वैदेशिक रोजगारीका सबै विवरण अब अनलाइनमा

 भदौ २५, २०७५ सोमबार १७:२:३८ | उज्यालो सहकर्मी

काठमाडौं - वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने उदेश्यले सरकारले सबै विवरण अनलाइनमा राख्ने काम सुरु गरेको छ। सरकारले सञ्चालनमा ल्याएको एकीकृत अनलाइन प्रणालीमा वैदेशिक रोजगारीमा जाने तथा गएर फर्किने कामदार र रोजगारीका सबै विवरण उल्लेख छ।

यो प्रणालीको सोमबार औपचारिक सुरुवात भएको छ । तर असोज १६ गतेदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

 

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारका गुनासा तथा मुद्दा समाधान गर्ने र सबै विवरण एकै ठाउँमा राख्ने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइन प्रणालीको  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले औपचारिक रुपमा सुरुवात भएको घोषणा गर्नुभयो।

सिंहदरबारमा भएको कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको बताउनुभयो।

अनलाइन प्रणालीमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका सबैको विवरण तत्काल थाहा पाउन सकिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सबै विभाग, कार्यालय र नियोग एउटै अनलाइन प्रणालीमा जोडिएकाले कामदारको पासपोर्ट नम्बर कम्प्युटरमा क्लिक गर्ने बित्तिकै एक–पटकमा सबै विवरण हेर्न मिल्नेछ।

 

यस अनलाइन प्रणालीअन्तर्गत श्रम मन्त्रालय र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण संस्था तथा अभिमुखीकरण केन्द्र जोडिएका छन्। वैदेशिक रोजगारीमा जान लागेका र काम गरिरहेका कसैले उजुरी वा गुनासो गरेमा पनि अनलाइन सिस्टमबाट थाहा पाउन सकिनेछ। 

अनलाइन प्रणालीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारबाट नेपाल फर्कनेको विवरण समेत संकलन सुरु हुनेछ । यस प्रणालीबाट मन्त्रालय अन्तर्गतका कुन संस्थाका फाइल तथा काम कहाँ पुगेको छ र प्रक्रिया के भैरहेको छ भन्ने जानकारी पनि लिन सकिने मन्त्रालयले जनाएको छ।

साथै मन्त्रालयले वैदेशिक रोजगारी नामको मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरेको छ । 

तपाईको प्रतिक्रिया