जगदिश

प्रश्नः मैले पोल्याण्ड रोजगारीका लागि म्यानपावरमा अप्लाई गरेको थिए। भिसा आउन ६ महिना लाग्छ भनेको थीयो। मैले एक लाख रुपैयाँ र पासपोर्ट बुझाएको ८ महिना भइसक्दा नि भिसा आएन। अब एक लाख रुपैयाँ र पासपोर्ट फिर्ता पाउन मैलै के गर्नु पर्छ ?


 

उत्तरः जगदिश जी, पोल्याण्ड रोजगारीका लागि नेपाल सरकारले खुल्ला गरेको देश हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव कमल तामाङका अनुसार, पोल्याण्डले कृषि र कुखुरा फार्ममा कामदार लैजान्छ। तपाईंले भरपर्दो म्यानपावरबाट पोल्याण्ड जाने प्रक्रिया गर्न सक्नुहुन्छ। पोल्याण्डका लागि भिसा नेपालबाट लाग्दैन। म्यानपावर व्यवसायीले भारतको दिल्लीमा रहेको पोल्याण्डको दूतावासबाट भिसा स्टाम्प लगाइदिन्छन्। पोल्याण्ड जानका लागि ८० हजार रुपैयाँसम्म तिर्न पर्छ।

कानुन अनुसार तपाईंको पासपोर्ट कुनै संस्था वा व्यक्तिले तीन महिना भन्दा धेरै समय राख्न वा ‘होल्ड’ गर्न पाउँदैन। म्यानपावर कम्पनीले तीन महिना भन्दा धेरै समय देखि तपाईंको पासपोर्ट राखेको हो भने त्यो गैरकानूनी काम हो। त्यसका लागि तपाईंले वैदेशिक रोजगार विभागमा गएर उजुरी दिन सक्नुहुन्छ। विभागको कार्यालय काठमाडौंको बुद्धनगरमा छ। अथवा तपाईंले नजिकको प्रहरी कार्यालयमा गएर उजुरी दिन सक्नुहुन्छ।

तपाईंसँग म्यानपावरलाई एक लाख बुझाएको रसिद छ भने म्यानपावर विरुद्ध काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा प्रमाणसहित उजुरी दिन सक्नुहुन्छ। म्यानपावरलाई पैसा दिएको रसिद भए तपाईंले सजिलैसित पैसा फिर्ता पाउनुहुनेछ।