साउदीबाट आराम गर्न फर्केका प्रल्हाद नराम्ररी थलिए

 असोज १८, २०७५ बिहिबार १०:४६:२ | सन्जिता देवकोटा

काठमाडौं – धादिङका प्रल्हाद अर्यालले त्रिवि शिक्षण अस्पताल धाउन थालेको ३ वर्ष भयो । अस्पताल धाउँदै पिच्छे साहु थपिएका छन् । तर रोग निको हुने संकेत छैन । औषधि र स्लाइनले धानेको छ प्राण । 

अस्पतालमा भर्ना भएका धेरै बिरामी निको भएर घर फर्किने दिनको प्रतिक्षामा छन् । अरु बिरामी झैं निको भएर ठमठम हिँड्दै घर फर्किन पाउने आश पालेर बेड नम्बर ५२२ पल्टिरहेका छन् प्रल्हाद पनि  । 

ज्यान रोगले गलाएको छ । मन ऋणले । ऋणले खाएको मन भर्न परदेश पनि पुग्नुभएको थियो प्रल्हाद । तर भाग्यमानीलाई जहीँतहीँ, अभागीलाई कहीँ न कहीँ भनेझैं भयो उहाँलाई । 

काम र कम्पनी राम्रो हुँदा पनि स्वास्थ्यले नै साथ दिएन । ‘जाँदा सद्दे ज्यान गएको हो, समयले नै साथ दिएन भनौं, दुई महिना भन्दा काम गर्न पाइएन’ भित्तातिर हेर्दै प्रल्हादले भन्नुभयो ।

त्रिवि शिक्षण अस्पतालमा भिडभाड छ । शान्त हुनुहुन्छ, प्रल्हाद र पत्नी गीता अर्याल । औषधि किन्न बाहिर निस्केकी गीतालाई न भिडसँग वास्ता छ, न मध्यान्हको घामको प्रवाह । मध्यान्हको घामको भन्दा चर्को त मनमा पीडा छ गीताको । 

‘चाँडै निको भए त हुने थियो तर खै, यो पाली भर्ना भएकै १५ दिन भइसक्यो,’ गीताले खुईय गरेर सुस्केरा हाल्नुभयो । 

साउदी जाँदा सद्दे ज्यान

अस्पतालको ढोका ढक्ढक्याउनु परेको साउदी गएपछि हो । प्रल्हाद लामो समयसम्म त्रिवि शिक्षण अस्पतालमा बस्नुपरेको यो दोस्रो पटक हो । रोग नयाँ हैन । पुरानै व्याथाले छाडेको छैन, उहाँलाई । 

कुरा २०७२ फागुनको हो । प्रल्हादको विदेश जाने सोच थिएन । पत्नी गीताले खेतीपाती भ्याउनुहुन्थ्यो । प्रल्हादले सात लाख रुपैयाँको लगानीमा कुखरा व्यवसाय थाल्नुभयो । 

कुखुरा बढिरहेका थिए । कुखुरा बढ्दै जाँदा प्रल्हादका सपना पनि बढ्न थालेका थिए । तर ठूलो लगानीमा सञ्चालन गरेको कुखुरा व्यवसाय फस्टाउन पाएन । रोग लागेर फर्मका सबै कुखुरा मरे । ‘सात लाख लगानीमा सुरु गरेको व्यवसाय एकै पटक झ्वाम भयो,’ प्रल्हाद भन्नुहुन्छ, ‘अनि मात्रै विदेश जाने सोचेको हुँ ।’

कुखुरा व्यवसायले डुवाएको सात लाख रुपैयाँ उकास्न प्रल्हादले अरु डेढ लाख रुपैयाँ ऋण काढ्नुभयो । र २०७२ सालको फागुनमा साउदी उड्नुभयो । 

होटलमा स्वीपरको काम । तलब बेसिक ९५० र भत्ता २५० गरी १२ सय रियाल मासिक कमाउनुहुन्थ्यो । सम्झौता अनुसार नै थियो सबै कुरा । तर विदेशबाट कमाउने भाग्यसँगको सम्झौता चाहिँ मिलेन भनौं । प्रल्हाद साउदी पुगेको दुई महिनामै अस्पताल भर्ना हुनु पर्‍यो । 

‘काममा जान लुगा लगाएँ, पिसाव लागेको थियो, ट्वाइलेट गएँ, निस्किएर बाहिर यसो टेकेको जस्तो लाग्छ, त्यही बेहोस भएछु, होस आउँदा अस्पतालमा थिएँ,’ प्रल्हाद त्यो क्षण सम्झनुहुन्छ । 

विदेश जानुअघिको मेडिकलमा पनि फिट देखिएको स्वास्थ्य किन अनफिट भयो भन्ने कुरा प्रल्हादले अहिलेसम्म बुझ्नुभएको छैन । 

‘लड्दा टाउकोमा रगत जमेछ, अपरेसन भयो, तीन महिना अस्पताल बसें, कम्पनीले अरु ६ महिना आराम गरेर आइज भनेको थियो, यहाँ आएपछि त झन के भयो भयो,’ प्रल्हाद पछुतो मान्नुहुन्छ । 

पिलोलाई समयमा नचिन्दा जिन्दगी नै थिलथिलो भयो

साउदीमा एकपटक लड्दा जिन्दगी नै डगमगाउला भन्ने उहाँको कल्पना भन्दा परको कुरा थियो । तर नसोचेकै भयो । आराम गर्न घर फर्किएपछि प्रल्हादलाई अर्को रोग थपियो । 

घर फर्किएको दुई महिनाजस्तो भएको थियो । मलद्वार दुख्न थाल्यो । 

‘तीन दिन जति लगातार मलद्वार दुख्यो, गाउँकै अस्पताल गइयो, अस्पतालमा पायल्स भएछ भनेर पायल्सकै औषधि दिए, तर निको भएन, फेरि गएँ, फेरि पनि औषधि थपिदिए’ प्रल्हाद त्यो बेलाको पीडा सम्झदै भन्नुहुन्छ, ‘१० दिनपछि त उभिनै नसक्ने भएँ, श्रीमतीले काठमाडौं ल्याइन् ।’

गाउँको हेल्थपोस्टले दिएको पायल्सको औषधिले गलायो भन्ठानेर त्रिवि शिक्षण अस्पताल आइपुग्दा रोग अर्कै देखियो । मलद्वारमा निस्केको पिलो पाकेर पेटभित्र इन्फेक्सन भइसकेको डाक्टरले बताए । 

२०७३ असोज १४ गते त्रिवि शिक्षण अस्पतालमा उहाँको अपरेशन भयो । १५ दिन आइसियूमा बस्न पर्‍यो । अनि, तीन महिना त अस्पतालकै बेडमा बिताउनुभयो प्रल्हादले । 

‘मलद्वारबाट दिसा गर्न नहुने भयो, पेटबाट दिसा निकालेर कोलोस्टोमी ब्याग राखिदिए डाक्टरले,’ प्रल्हादलाई पेटमा राखिएको ब्याग देखाउँदै भन्नुहुन्छ, ‘तीन वर्ष हुन लाग्यो यो राखेको, यो पाली भित्र राखिदिन्छन् कि भनेको खै अपरेशन सक्सेस भएन रे ।’

‘अपरेशन सक्सेस’ नहुँदा जिन्दगी नै ‛अनसक्सेस्′ हुने त हैन । अस्पतालको बेडमा पल्टिएर दिन बिताउदा उहाँलाई डर लाग्छ । 

कोलोस्टोमी ब्याग पाँच सात दिनमा फेर्न पर्छ । एउटा ब्यागको मूल्य १३ सय जति पर्छ । 

ऋणको भारी कहिले बिसाउने

मियो नै भाँच्चिएपछि तीन छोराछोरीको भविष्य के होला । घर धितो राखेर निकालेको ऋण कसरी तिर्ने होला । दिसाको पोको कम्मरमा बोकर कहिलेसम्म हिँड्ने । प्रल्हादको मन भतभती पोल्छ । 

‘कृषि विकास बैंकमा खेतबारी धितो राखेर लिएको डेढलाख रुपैयाँको ब्याज पाकिरहेको छ, गाउँका सहकारी संस्थाबाट पनि ऋण लिएको छ,’ पत्नी गीता सुनाउनुहुन्छ । गीतालाई जम्मा कति ऋण छ भनेर पनि हिसाव गर्न मन लाग्दैन । 

ऋणको बारेमा सोचेर पनि के गर्नु अहिले तिर्ने अवस्था छैन । श्रीमानको ज्यान निको भइदिए जीवनभरी मागेर भएपनि ऋण तिर्थें भन्ने लाग्छ गीतालाई । 

बेलाबेलामा सहकारी संस्था बैंक र ऋण दिने आफन्तले फोन गरिरहन्छन् । ‘उहाँलाई त सुनाउने गरेकै छैन्, उता साउदीमा पनि बिरामी भएकाले मलाई त डर लाग्छ, केही हुने हो कि भन्ने लाग्छ,’ गीताले बिरामी पतिले नसुन्ने गरी मनको गाँठो फुकाउनुभयो । 

‘यो पाली आउँदा पनि डेढ लाख रुपैयाँ ऋण काढेरै उपचार गराउन आएको हुँ,’ गीता भन्नुहुन्छ, ‘अझै उपचारका लागि पैसा लाग्छ जस्तो छ, तर कहाँबाट ल्याउने ।’
गाउँका दाजुभाइले कहिलेकाहीँ सहयोग गर्छन् । गीतालाई अहिले गाउँकाले जस्तै अरुले पनि सहयोग गरिदिए उपचारमा केही सहज हुन्थ्यो कि भन्ने आश छ । 

‘नाफाको समय बाँचिरहेछु’

यी ३ वर्षमा प्रल्हादको मन फेरिएको छ । अब उहाँलाई विदेश गएर कमाउन सक्छु जस्तो लाग्दैन । उहाँलाई अहिले लाग्छ, ‘म त दीर्घरोगी नै भएँ, तर छोराछोरीलाई पढाउन र बढाउन पाए हुन्थ्यो ।’

बेलाबेला प्रल्हाद सोच्नुहुन्छ – ‘म त नाफाको समय बाँचिरहेको छु । ’

‘साउदीमा राम्रो उपचार नपाएको भए उतै पो बित्थेँ कि ।’

‘धादिङमा बिरामी भएर ढल्दा पत्नीले समयमा अस्पताल नल्याएको भए ?’

घरी सोच्नुहुन्छ ‘मै नभए बुढी आमाको के होला ?’

प्रल्हादका बुवा सानैमा बित्नुभयो । उहाँ १० वर्षको हुँदा काठमाडौं लागेका दाइ पनि घर फर्किएनन् । 

नखोज्नुभएको हैन प्रल्हादले तर जानेर वा नजानेर बाटो बिराइसकेका दाइको काठमाडौं शहरमा पत्तो मिलेन । तीन छोराछोरी र ६५ वर्षिया आमाको भरोसा भनेको प्रल्हाद नै हुनुहुन्छ । 

साहुले कुन दिन घरखेत खाने हुन पत्तो छैन प्रल्हाद दम्पत्तिलाई । रोगले ज्यान नखाओस्, यत्ति कामना छ प्रल्हादको । ‘उपचार खर्च जुटाउने सहयोगी हात जुटे निको भएर गुन र ऋण तिर्न आफैं जुट्थें,’ छुट्टिने बेलामा प्रल्हादले भन्नुभयो । 


 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया