि सम्झौता अवधि सकिएपछि पनि स्वदेश फर्किन रोजगारदाताको अनुमति अनिवार्य थियो । तर नयाँ नियमअनुसार रोजगादारदाताले अब कामदारलाई रोक्न पाउने छैनन् । 

रोजगारदाताले कामको प्रकृति हेरी झन्डै ५ प्रतिशत कामदारका लागि भने कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ चाहिने व्यवस्था गरेको छ । तर त्यसका लागि रोजगारदाताले श्रम मन्त्रालयलाई नामसहित उचित कारण पेस गर्नुपर्नेछ । 

कतारले सन् २०१७ जनवरी १ गतेदेखि कफला प्रणालीलाई सुधार गर्दै नयाँ नियम लागू गरेको थियो । त्योबेला कम्पनीको अधिकारमा रहेको ‘एक्जिट परमिट’ कतार सरकारले पनि दिन सक्ने गरी नियम बनाएको थियो ।

घरेलु कामदारलाई यो नियमले छुँदैन

कतारले ल्याएको नयाँ नियमले घरेलु कामदारलाई भने सहयोग नगर्ने भएको छ । घरेलु कामदार कानुनभन्दा बाहिर भएको भन्दै श्रम नियममा आएको सुधारले उनीहरुलाई सहयोग नगर्ने कतारले जनाएको छ ।

धेरै घरेलु कामदारले दुव्र्यवहार सहेर काम गरिरहे पनि उनीहरुले रोजगारदाताको अनुमतिबिना देश छाड्न पाउने छैनन् । 

कतारले विदेशी कामदारका लागि गरेको यो कदम निकै सकारात्मक भएको सरोकारवालाले बताएका छन् । तर दुव्र्यवहार सहेर काम गरिरहनु पर्ने बाध्यतालाई हटाउन कतारले घरेलु कामदारको हकमा पनि यो नियम लागू गर्नुपर्ने आवाज उठेको छ । 

नयाँ नियमअनुसार स्वदेश फर्किने प्रक्रिया 

१. आपतकालीन समस्या आइपरेमा वा वार्षिक विदाका लागि आफ्नो सम्झौताअनुसार निवेदन दिन सकिन्छ । 

२. धेरैजसो रोजगारदाताले अनुमति नदिने गरेको र आफ्नो हकमा पनि त्यसै भएमा ‘एक्जिट परमिट’ कमिटीमा गएर निवेदन दिन सकिने छ । 

३. कतारको ‘ई गभरमेन्ट सर्भिस पोग्राम’, ‘गभरमेन्ट सर्भिस् कम्प्लेक्स’ र कतारका जुनसुकै प्रहरी चौकीमा पनि निवेदन दिन सकिने छ ।

४. निवेदन प्राप्त भएको ७२ घण्टाभित्रमा नै समस्याको सुनुवाई हुनेछ ।  

सम्झौता सकिनुअघि नै घर फर्किन गृह मन्त्रालयमा निवेदन

सम्झौता सकिनुअघि नै कतार छाड्न चाहेमा अब कतारको गृह मन्त्रालयलाई राजीनामा दिनुको कारणसहति निवेदन दिनु पर्नेछ । गृह मन्त्रालयले अनुमति दिएपछि सम्झौता सकिनुअघि नै पनि स्वदेश फर्किने अनुमति पाइनेछ । 

कतारमा जस्तै खाडमाी अरु देश साउदी, जोर्डन, लेबनानमा पनि स्वदेश फर्किन रोजगारदाताको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था छ । यो व्यवस्थाले समस्यामा पर्दा पनि ‘एक्जिट परमिट’ नहुँदा स्वदेश फर्किन नपाउने बाध्यता थियो । 

यही नियमका कारण धेरै रोजगदारदाताले कामदारलाई स्वदेश फर्किन नदिने गरेका थिए । तर यो नियमले अब कम्पनीले अनुमति नदिएर घर फर्किन नपाएका नेपाली कामदारले पनि फाइदा लिन सक्नेछन् ।

रोजगारदाता र कामदारबीच प्रत्यक्ष सम्झौता हुने 

नयाँ नियम अनुसार अबदेखि रोजगारदाता र कामदारबीच प्रत्यक्ष सम्झौता हुनेछ । कतिपय कतार पुगेका नेपाली ‘सप्लाई कम्पनी’मा परेर दुःख पाएको गुनासो आइरहन्थ्यो । अब कतारको यो नयाँ नियमले यो समस्यालाई समाधान गर्ने विश्वास गरिएको छ । 

नेपाल सरकारले पनि कतार जाँदा म्यानपावर धाउन नपर्नेगरी ‘रोजगारी भिलेज’को व्यवस्था गर्ने बताउँदै आएको छ । यसोहुँदा रोजगारदाता स्वयमले नेपाल आएर कामदार लैजानेछन् । 

कतारको प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयका अनुसार धेरैजसो भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स र बंगलादेशी नागरिक काम गरिरहेका छन् ।

धेरैजसो सन् २०२२ को विश्वकपमा लागि तयार भइरहेका रंगशाला निर्माणको क्षेत्रमा काम गरिरहेका मन्त्रालयले जनाएको छ । कतारमा चारलाख भन्दा धेरै नेपाली छन् ।

 
 

1 Comments

  • Sagar Bhandari

    Sept. 6, 2018, 2:14 p.m.

    मलाई इमर्जेन्सी नेपाल जानुपर्ने छ, तर कम्पनीले पठाएको छैन /

तपाईको प्रतिक्रिया