एक मंगल दिनको प्रतिक्षामा मंगलीमाया

 जेठ २६, २०७५ शनिबार १३:१३:१४ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाडौं – खोटाङको हलेसी तुवाचुङ् नगरपालिकाको लहरेक्रम माझीगाउँकी मंगलीमाया माझीको घर गाउँको पुछारमा पर्छ । पुछारको घर भएकाले पनि मंगलीमायालाई गाउँको चहलपहल थाहा पाउन मास्तिर उक्लिनुपर्छ। 

मंगलीमाया गाउँको चहलपहल बुझ्न बेलाबेलामा घर मास्तिर नजर लगाइरहनुहुन्छ । घर माथिको मूलबाटोमा अलि सुकिला लुगा लगाएको, मोटा मोटा लोग्ने मानिस हिँडेको देख्दा मंगलीमायाले  निधारमाथि हात राखेर निकैबेरसम्म हेरिरहनुहुन्छ।

मूलबाटो तिरै उहाँका आँखै त्यसै टोलाएका हैनन् ।  गाउँमा नयाँ मानिस देख्दा मंगलीमायालाई आफ्नै कान्छो छोरो बुद्ध माझी आए झैं लाग्छ । र, गाउँमा आएका प्रत्येक नयाँ मानिसलाई यसरी नै हेर्नुहुन्छ। 

मंगलीमाया एक मंगल दिनको प्रतिक्षामा हुनुहुन्छ । मलेसियामा हराएको छोरो फर्किने दिनको । प्रत्येक आइतबार फोन गर्छु आमा भनेका  बुद्धले छोराले कुनै खबर नगरेको ५ वर्ष बित्यो । कमाउन गएको छोराको खबर समेत नआएपनि मंगलीमायाको दिन चाहिँ छोरो फर्किने दिन कुर्दैमा बित्छ। 

छोरो सम्पर्कविहीन भएपछि छटपटिएकी मंगलीमायालाई भेट्न हामी पुग्दा पनि मंगलीमायालाई छोराको कुनै खबर आयो कि भन्ने आश लागेको रहेछ । घरको दलानमा बसेर छोरालाई नै कुरिरहनुभएकी मंगलीमायाको कस्सिएको पीडाको गाँठो पनि हामीसँग दलानमै बसेर फुकाउनुभयो। 

मंगलीमायाका छ जना सन्तान । चार छोरी । दुई जना छोरा । चार जना छोरीको बिहे भैसक्यो । जेठा छोरा काठमाडौंतिरै बस्छन् । कान्छो छोरा मलेसियामा हराएको ५ वर्ष भयो। 

सन्तान र घरव्यवहारको पीडाले मंगलीमायालाई नमज्जाले गलाएको छ । बुढेसकालको सहारा बन्ला भन्ने आश गरेको सन्तान पराइ देशमा हराउनु र घरव्यवहार पनि बिग्रेपछि हिजोआज मंगलीमायालाई रक्सीको लत बसेको छ। 

‘छोराको सम्झनाले नै मलाई त पागल बनाएको छ, न मलाई फोन गर्छ न अरु कसैलाई, मैले के गर्नु,’ मंगलीमाया छोरा हराउनुको छटपटीमा बर्बराइरहनुहुन्छ । मलेसिया जानुअघि मंगलीमायाका छोरा युएई गएका थिए । कमाई गरेर ३ वर्षमा फर्किए । त्यो बेला त मंगलीमायालाई घर चलाउन पनि चिन्ता भएन। 

‘घर खर्च पठाइदिन्थ्यो, फोन पनि गरिरहन्थ्यो, मलाई त्यो बेला चाहिँ विदेश ठिकै लाग्थ्यो,’ मंगलीमायाले भन्नुभयो । तर हिजोआज मंगलीमायालाई विदेश त मनै पर्दैन । ‘काठमाडौंतिर भएको भए त गाउँतिरकाले पनि भेट्थ्ये, यस्तो रछ भनेर मलाई पनि सुनाउँथे होला, त्यो जाबो विदेश त नहुने रहेछ,’ मंगलीमायाले विदेश मन नपर्नुको कारण पनि भन्नुभयो। 

फेरि मंगलीमायालाई छोरो काठमाडौंमै भएर फोन नगरेको भएपनि भेट्टाउने थिइन कि भन्ने पनि लाग्छ । किनकि मंगलीमाया काठमाडौंमा एकचोटी हराउनुभयो । ‘मै त काठमाडौंमा हराएँ, मलेसिया त झन कत्रो सहर होला, त्यही भएर पो हरायो कि कान्छो,’ मंगलीमायाले भन्नुभयो । छोरो लुकाइदिने देश मंगलीमायालाई पटक्कै मन पर्दैन।

युएईबाट फर्किदा चाहिँ छोराल मंगलीमायालाई चोलो र फरिया ल्याइदिएका थिए । ‘त्यो बेलाको चिनो पनि फटिहाल्यो,’ मंगलीमायाले लगाएर छोराले ल्याइदिएको फरिया र चोलो फटाएपनि छोरो फर्किदाको खुसी मनबाट फाटेकै छैन। 

छोरो घरमाथि आएर मुस्कुराएको उहाँको आँखाबाट हटेकै छैन् । मंगलीमाया हिजोआज पनि सपनामा छोरो फर्किएको देख्दा त्यसैगरी रमाउनुहुन्छ। 

सपनामा सेतो कपडा लगाएर आएको देखेँ

‘माघ महिना तिर होला, कान्छो सेतो भेस लगाएर आएछ, म त लौ कान्छो आयो भन्दै कम्ता खुसी भइन, ब्युँझदा त अँध्यारो पो छ,’ मंगलीमायाले सपनाको कुरा सुनाउनुभयो । त्यसैदिन अर्को सपना पनि देख्नुभयो, ‘घरको छेवैबाट ठूलो पानी बगेको’।

सपनामा छोरो नबोली फर्किएको  देखेकाले मंगलीमाया छोरो फर्किन्छ भन्नेमा ढुक्क हुनुभयो । ५ वर्षमा छोरो फर्किने संकेत गर्ने एक पछि अर्का सपना पनि निकै देख्नुभयो मंगलीमायाले । सपनामा छोरो फर्किएको देखेपछि मंगलीमायाले कुल देवतासँग भाकल गर्नुभयो। 

देउरालीमा भेटी र पाती पनि चढाउनुभयो । दूधकोसी पारी ओखलढुङ्गामा रहेका भगवानसँग पनि सपना पूरा गरिदेउ भनेर माग्नुभयो । तर आजसम्म उहाँको गुहार न भगवनले सुनेका छन् । न त मलेसियामा हराएका छोराले नै। 

साहु बारी खान मान्दैनन्, पैसा फिर्ता गर्न छोरो हरायो 

छोरो हराउनुको पीडा बुझिदिने कोही नभएपनि त्यो पीडालाई बल्झाइदिने धेरैकुराहरु छन मंगलीमायासँग । ‘त्यो विदेश जाँदाको एकलाख रुपैयाँको साउँब्याज चोख्खै छ, साहु आइरहन्छन्, बारी खाउ भन्दा मान्दैनन्, अब पैसा फिर्ता गर्न छोरो हरायो,’ मंगलीमाया निकै बेर भक्कानिनुभयो। 

जेठी बुहारीले बिहान बेलुकाको छाँकको जोहो गरेपनि मंगलीमायाले एक लाख रुपैयाँ ऋण तिर्ने कुनै बाटो छैन । सन्चो बिसन्चोको पनि खबर नआउने देशमा एक लाख रुपैयाँ ऋण काढेर किन पठाएछु भनेर उहाँलाई पछुतो लाग्छ । आफन्त, नातेदार कसैलाई पनि फोन नगर्दा मंगलीमायालाई छोरो कालको मुखमा हालिदिएछु कि भन्ने पनि लाग्छ।

फेरि गाउँका मानिसले सुनाएको कुरा सम्झदा चाहिँ उहाँलाई छोराले माया मार्‍यो कि भन्ने पनि लाग्छ । ‘मलेसियामा केटी पनि पाइन्छ भन्छन्, सबैले त्यही भएर नआएको भन्छन्, खै मेरो माया मारेका त होला नि,’ मंगलीमाया गुनासो गर्नुहुन्छ। 

सल्लाहले नै विदा मागेको छोरो किन फोन गर्दैन भन्ने त उहाँले बुझ्नुभएको छैन । ‘मसँग रिस उठेको भएपनि अरुलाई सन्चै छु भन्ने खबर मात्र पठाएपनि हुन्थ्यो नि,’ मंगलीमायाले भन्नुभयो। 

‘माथ्लोघरको बिष्णे पनि घरमा फोन गर्दैन, खे मेरै छोरोलाई जस्तै त परेको होला त्यसलाई नि,’ मंगलीमायाले सुनाउनुभयो । छोरो सम्पर्कविहीन हुँदाको पीडा भएपनि मंगलीमाया गाउँका अरुको छोरा पनि हराएका छन भनेर जसोतसो चित्त बुझाउनुहुन्छ।

मंगलीमायाका श्रीमान् बितेको १७ वर्ष पुग्न लागिसक्यो । बेलैमा श्रीमान गुमाउनु अनि एकपछि अर्का छोरा पनि आफूबाट टाढा हुँदा मंगलीमायालाई कोख नै रित्तो लाग्छ । भन्नुहुन्छ, ‘छोराको कुशलमंगल सुन्न पाएँ सुखले सास जान्थ्यो कि।’

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया