विदेशका तीतो पाठले स्वदेशमै मीठो सपना बुन्दै बुद्धिराज

 कात्तिक १७, २०७५ शनिबार | सन्जिता देवकोटा

काठमाडौं – ‘मैले आफ्नो भाग्य आफैंंले बिगारेको हुँ,’ आफ्नै पौरखले बनाएको मीठो वर्तमानको कुरा सुरु गर्दा ओखलढुङ्गाका बुद्धिराज राईले विगतका तीता क्षण सम्झनुभयो । 

कतिले भन्छन्, मान्छेले आफ्नो भाग्य जन्मिदै लिएर आएको हुन्छ । तर बुद्धिराज यो भनाईमा पटक्कैै विश्वास गर्नुहुन्न । उहाँलाई लाग्छ, मान्छेले आफ्नो भाग्यका रेखा आफ्नै पौरखले कोर्छ र कहिलेकाहीँ बिगार्छ पनि । 

आफ्नो भाग्य आफैं लेख्न उहाँ मलेसिया, साउदी र बहराइन पुग्नुभयो । आफ्नै गाउँघर र काठमाडौं शहरमा पनि निकै मेहनत गर्नुभयो । तर समयको खेल भनौं या परिस्थितिको झेल, उहाँले सोचेजस्तो आफ्नो भाग्य रेखा कोर्न सक्नुभएन । त्यसैले बुद्धिराजलाई आफ्नो भाग्य आफैं बिगारें भनेर पछुतो लाग्छ ।

सानैदेखि संघर्ष

सामान्य परिवारमा जन्मिएका साईंलो छोरो । उतिबेला गाउँमा लेखपढ गर्नेे चलन थिएन । गोठभरी गाईबस्तु । स्कुल जाने समयमा बुद्धिराजका साथीहरु गाईबस्तु लिएर जंगल हिँड्थें । बुद्धिराजले स्कुल जान घरमा बिद्रोह गर्नुपर्‍यो । 

‘स्कुल गएकै निउँमा मैले कतिपटक आमाको कुटाई खाएको छु, आमाले जति कुटे पनि म स्कुल जान छोड्दैन थिएँ,’ बुद्धिराज सम्झनुहुन्छ, ‘मलाई स्कुल पठाउन दाइले निकै साथ दिनुभयो, स्कुल भर्ना हुन दाइले दिएको सात रुपैयाँ सम्झँदा अहिले पनि मन फाट्छ ।’

उहाँलाई लाग्थ्यो पढेर ठूलो मान्छे बन्छु । त्यसका लागि स्कुल जानै पर्छ । भागी भागी स्कुल जानुहुन्थ्यो बुद्धिराज । राम्रो पढ्ने सपना लिएर आफन्तको घर मोरङ पनि जानुभयो । ‘८ कक्षा मोरङमा पढ्ने भनेर गएको हुँ तर गाउँघरकै मायाले धेरै समय बस्न सकिन, घर फर्किए आएँ,’ बुद्धिराज भन्नुहुन्छ । 

२०५३ सालमा तय भयो बुद्धिराजको जिन्दगीको अर्को ‛इनिङ्स′ । मामाको साथमा पोखरा जानुभयो । त्योबेला १५ वर्षको हुनुहुन्थ्यो बुद्धिराज । 

पोखरामा आउने पर्यटकका सामान बोकेर पर्यटक सँगसँगै  हिँड्नुुभयो । कमाई राम्रो हुन्थ्यो । दिनकै ९ सय रुपैयाँ दिन्थे पर्यटकले । तर ४५ दिनभन्दा त्यो काममा उहाँको मन बसेन । गाउँ नै फर्किएर पढ्नुभयो । 

गणित र अंग्रजी बाहेकका विषयमा कहिल्यै दोस्रो हुनुभएन पढाईमा । तर अंगे्रजी र हिसाब राम्रोसँग नजान्दा जिन्दगीकै हिसाब किताब पनि नमिलेझैं भयो ।
‘एसएलसी पास गर्न सकिन, त्यसपछि बिहे गरेँ, अनि त विदेश गएको हुँ,’ बुद्धिराजले विदेशको यात्रा तय हुँदाको क्षण सम्झनुभयो । 

विदेशमा पैसा टिप्न नमिल्ने रहेछ

खेतीपातीले पेट भरिन्थ्यो । नुनतेल किन्न कुखरा, बाख्रा पाले पुग्थ्यो । तर बुद्धिराजलाई सानो छँदा आफूले भोगेका दुःख आफ्ना सन्तानले नभोगुन भन्ने थियो । खेतीपाती र कुखुरा बाख्रा पालेर हुने कमाइभन्दा अलिक धेरै कमाउनु थियो । फेरि कमाउन गाउँमा हैन, विदेश नै हानिने फेसनजस्तै चलेको थियो त्योबेला गाउँमा । 

१२ वर्षअघि मलेसियाको उडान भर्नुभयो । कमाएर रमाउने, बाँकी जिन्दगी सुखले कटाउने सपना बोकेर मलेसिया पुगेका बुद्धिराज मलेसियाको काम र कम्पनीको व्यवहार देखेर निराश हुनुभयो । 

‘विदेशमा त बाटोमै पैसा टिप्न पाइन्छ होला जस्तो लाग्थ्यो तर कहाँ त्यस्तो हुँदोरहेछ र,’ बुद्धिराज सुनाउनुहुन्छ । मलेसिया पुगेको केही समयमा नै विदेशको परिभाषा बदलियो । ‘विदेश त दुखी ठाउँ पो रहेछ’ बुद्धिराजले आफूले भोगेको व्यथा पोख्नुभयो ।

विदेशबाट आएका कामदारलाई जति काम लगाए पनि हुने । सम्झौता अनुसारको तलब र काम नदिए पनि हुने । जस्तो व्यवहार गरे पनि हुने । बुद्धिराजले सम्झौता अनुसारको काम पाउनुभएन । सोनी कम्पनीमा मेसिनबाट टिभीका रिमोटमा अक्षरहरु छाप्ने थियो उहाँको काम । 

‘अक्षर मिलाउदै थिएँ, अटोमेटिकमा थिचेछु कि के हो, मेरो हात मेसिनमा पर्‍यो, झण्डै हातमै अक्षर छापिएको, यस्तो दुख्यो कि, मैले त हात छैन कि छैन लाग्यो, तर त्यस्तो केही भएको रहेनछ,’ बुद्धिराजले दुर्घटनाबाट जोगिंदाको त्यो क्षण नमिठो मान्दै सुनाउनुभयो । 

काम अनुसारको दाम मिलेन, त्यो कम्पनीमा । एक वर्ष काम गर्दा एक महिना मात्रै उहाँले आठ सय रिगिंट पाउनुभयो । अरु महिना त दुई सयदेखि तीन सयको हाराहारीमा आउँथ्यो तलब । 

काम गरेअनुसारको तलब नपाएपछि उहाँ गएको एक वर्षमै नेपाल फर्किनुभयो । र म्यापावरसँग जाँदाको लागत ७० हजार रुपैयाँ फिर्ता लिनुभयो । 

विदेशमा कमाउने सपना लिएर गएको मान्छे रित्तै फर्किंदा मन किन माथ्यो र । दुई चार महिना गाउँमा बस्नुभयो । मलेसियामा कमाउन नसक्दा रन्थनिएको मन लिएर बुद्धिराज फेरि १० वर्षअघि साउदी जानुभयो । 

साउदीको सास्ती

ग्यास प्लान्टको काममा साउदी जानुभएको थियो, बुद्धिराज । कामको बारेमा त्यति धेरै थाहा थिएन । कमाउन घर छाडेपछि परिआए जे पनि गर्छु भन्ने आत्मविश्वास थियो । 

मलेसियाको भन्दा फरक तरिकाले काम गर्ने सपना लिएर गए पनि साउदीमा समयले साथ दिएन उहाँलाई । ‘सप्लाई कम्पनी परेछ, कहिले कहाँ कहिले कहाँ हुने काम पनि, ३० महिना काम गरें, तर तलब कहिल्यै बढेन,’ बुद्धिराजले भन्नुभयो । 

साउदीमा निकै वटा कम्पनीका डुल्दा समय बित्यो । तातो घाममा ज्यान गल्यो, तर कमाएर फर्किने सपना पूरा भएन । 

६२१ साउदी रियाल थियो त्यो बेला उहाँको तलब । त्यसैबाट खान, लगाउन पर्ने । ‘तीन वर्ष नभई फर्किन पाउँदैनस् भन्यो र मात्र नभए त म ३० महिना पनि बस्दैन थिएँ,’ बुद्धिराज भन्नुहुन्छ । 

कम्पनीले अकामा (परिचयपत्र) नबनाइदिँदा जेल पनि बस्नु पर्‍यो उहाँलाई । ‘ट्वाइलेटमा लगेर थुन्यो, जिन्दगीमा भाषा नजान्नु जति गाह्रो पनि केही नहुने रहेछ, उनीहरुको भाषामा कुकुर भन्ने, कुटने, जाउ भन्छ, न मोबाइल छ, कहाँ जानु कम्ता गाह्रो भएन,’ बुद्धिराजले अकामा (परिचयपत्र) नहुँदा प्रहरीबाट पाएको सास्ती सुनाउनुभयो । 

‛यत्रो काम गर्छु, तर कमाई हुँदैन भने किन दुःख गर्नु ! बरु स्वदेशमै केही गर्छु ।′ बुद्धिराजलाई यही कुराले साउदीमा तीन वर्ष बिताउन दिएन । सात वर्षअघि घर फर्किनुभयो । 

स्वदेशको व्यवसायले पनि साथ दिएन

साउदीबाट फर्किएपछि बुद्धिराजले काठमाडौंमै केही गर्न कम्मर कस्नुभयो । साउदीमा ३० महिना बिताउँदा बचेको पैसामा थपथाप गरेर सुरु गर्नुभयो, तरकारी खेती र बंगुर पालन व्यवसाय । 

ललितपुरको थैवमा दुई रोपनी जग्गामा लगाएको तरकारी र बंगुर पालन व्यवसाय केही वर्ष त फस्टायो । तर २०७२ सालको भूकम्प र भारतले लगाएको नाकाबन्दीले उहाँको व्यवसायमा पनि असर गर्‍यो । भएभरको तागत र लागत डुबेपछि उक्सिने बाटो देख्नुभएन बुद्धिराजले । 

‘तरकारी पनि खासै नफल्ने, बंगुरका पाठाहरु पनि बिकेन, अनि दिक्क लागेर लागें फेरि कतारतिर घाम ताप्न,’ बुद्धिराजले तेस्रो पटक विदेश जानुको बाध्यता सुनाउनुभयो । 

सुख्खा लागेको तरकारी खेती र नबिकेका बंगुरका पाठा श्रीमती दौलमायाको जिम्मामा छाडेर उहाँ दुई वर्षअघि कतार लाग्नुभयो । 

तेस्रो विदेश यात्राका रुपमा कतार उड्दा उहाँ पुरै रित्तो हुनुहुन्थ्यो । रोग लागेर मरेका तरकारीझैं मरेको थियो आश । गरिरहेको व्यवसाय डुब्दाको पीडा विमानस्थलमै मिल्काउनुभएको थियो । मनमा परिवारको माया र दिमागमा काम मात्र थियो । 

‛कतारमा मृत्युलाई आँखाअघि देखें′

मलेसिया र साउदीभन्दा फरक लाग्यो उहाँलाई कतार । सुन्दर लाग्यो कतार । सन् २०२२ मा हुने विश्वकपका लागि निर्माण भइरहेको रंगशालामा काम मिल्यो । केही समय मेट्रो रेल्वे बनाउने काम पनि गर्नुभयो । साउदी र मलेसियाको मौसमको सामना गरिसकेको भए पनि उहाँलाई कतारको घामपनीसँग झिज्नु फरक लाग्यो । 

‘घाममै काम गर्नु पर्ने, फलामको काम गर्दा साह्रै गाह्रो हुन्थ्यो, मेट्रो रेल्वेमा काम गर्दा चाहिँ साह्रै दुःख हुन्थ्यो,’ बुद्धिराज कतारको कामका बारेमा थप्नुभयो, ‘फलाम बोक्दा काँधको छाला जान्थे नि ।’

मेशिन नपुग्ने ठाउँमा फलाम बोकेर उहाँकै पाइला पुग्थे ।  काममा अघि भए पनि साउदी र मलेसियामा जस्तै कमाई राम्रो भएन कतारमा पनि । ‘१२ सयकतारी रियाल थियो नि तलब त, तर फर्किने बेलामा काम तीन महिनाको तलब पाइन, जता गए पनि त्यस्तै भयो,’ बुद्धिराजले आफ्नो पीडा  पोख्नुभयो । 

काम गर्दा झण्डै ज्यानै गएन उहाँको । ‘काम गर्न भित्र छिरेको थिएँ, त्यहीबेला साथीले फाेर्कलिफ्ट उठाइहाल्यो, पख पख भन्दा पनि सुनेन क्यारे, बलैले त्यसलाई ठेलेर मात्र बचेँ, नत्र त बाकसमा पो फर्किन्थें होला,’ बुद्धिराजले त्यो डरलाग्दो क्षण सम्झनुभयो । 

तातो घाम र बेलामा माम नभनी काम गर्दा पनि रित्तै हात फर्किनु पर्‍यो । बुद्धिराज हातमा पैसा नभए पनि स्वदेशमै केही गर्ने आँट लिएर गएको भदौमा घर फर्किनुभएको छ । 

तरकारी र बुंगुरले उकास्ने आश

बुद्धिराजसँग ठूला सपना छैनन् । ३७ वर्षको उमेर हुँदासम्म स्वदेश र विदेश गर्दागर्दै आफ्नो भाग्य आफैंले बिगारे भन्ने पछुतोले भरिएको मन भर्न बुद्धिराजले स्वदेशमै केही गर्ने योजना बनाउनुभएको छ ।  

ललितपुरको थैवमा भाडामा लिएको दुई रोपनी खेतमा व्यवसायिक रुपमा तरकारी खेती गर्ने र बंगुर पालन पनि गर्ने उहाँको सोच छ । 

दुई रोपनी खेतको वर्षमा ३६ हजार रुपैयाँ भाडा तिर्न पर्छ । ‘आफ्नो देशमा कुकुर हुन पर्दैन, राजा भएर काम गर्न पाइन्छ, जेजे हुन्छ अब त यही काम गर्ने हो,’ बुद्धिराज भन्नुहुन्छ । उहाँलाई  पूर्ण विश्वास छ, अब यो व्यवसायले सोचेजस्तै साथ दिनेछ । 

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया