धादिङमा ८३ हजारलाई वैदेशिक रोजगार सम्बन्धी सूचना दिइयो, अब स्थानीय तहले गर्नुपर्नेमा जोड

 भदौ २६, २०७५ मंगलबार १४:४३:७ | उज्यालो सहकर्मी

रामकुमार थापा/धादिङ ।

धादिङ – जिल्लाका झण्डै ८३ हजार जनालाई वैदेशिक रोजगार सम्बन्धी सूचना दिइएको छ । 

चन्द्रज्योति एकीकृत ग्रामिण विकास समाज सिड्स धादिङले सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत ४ वर्षको अवधिमा ८२ हजार ५३७ जनालाई सूचना तथा परामर्श दिइएको सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।

त्यस्तै सूचना केन्द्रमा वैदेशिक रोजगारका कारण ठगीमा परेका, सम्पर्कबिहीन भएका, सम्झौता अनुसार काम र तलब नपाएका र उद्धार लगायतका ४५४ वटा निवेदन परेका छन् । ती मध्ये ३६७ वटा समस्या समाधान भएको कार्यकारी निर्देशक रुपाखेतीले बताउनुभयो । 

यक्तिगत मनोपरामर्श सेवा १५१ जनालाई दिइएको र ४१८ जनामा समूहमा मनोपरामर्श सेवा सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले धादिङमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान र व्यवस्थापनका लागि स्थानीय निकायले नै भूमिका खेल्ने बताउनुभएको छ । 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सामी परियोजनाले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले अब स्थानीय तहले आ–आफ्नो नीति तथा कार्यक्रम मार्फत काम गर्नुपर्नेमा जोड दिनुभयो । 

सिड्स धादिङले सामी परियोजना अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीका लागि विभिन्न काम गर्दै आइरहेको थियो । परियोजना सकिनै लाग्दा अब स्थानीय निकायले नै यसलाई प्रथमिकता दिने उहाँको भनाई थियो । 

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  जिल्ला प्रहरी प्रमुख लगायत स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिती थियो ।

परियोजना सञ्चालनका लागि ४ वर्षको अवधिमा दुई करोड ३५ लाख ५३ हजार ६९ रुपैयाँ खर्च भएको कार्यकारी निर्देशक रुपाखेतीले जानकारी गराउनुभयो ।
 

तपाईको प्रतिक्रिया