'विदेशमा हात गुमाएँ, देशमा पैसा कमाएँ'

 जेठ २७, २०७५ आइतबार १२:०:१४ | सन्जिता देवकोटा

काठमाडौं – जीवनको सबैभन्दा ठूलो सफलता भनेकै आँट हो उहाँका लागि । उहाँ अथवा रामेछापका देवबहादुर मोक्तान ।

धेरै पैसा कमाउनु, गाडी घर किन्नुलाई उहाँ उन्नति मान्नुहुन्न । ३५ औं वसन्तमा पाइला अघि बढाउदै गर्दा जस्तोसुकै अप्ठेरो परिस्थितीमा पनि हिम्मत नहार्ने बानीलाई नै देवबहादुर आफ्नो सफलता मान्नुहुन्छ ।

देवबहादुर शारीरिक रुपमा अशक्त हुनुहुन्छ । तर उहाँको जोस र जाँगर सामान्य मानिसको भन्दा कम छैनन् । 

रोजगारीका लागि साउदी गएका देवबहादुरको विदेशले दाहिने हात खोसिदियो । सद्दे ज्यान लिएर साउदी उडेका उहाँको फर्किदा गरिखाने हात नै थिएन । तर देशमै केही गर्नसक्छु भन्ने आँट भने झनै बढेको थियो ।

२०७२ सालको मध्यतिर त्रिभुवन विमानस्थलमा ओर्लंदा उहाँको मन नराम्ररी चिमोटियो । ‘गरिखाने हातै रहेन ठूला कुरा गरेर त खान नपुग्ला,’ यही सोचेर देवबहादुरको मन आत्तिएको थियो । ‘सलक्क परेका हात लिएर कमाउन गएका श्रीमान् हातै गुमाएको देख्दा जहानले के सोच्लिन्,’ विमानस्थलबाट बाहिर निस्कदा यस्तै कुराले देवबहादुरको मन खायो ।

१७ वर्षको कलिलो उमेरमै रोजगारीका लागि युएई उड्दा देवबहादुरलाई विदेश गएपछि निकै कमाइन्छ जस्तो मात्र लाग्थ्यो । किनकी गाउँका विदेश गएर फर्किएका दाइले विदेशमा त राम्रो कमाइहुन्छ भनेर सुनाएका थिए । त्रिभुवन विमानस्थलदेखि रामेछापको सालुसम्म पुग्दा साउदी र युएईमा गरेका दुःख र हात गुमाउँदाको क्षण झलझली आँखामा आए ।

‘मैले त दुई देशमा वर्षौ पाएका दुःख यसरी सम्झिए कि बाटोभरी केही थाहा पाइन,’ देवबहादुरले मलिनो अनुहार बनाउनुभयो । गरिखाने उमेरमै हात गुमाउनु पर्दाको पीडाले देवबहादुरलाई अहिलेसम्झदा पनि सहनै नसक्ने गरी घोचिरहेको थियो । 

परिवारका एक्ला सन्तान देवबहादुरको काँधमै थियो परिवारको जिम्मेवारी । आम्दानीको स्रोत केही थिएन् । घरमा पकाउने भाँडो नभएपनि त्यो बेलामा विदेश जाने भनेपछि गाउँका जति पनि ऋण पाइने । ९० हजार रुपैयाँ ऋण काढेर सन् २००२ मा देवबहादुर युएई जानुभयो ।

दुवई जाने ठूलो जहाज चढ्दा देवबहादुरका सपना दुवईमा ओर्लिसकेका थिए । तर त्यो ठूला जहाजबाट देवबहादुर ओर्लिएपछि भने सोचेजस्तो भएन विदेश । दुःखसुख काम गर्नुभयो । काम लेवरको थियो । 

महिनामा १० हजार रुपयाँ भन्दा कमाउनु पनि भएन । भनेजस्तो कमाउन नसक्दा, आनन्दले निदाउन नपाउँदा उहाँघरको झलझली याद आउँथ्यो । अघिल्लो दिन पकाएको भात भोलीपल्ट प्लाष्टिकमा बोकेर लग्यो, त्यही खायो । त्यतीबेला साह्रै नरमाइलो लाग्थ्यो,’ देवबहादुर दुवईमा बिताएका दिन सम्झनुहुन्छ । युएईमा ६ वर्ष यसरी नै बिते ।

यात्रा साउदीको

युएईमा ६ वर्षको कमाइले उहाँ गाउँमा घर बनाउनुभयो । त्यत्तिले देवबहादुरलाई पुगेन । गाउँमा राम्रै घर थियो । तर देवबहादुरलाई शहरमा पनि एउटा घर भए हुन्थ्यो भन्ने लाग्यो । त्यही सपनाले उहाँलाई  साउदी पुर्‍यायो । 

मार्वल कम्पनीको काममा भनेर साउदी गएका देवबहादुर सप्लाईको काममा पर्नुभयो । ‘न कामको ठेगान, न खानको । सप्लाईको काम त कसैलाई नपरोस्,’ विदेशको दुःख जान्दा जान्दै पनि किन आएँ भनेर देवबहादुरलाई पछुतो लाग्थ्यो ।

यो पाली भने देवबहादुरले भनेजस्तो काम भयो साउदीमा । महिनाको ७० देखि ८० हजार रुपैयाँसम्म कमाउनुहुन्थ्यो । गाडी चलाएपनि उहाँले बोक्ने सामान सामान्य थिएन । दुई तलाको गाडीमा ८ वटा अरु साना गाडी राखेर सप्लाई गर्नुहुन्थ्यो ।

सप्लाई कम्पनीमा काम गर्दा गर्दै उहाँले गाडी चलाउन सिक्ने अवसर पाउनुभयो । सप्लाई कम्पनीमै गाडी चलाउने चालकले उहाँलाई गाडी चलाउन सिकाए । त्यसपछि उहाँ नेपाल फर्किएर सवारी चलाक अनुमति पत्र लिनुभयो । र, फेरि हेवी गाडी चलाउने भिसामा साउदी जानुभयो ।

पानीजहाजबाट आएका कार, ट्रिपर अर्डर अनुसार ओसार्ने थियो उहाँको काम । ‘एकदमै खतरा थियो । थोरै मिस्टेक भयो भने त खत्तम हुन्थ्यो नि,’ गाडी चलाउँदाको अनुभव सुनाउनुहुन्छ ।

३ वर्षसम्म गाडी चलाएर घरविदामा आउनुभयो । साउदीमा उहाँ राम्रो कमाउनुहुन्थ्यो । परिवार कमाउनुहुन्थ्यो । घरमा श्रीमती सरिता तामाङले तीन छोरी स्याहार र व्यवहार चलाउनुभएको थियो । 

गाडी दुर्घट्ना, होसमा आउँदा हात थिएन 

देवबहादुर घरविदाबाट फर्किएको ७ महिना मात्रै भएको थियो । दुई दिनदेखि निदाउनुभएको थिएन । ‘टिप्स पाइने भएकाले नसुती नसुती गाडी चलाइन्थ्यो,’ देवबहादुर सुनाउनुहुन्छ । 

नसुती नसुती गाडी चलाएकै कारणले गर्दा उहाँले चलाएको गाडी दुर्घट्नामा प¥यो । ‘त्यो दिन के भयो मलाई केही याद छैन । पछि साथीले सुनाउदा छक्क परेँ,’ काटिएको ठूटो हाततिर देवले हेर्नुभयो । त्यो दिन सम्झदा देवबहादुरलाई त्यसरी गाडी नचलाएको भए आज हात हुन्थ्यो भन्ने मनमा लाग्छ ।

पहिले झैं ८ वटा गाडी बोकेर देवबहादुर दमामबाट रियाद हिँड्नुभयो । त्यो दिन सधैं झैं सकुशल गन्तव्यमा पुग्नुभएन । उहाँले चलाएको गाडीले सडक छेउ रोकिराखेको गाडीलाई ठक्कर दियो । तर उहाँलाई दुर्घट्ना कसरी भयो याद छैन । रोकिराखेको गाडी फलाम बोक्ने भएकाले सामान्य मात्र क्षति भयो । तर देवको भने ७ दिनपछि मात्रै होस आयो ।

‘होसमा आउदा मलाई एकदम भोक लागेको रैछ । ए मेरो गाडी दुर्घट्ना भएछ जस्तो लाग्यो । नर्ससँग खानेकुरा मागेँ । यसो हात हेर्छु, छैन । खुट्टो पनि पो सुन्निएर ठूलो भएको छ । म फेरि बेहोस भएछु,’ देवबहादुरका आँखा टिलपिल भए ।

देवबहादुर ६ महिनासम्म उठ्नबस्न सक्नुहुन्नथ्यो । चर्पी जानदेखि, खानबस्न नुहाउन, लुगा लगाउन अरुकै साहारा चाहिन्थ्यो । दाहिने हात नै काटिएकाले उहाँलाई शरीर नै कोल्टे परेको अनुभव हुन्थ्यो ।

तर बाहिर जति उहाँ कमजोर हुनुहुन्थ्यो मन भने त्यती नै बलियो भएको थियो । त्यतिबेला त उहाँलाई यस्तो हुनुभन्दा मरेको भएपनि हुन्थ्यो जस्तो लाग्थ्यो । अपाङ्ग भएर के बाँच्नु जस्तो लाग्थ्यो । ३ महिनाको अस्पतालको बसाइ अनी ६ महिना कम्पनीमा काम नगरी बस्दा उहाँलाई हात नभएपनि घरमा गएर गरिखान्छु भन्ने आँट बटुल्नुभयो ।

घर फर्किएपछि व्यवसायतर्फ

झण्डै ९ महिना थलिएपछि उहाँ घर फर्कनुभयो । ९ महिना थलिएर बस्दा बुनेको एउटै सपना थियो ‘नेपाल गएर व्यवसाय गर्छु ।’ उहाँले एउटा हात काटियो भनेर हार खानुभएन । घर फर्किएको केही समयमै व्यवसाय सुरु गर्नुभयो । 

सुरुमा उहाँले काठमाडौंको बसुन्धारामा कपडा पसल खोल्नुभयो । तर राम्रो नचलेपछि छाड्नुभयो । सितापाइलामा क्यान्टिन चलाउन सुरु गर्नुभयो । व्यापार राम्रो चलेको थियो ।

त्यही क्यान्टिन चलाउँदा चलाउँदै छोरीले एसएलसीमा ३ विषयमा फेल भएपछि हात्माहत्या गरिन् । छोरीले आत्माहत्या गरेपछि उहाँको व्यवसाय पनि परिवर्तन भयो । 

देवबहादुरलाई सबैले गाउँमा कृषि गर्छन् । म सहर मै गर्छु भन्ने लाग्यो । सितापाइला माथि रामकोटमा वार्षिक ३३ हजार बुझाउने गरी जग्गा भाडामा लिनुभयो । अनि, सुरु गर्नुभयो, कुखुरा, हाँस र माछापालन । त्यो सँगै उहाँले खाली रहेको जमिनमा तरकारी खेती पनि गर्नुभयो ।

झण्डै ६ लाख रुपैयाँ लगानीमा सुरु गर्नुभएको हो उहाँले यो व्यवसाय । ‘पहिला बजार नपाउदा त नहुने रहेछ जस्तो लाग्थ्यो । अहिले त राम्रो छ । विदेशमा भन्दा धेरै कमाउछु सिजनको बेला त,’ देवबहादुर सुनाउनुहुन्छ । 

विदेशसम्झदा रसाएका उहाँका आँखा अहिले गरिरको व्यवसायका कुरा गर्नसाथ सुख्खा भए । हाँस्दै भन्नुभयो, ‘सिजनको बेला त महिनाकै ६ देखि ७ लाख रुपैयाँसम्म कमाएँ । जाडोमा चाहिँ १५ हजारसम्म कमाइहुन्छ ।’

देवबहादुर आफ्ना दिन फर्म मै बिताउनुहुन्छ । बिहान उठ्ने बित्तिकै आफ्नो भन्दा पहिला हाँसको पेट भर्नुहुन्छ । हाँस र कुखुराको अण्डा बेच्नचाहिँ उहाँ होलसेल पसलसम्म पुग्नुहुन्छ । धेरैजसो व्यवसायी उहाँको फर्मसम्मै आइपुग्छन् ।

गरे असम्भव के छ र भन्ने उदाहरण हुनुहुन्छ देवबहादुर । देवबहादुरकी दाइनेहात बन्नुभएको छ उहाँकी श्रीमती । त्यसैलेपनि उहाँलाई व्यवसाय गर्न सजिलो भएको छ । ‘विदेशले हात लाग्यो, देशले मलाई साथ दियो । हात नभएपनि हिम्मत हारिन,’ यही व्यवसायलाई बढाउने योजना छ देवबहादुरको ।


 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया