अवैधानिक रुपमा विदेश जाने क्रम रोक्नुपर्नेमा जोड

 असार ६, २०७५ बुधबार १२:३५:३३
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भएको वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रमका वक्ताले अवैधानिक रुपमा विदेश जाने क्रमलाई रोक्नुपर्नेमा जोड दिएका छन् । 

जुगल गाउँपालिकाको सहयोग तथा आशा नेपालको आयोजनामा वडा नम्बर ५ मा रहेको रत्नराज्य माध्यमिक विद्यालय चनौटेमा गरिएको कार्यक्रममा पछिल्लो समय गाउँपालिकाबाट विदेश जाने बढेसँगै उमेर बढाएर नागरिकता, पासपोर्ट बनाउने र विदेश जाने क्रम बढेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथी गाउँ पालिकाका उपाध्यक्ष सृजना तामाङले अवैधानिक रुपमा विदेश जाने क्रमलाई रोक्न सबै सचेत हुनुपर्ने भन्दै युवालाई गाउँमै व्यवसाय गर्न हौसला दिने खालका काम गर्ने बताउनुभयो ।

जिल्लाबाट वैदेशिक रोजगारीमा जानेमध्ये जुगल गाउँपालिकाका धेरै छन् । सङ्ख्या धेरै भएसँगै अवैधानिक रुपमा जाने सम्भावना धेरै रहेकाले यहाँ कार्यक्रम गरिएको आयोजकको भनाई छ । 

कार्यक्रममा व्यक्तिगत घटना दर्ता, उमेर बढाएर नागरिकता र पासपोर्ट बनाउँदा हुने असर बारे सामी परियोजनाका संयोजक रीना श्रेष्ठ र रिटर्नी भोलिन्टियर फुलकाजी स्याङ्वोले जानकारी गराउनुभएको थियो । यस्तै वैदेशिक रोजगारमा जाँदा ध्यान दिनु पर्ने कुरा, वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट पाइने सेवा, सीप विकास तालिम, मानव वेचविखन लगायतका विषयमा पनि जानकारी गराइएको थियो । 

विशेष अतिथी अन्तरपार्टी महिला सन्जालका पूर्व अध्यक्ष अमृता नेपालले महत्व तथा औचित्य माथि प्रकाश पार्नुभएका कार्यक्रम आशा नेपालका अध्यक्ष अम्बिका नेपालको अध्यक्षतामा थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, महिला स्वयंसेवक, वडाका जनप्रतिनिधि तथा कार्यपालिकाका सदस्य साथै विदेशबाट फर्किएका गरी ६० जना सहभागी थिए । 

तपाईको प्रतिक्रिया