यात्रु नपाएपछि सुमो चालकको यस्तो रीस - 'गाडी बेचेर विदेश जान्छु'

 बैशाख २१, २०७५ शुक्रबार | सन्जिता देवकोटा
unn.prixa.net

चैत ९ गते सर्लाही जानुपर्ने थियो । सुमोमा फोन गरेर टिकटको बारेमा बुझें । सुमोका मान्छेले भने ‘सात नम्बर सिट मात्रै बाँकी छ ।’

सुमोमा त्यो पनि लास्टको सिट । नाक खुम्च्याउँदै हुन्छ राखिदिनुन भनें । नाम र नम्बर पनि दिएँ । भोलिका लागि त्यो सिट मेरै लागि भयो । ९ गते बिहान झोला बोकेर बल्खु पुगें । चोकमा ओर्लन नपाउँदै एकजना ब्यागै समात्न आइपुगे । कहाँ जाने हो ? यता सिट खाली छ । 

‘सर्लाही जाने हो,’ मैले भनें ।

अलिक ठूलो ब्याग बोकेर हिँड्ने बित्तिकै सिट खाली छ भन्दै आएका मानिस गाडी चालक नै रहेछन् । चालकले मलाई यसरी पच्छ्याए कि म उनको कुरा नसुनी जान सकिनँ । शिखरापुर यातायातको उनले चलाउने सुमो सर्लाही नै जाने बताए । 

खाली रहेको सिट नम्बर सोधें ।

मैले अघिल्लो दिनदेखि नै खोजेको सिट नम्बर उनकै गाडीमा मिल्यो । सिट नम्बर ६ । ड्राइभरको ठ्याक्कै पछाडि झ्यालैमा । यत्ति भएपछि अघिल्लो दिन नाक खुम्च्याई खुम्च्याई रोजेको सात नम्बर सिटमा म किन जान्थें र । 

सिट पनि खोजेकै भेटियो । चालकका गफ पनि कम्ता मिठा थिएनन् । जाने गाडी यही हो भनेर उनले देखाएको सुमो साह्रै पुरानो देखिन्थ्यो । नचढँु नचढुँ लाग्ने । तर चालकको गफले भने त्यो पुरानो सुमोलाई पनि नयाँ बनाइरहेको थियो । रातो रंगको सुमो खाली थियो । दुई जना यात्रु बल्ल जम्मा पार्दै थिए । तर पनि उनी अरु सात जना यात्रु भर्खरै खोजेर गाडी १० मिनेटमै कुदाइहाल्छु झैं गर्थे ।

आम्दानी र खर्च गर्ने काइदा बुझेपछि सर्लाहीमा परदेशीका परिवारलाई भेट्न मलाई पनि कहिले पुगौं भइरहेको थियो ।

सिट नम्बर सातबाट तीन पटक फोन आयो । मैले उठाइन । झण्डै साढे दुई घण्टा ६ नम्बरको सिटलाई कुरें । उनले मलाई जस्तै गरी अरु ६ जनालाई सुमोमा राखे । बिहान ८ बजेदेखि कुरेको त्यो सुमो  ११ बज्नै लाग्दा बल्ल स्टार्ट भयो ।

अघिसम्म शान्त भएका चालक गाडी स्टार्ट गरेपछि सुमोको रंग जस्तै रातो भए । हुईंक्याउँदै गाडी सडकमा निकाले । उनको गाडी चलाउने शैली र व्यवहार बल्ल थाहा भयो ।

दुई घण्टा अघिसम्म मिठो बोलेका चालकको फेरिएको लवजले म पनि सुमो जस्तै रातो भएँ । सकुशल सर्लाही पुग्न सकुँ भनेर मनमनै कामना गरें ।

चोभारको ओरालोसँगै चिल्लोबाटो सकियो । त्यसपछि सुरु भयो कच्ची बाटो । कच्ची बाटोमा हुइँकिएको सुमोको गतिले मुटुमा ढ्याँग्रो बज्न थाल्यो । खाल्डाखुल्डीमा सुमोका सबै पाटपूर्जा फुत्तै झर्छन कि झैं लाग्ने ।

अझ रिसाएका चालकको अनुहार र उनले बोलेका शब्दहरु । उनले बारम्बार बोलेको शब्द एउटै थियो, ‘अब यो गाडी बेचेर अरब जान्छु ।’

काउन्टरबाट थोरै मात्रै कमिसन दिएर पो हो कि उनी यसरी रिसाएका । या गाडीमा सात जना यात्रु मात्र भए, घाटा भयो भनेर हो । यस्तै केही होला भनेर कारणबारे सोच्न छाडिदिएँ । 

अब डर त सर्लाहीसम्म कसरी पुग्छु भन्नेतिर थियो । गाडी बेचेर अरब लाग्छु भन्ने उनको शब्द र गाडी चलाउने तरिकामा मिसिएको रीस !

उनले रीसमा बलेका शब्दले मलाई चाहिँ अरबमा गाडी चलाउँदा जेल परेका नेपालीका समाचार झलझली सम्झिएँ ।

सवारी चलाउने काममा विदेश गएका थुप्रै नेपाली बिभिन्न कारणले जेल परेका छन् । कोही नेपाल फर्किन लाखौ रुपैयाँ ब्लडमनी बुझाउनु पर्ने त कोही मृत्यु दण्ड कुरिरहेका छन् ।

यस्ता नेपालीको कथा सम्झँदै आँखाले सुमो चालकलाई नियालिरहेँ । उनी भन्दै थिए, ‘यही गाडी चलाएपनि विदेशमा त महिनामा झ्याप्प पैसा हात पर्छ ।’ 

झ्याप्प पैसा कमाउने सपना बोकेर पराइदेशमा पुगेर दुःख पाएका भन्दा उनी निकै भाग्यमानी थिए । उनीसँग हातमा सीप छ । देशमै गरिखाने बाटो पनि समाएका छन् । तर पनि उनी खै किन विदेश नै ठीक देखिरहेका छन् ।  

जेलमा घर फर्किने बाटो कुरिरहेका नेपालीहरु पनि यी चालकले जस्तै सोचेर गएका थिए होलान् त । विदेश पुगेपछि मात्रै धेरै कमाइन्छ भन्ने सोचलाई त्याग्ने हो भने त यी चालकले जस्तै बाटो समाएका युवाले देशमै गरिखानसक्थे नि । 

हुन त उनले हामीलाई पनि गन्तव्यसम्म पुर्‍याएनन् । सर्लाही नै पुग्छ भनेर सुमोको टिकट काटेपनि उनले रौतहटको चन्द्रनिगाहपूरमा लगेर हामीलाई छाडिदिए ।

उनले आधाबाटोमा छाडेपनि मैले मेरो यात्रा पूरा गरें । तर उनी त समाएको बाटोपनि बीचमै छाड्ने योजना बनाउदै थिए । यो एकछिनको झोंक थियो कि सधैंको बानी मैले थाहा पाइनँ । तर यदि यो बानी छोडेनन भने त उनको सुमोमा चढ्ने धेरै यात्रुको यात्रा असुरक्षित बनाउने छन् । 

अनि यो बानी त्यागेनन् भने उनले सोचेको विदेश यात्रा पनि पक्कै सुरक्षित हुने छैन । किनकि  विदेशमा सानो गल्तीले सयौं नेपाली क्षतिपूर्ति र ब्लडमनी तिर्नुपर्ने अवस्थामा छन् । उनीसँगको त्यो यात्राले महिनादिन बितिसक्दा पनि मलाई झस्काइरहन्छ । लाग्छ, उनको यही रीसले फेरि अर्को दुखद समाचार लेख्नुपर्ने त हैन ।  

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया