साउदीको जेलमा रहेका गोरखाका कुमार रानालाई छुटाउन आवश्यक रकम जुट्यो

 असोज १८, २०७५ बिहिबार १७:४४:८ | किरण लोहनी
unn.prixa.net

गोरखा – घाइतेले मागेको क्षतिपूर्ति रकम तिर्न नसक्दा साउदी अरेबियाको जेलमा रहेका गोरखाका कुमार राना नेपाल फर्कने निश्चित भएको छ ।  

भिमसेन थापा गाउँपालिका –७, बोर्लाङका रानालाई घर फर्काउन आवश्यक रकम जुटेपछि राना स्वदेश फर्कन लाग्नु भएको हो । सन २०१६ अप्रिल २४ अर्थात २०७३ वैशाख ४ गते कारमा सवार साउदी नागरिक खलिद अल ओतायवीलाई घाइते बनाएको भन्दै चालक कुमारलाई २०७४ कात्तिक महिनामा पक्राउ गरेर साउदी प्रहरीले हिरासतमा लिएको थियो ।  

साउदी अदालतको फैसलापछि ३९ वर्षीय कुमारलाई गएको जनवरी अर्थात माघ पहिलो हप्ता साउदीको अफिफ सेन्ट्रल जेल चलान गरिएको थियो । घाइतेले २ लाख साउदी रियाल ब्लडमनी तिरे मुद्धा फिर्ता लिने बताएपछि रकम संकलन सुरु भएको हो ।  रानाको जीवन बचाउन वैशाखबाट सुरु गरिएको रकम संकलन अभियान अन्तरगत आवश्यक रकम जुटेको हो । उहाँलाई घर फर्काउन ६२ लाख ७४ हजार रुपैयाँ अर्थात २ लाख साउदी रियाल साउदी अरेबियास्थित नेपाली दुतावासमा पठाउन परराष्ट्र मन्त्रालयमा बुझाइएको अभियानका संयोजक कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । 

‘२ लाख ९४ हजार साउदी रियाल चाहिनेमा कुमारले काम गर्ने कम्पनीले ५० हजार रियाल व्यहोर्‍यो, घाइतेले ४४ हजार रियाल छुट गरे, बाँकी रकम हामीले आज जम्मा गर्‍याैँ’, ढकालले भन्नुभयो, ‘अब उनी घर फर्कने बाटो खुल्यो ।’ 

रकम संकलन अभियानमा नेपाल मगर संघमार्फत २८ लाख र अन्य विभिन्न संघसंस्था मार्फत १३ लाख संकलन भएको थियो । बाँकी रकम भने चन्दा संकलन गरेर जुटाइएको ढकालको भनाई छ । 

साउदी अरबमा आफैले चलाएको गाडी दुर्घटना हुँदा घाइतेले मागेको क्षतिपूूर्ति तिर्न नसक्दा कुमार राना त्यहाँको जेलमा हुनुहुन्छ । कुमार व्यक्तिगत श्रम स्वीकृतिमा २०७१ सालमा साउदी अरबको खालिद एसअल कम्पनीमा हेल्पर पदमा काम गर्न जानु भएको हो । 

परराष्ट्र मन्त्रालयका कर्मचारीले रानालाई छिटो जेलमुक्त गर्न दूतावाससँग समन्वय गर्ने बताएको रकम संकलन अभियानका संयोजक ढकालले जानकारी दिनुभयो । ‘उताको सबै कागजी र अदालती काम फटाफट भयो भने दसैँअघि नै उनी घर आइपुग्लान्’ उहाँको भनाई छ । 

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया