आफ्नै ठाउँमा गरेको दुःखले विदेशको कमाइलाई जित्यो

 भदौ २९, २०७५ शुक्रबार | मुना हमाल
unn.prixa.net

सुर्खेत - १२ वर्षअघिको कुरा हो, आफन्तको घरमा जान्छु भनेर हिँडेका श्रीमान एकाएक बेपत्ता भए । घरमा तीन छोरी र एक छोरा सानै थिए । श्रीमान बेपत्ता भएपछि घरको सबै जिम्मेवारी आफ्नै काँधमा आयो । आफूसँग केही रोजगारी थिएन । सुरुमा सबैले सहयोग गरे । कति दिन अरुले सहयोग गर्न सक्थे र !

वीरेन्द्रनगर १३ करेखोलाकी कम्मुदेवी नेपालीले त्यसपछि विदेश जाने योजना बनाउनुभयो र कुवेत पुग्नुभयो । 

‘दाइलाई भेट्न जान्छु भनेर भनेर घरबाट जानु भएको हो । अहिले १२ वर्ष भइसक्यो । केही अत्तोपत्तो छैन्’ उहाँले भन्नुभयो, ‘घरको आर्थिक अवस्था कमजोर थियो । चार छोराछोरी र आफू कसरी पालिने, त्यसपछि विदेश जाने निधो गरें ।’ उहाँले ऋण गरेर कुवेत गएको बताउनुभयो । 

उहाँले कुवेतमा दुई वर्ष बिताउनुभयो । विदेशमा दुई वर्ष कमाएको पैसा विदेश जाँदा लागेको ऋण तिर्न र छोराछोरीलाई खर्च पठाउन ठिक्क भयो । दुई वर्ष विदेशमा कमाएको पैसा घर आउँदा सकियो । उहाँले पैसा बचाउन सक्नु भएन् ।  

नेपाल आएपछि छोराछोरीको मायाले फेरि विदेश जान सक्नुभएन् । उहाँले नेपालमै छोराछोरीसँगै बस्ने र केही गर्ने सोच बनाउनुभयो । त्यसपछि एउटा डोको बोकेर गाउँघरमा तरकारी फलफूल संकलन गर्न हिँड्नुभयो । 

‘अरुको ठाउँमा गएर काम गर्नुभन्दा छोराछोरीसँगै घरमा केही गर्छु भन्ने सोचें, मसँग कति पनि पैसा थिएन । विदेशबाट आउँदा खाली हात आएको थिएँ । त्यहाँ महिनाको १० हजार रुपैयाँसम्म मात्र हुन्थ्यो’ उहाँले भन्नुभयो, ‘विदेशबाट आउँदा पनि पैसा थिएन् । एकजना दिदीबाट व्यापार गर्नका लागि पाँच हजार ऋण लिएर यही व्यवसाय सुरु गरें ।’ 

गाउँघरमा तरकारी,  फलफूल संकलन गरेर उहाँले वीरेन्द्रनगर बजारमा बेच्न थाल्नुभयो । सुरुमा उहाँलाई हिसाबकिताब गर्न नआउँदा समस्या हुन्थ्यो । साथीहरुबाट उहाँले हिसाबकिताब गर्न जान्नुभयो । पछि उहाँ एक्लै व्यापार गर्न सक्ने हुनुभयो । 

उहाँले यही काम गरेर पाँच जनाको परिवार पाल्न सक्ने हुनुभयो ।  सुरुमा उहाँले व्यवासाय गर्दा लिएको पाँच हजार ऋण तिरी घर खर्चसम्म चलाएर एकै महिनामा १० हजार फाइदा गर्नुभयो । यसले उहाँलाई अब आफ्नै ठाउँमा केही गर्न सक्छु भन्ने हौसला आयो । 

उहाँ विदेश जाँदा कान्छी छोरी चार वर्षको मात्र थिइन् । पहिले उहाँले विदेशमा छोराछोरी हेर्ने काम पाउनु भएको थियो । छोराछोरीको धेरै याद आउँथ्यो । 
‘दुई वर्षको लागि मात्र कुवेत गएकोे थिएँ, त्यसपछि घर फर्किएँ । आफ्नै छोराछोरी सँगै बसेर सुखदुःख गर्ने निधो गरेको हुँ’ उहाँले भन्नुभयो । 
उहाँले अहिले आफ्नै घरमा पसल समेत राख्नु भएको छ । बिहान डोकामा तरकारी र फलफूल लिएर आउने र साँझ घर फर्किने समयमा पसलमा चाहिने आवश्यक सामान लिएर जानुहुन्छ । 

‘अहिले त बाटो गयो । धेरै सजिलो भएको छ । पहिले हिँड्नुपर्ने हुन्थ्यो’ उहाँले भन्नुभयो, ‘अझै पनि नियमित रुपमा गाडी चल्दैनन् । अझै पनि कहिलेकाहीँ हिँडेर नै व्यपार गर्नुपर्र्छ ।’

उहाँले अहिले घरखर्च कटाएर पसल र डोकोको व्यापारले मासिक १० देखि १५ हजार रुपैयाँसम्म फाइदा गर्नुहुन्छ । वेपत्ता भएका श्रीमान अहिलेसम्म घर फर्किनु भएको छैन् । ‘आफैंले दुःखसुख गरेर छोराछोरी पढाएँ, हुर्काएँ । कहिलेकाहीँ श्रीमान फर्केर आउनुहुन्छ कि भन्ने पनि लाग्छ । जिउँदो हुनुहुन्छ वा मरेको केही पनि थाहा छैन’ उहाँले खुइय सुस्केरा हाल्नुभयो ।

चिन्ता र दुःख भए पनि उहाँले हिम्मत हार्नुभएको छैन । आफूजस्तै महिलालाई उहाँ व्यापार, व्यवसाय गर्न सुझाव दिनुहुन्छ । ‘विदेश किन जानुपर्‍यो । आफ्नै ठाउँमा केही गर्नुहोस्’ उहाँ भन्नुहुन्छ, ‘कोही दिदीबहिनीका श्रीमान बाहिर विदेश हुनुहुन्छ । उहाँले कमाएको पैसा सही सदुपयोग गर्नु सुझाव दिन्छु । आफैं कमाई गर्न सक्ने हुनुपर्छ ।’
 

मुना हमाल

सुर्खेतका उज्यालो सहकर्मी मुना हमाललाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया