प्रविधिले पनि जोड्न नसकेको घरदेशी र परदेशीको मन

 जेठ ७, २०७५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

ज्ञानप्रसाद बराल/दुधौली नगरपालिका, सिन्धुली, हाल साउदी ।

अहिले म साउदीमा छु । कमाएर ल्याउछु भनेर घरबाट विदा त भएँ तर पराइदेश सोचेको जस्तो चाहिँ नहुँदो रहेछ । विदेश आइयो । न यहाँ आफन्त छन् न त कुरा बुझिदिनेहरु । मनका कुरा कोसँग सुनाउनु ।

दिनरात नभनी काम गर्दाको थकाइ त छँदैछ । त्यसमाथि सुख दुःख साट्न नपाउँदा झनै गाह्रो हुने रहेछ । मेरो भोगाइ यस्तै छ । 

हिजोआज सञ्चारमाध्यमले टाढा हुनेलाई पनि नजिक त बनाएको छ । तर यस्ता माध्यम सधै पर्याप्त हुँदो रहेनछ । इन्टरनेटले अनुहार हेरिहेरी कुराकानी गर्न मिल्ने त भयो तर मेरो गाउँमा यस्तो कुरा सम्भव छैन् । घरमा कुरा गर्नलाई सिधै स्काइ लाइनबाट कुरा गर्नुपर्छ । वाइफाई र फोरजी त अझै पनि सपनाकै कुरा हो। 

म विदेशमा वाइफाई चलाउछु । मसँग सबैकुराको पहुँच छ । तर घरमा छैन् । स्काइ लाइन मार्फत कुरा गर्दा धेरै खर्च हुने भएकाले सबै कुरा सुनाउन पनि सकिन्न । मनको कुरा मनमै रहन्छ । मेरो मनका कुरा, मेरा वेदना कसलाई सुनाउनु ?

इन्टरनेट चलाउने आफन्तसँग कुराकानी त गर्छु । उनीहरु थपघट, काँटछाँट गरेर कुराहरु सुनाउछन् । त्यस्तो हुँदा उता परिवारलाई पनि चिन्ता यहाँ मलाई पनि चिन्ता । सधै यस्तो चिन्ता हुँदा लाग्छ मलाई पनि मानसिक रोग त लाग्ने हैन् । 

एक त मनका कुरा पोख्न नपाउनुको पीडा, अर्का तिर घरपरिवारको चिन्ता । लाइन फोनमा धेरै कुरा गरौं भने महिनाभरिको तलब नै सकिन्छ । कुरा नगरौं आफन्तले घरमा अनेक कुरा सुनाउछन् । परिवार र मलाई पनि चिन्ता । 

इन्टरनेट चलाउनेहरुले परिवारका मान्छेलाई सुनाउने कुरा र मैले फोनमा २ मिनेट गर्ने कुरामा आकाश जमिनको फरक हुँदो रहेछ ।  मैले फोनमा सुनाएको कुरा भन्दा इन्टरनेट चलाउनेले बारम्बार सुनाएको कुरामा बढी विश्वास हुँदो रहेछ । 

मैले परिवारलाई सम्झाउने कोसिस पनि गर्छु तर मसँग कुनै प्रमाण छैन् । विश्वास दिलाउन सकिने कागज पनि के नै पो होला र । विदेशमा आएर सम्पर्कविहीन हुने, फुर्मास गर्नेहरु त धेरै छन् तर म त दुःख गरिरहेको छु । यो कुरा मैले परिवारलाई कसरी बुझाउनु । मलाई यो कुराले साह्रै चिन्ता हुन्छ । कामना गर्छु मलाई डिप्रेसन नहोस् ।

(साउदीमा रहनुभएका ज्ञानप्रसाद बरालले रेडियो कार्यक्रम देशपरदेशमा डिप्रेसनको बारेमा सुनेपछि उज्यालोको इमेलमा पठाउनुभएको भोगाई)

तपाईको प्रतिक्रिया