‘संसारमा म एउटा बुँद’

  • Posted: Friday, May 03, 2013 19:25 PM ( 1 year ago )
Total Views: 3.6 K

साहित्यकार बुँद राना मूलतः गजलकारका रुपमा चिनिनुहुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका रानाको कलम गीत, गजल र कवितामा समान रुपले चल्छ । वि.सं. २००३ सालमा अर्घाखाँचीमा जन्मेका रानाको वास्तविक नाम लोकबहादुर राना हो । उहाँका गजलले जीवन भोगाइका कुरामात्र गर्दैनन्, जीवन जिउन ऊर्जा पनि दिन्छन् ।

२०२५ सालबाट लेखनकर्म सुरु गरेका रानाका विभिन्न १५ वटा कृति प्रकाशित छन् । जीवनलाई प्रकृतिको ‘अनमोल बाली’ मान्ने साहित्यकार रानासँग उज्यालो अनलाइनका लक्ष्मण कार्कीले उहाँको जीवनका भोगाइ, संघर्ष र साहित्यिक यात्राबारे कुराकानी गर्नुभएको छ । कुराकानीको सारसंक्षेपः

तस्बिरः रविराज बराल/ उज्यालोकेमा ब्यस्त हुनुहुन्छ हिजोआज ?

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य छु । परिषद्मा कार्यकारिणी सदस्यको नाताले मेरो जिम्मेवारी पनि छ । लोकवार्ता भन्ने एउटा विभाग छ, त्यो मैले हेर्नुपर्छ । नेपालमा भएका जनजातिहरु, लोपोन्मुख जातिहरु, सीमान्तकृत जातिका विभिन्न विधामा मैले काम गर्नुपर्छ । सामथ्र्य र स्रोत साधानले भ्याएसम्म त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी मेरो हो ।

लोकबहादुर राना कसरी बुँद राना बन्यो ?

मेरो नाम मलाई मन परेन । जब मान्छे सन्तुष्ट हुँदैन त्यसपछि अगाडि बढ्ने नयाँ बाटो खोज्छ । लोक भनेको संसार हो । म संसारकै बहादुर त कसरी हुन सक्छु र ! लोकले माया गर्ने खालको उपनाम राख्ने बिचार गरें । स्कूल पढ्दाताका मैले केही कविले आफ्नो उपनाम राखेको थाहा पाएको थिएँ । मैले पनि उपनाम राख्नु राम्रो रहेछ भन्ने सोचेर आफ्नो नाम रोजेँ । मेरो रोजाइ राम्रो रहेछ भन्ने यतिबेला लागेको छ । फेसबुकमा सर्च गर्दा लहरै बुँद राना आउँदैन, एउटा मात्रै आउँछ । संसारमा एउटा मात्रै बुँद राना रहेछु जस्तो लाग्छ ।

तस्बिरः रविराज बराल/ उज्यालो

बुँद रानाको जीवनमा धेरै उतार चढाव आए होलान् । कसरी सम्झनुहुन्छ ?

म मध्यम वर्गीय परिवारमा जन्मेको मान्छे । बाबाले व्यापारको सिलसिलामा लागेको ऋण तिर्न सबै जग्गा जमिन बेचेर आमा, म र दिदीलाई अलपत्र पारेर छोडिदिनुभएछ । आफू बर्मा जानुभएछ । त्यहाँ दुःख पाएर भारत फर्किनुभएछ र भारतको रेलवेमा स्थायी जागिर खानुभएछ । त्यसपछि आमा र मलाई पनि भारत लैजानुभयो । बाबाको चाहना मलाई मेट्रिक पास गराउने थियो । मेट्रिक पास गरेपछि हामी २०२३ सालमा भैरहवामा आयौं ।

बाल्यकालदेखि नै मेरो साहित्यप्रतिको रुचि थियो । त्यतिबेला देखि नै म कथा, कविता लेख्ने गर्दथें । म त्यतिबेला पनि महिम (भारतीय लेखक) लाई पढ्थें, तुलसी दासलाई पढ्थें । मलाई उनीहरुको लयात्मक कविता पढेर आफुले पनि लेख्नपाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । खाजा खान दिएको पैसा जोगाएर सिनेमा हेर्न जान्थ्यौं । सिनेमाको अभिनेताले गाउने गजल र सायरीले मलाई प्रभावित पार्न थाल्यो । मैले त्यसको सिको गर्न थालें र प्यारोडी गीतहरु लेख्न थालें । २०२२ सालतिरै मैले गजल लेख्न थालिसकेको थिएँ । ममा भएको प्रतिभाले समाजमा चिनाउन मद्दत गर्‍यो । मेरो नागरिकता थिएन । त्यसैले मैले धेरै संघर्ष गर्नुपर्‍यो । मैले भैरहवामा रिक्सा चलाउनेदेखि कागजको झोला बनाएर पनि बसें । मैले शिक्षकको जागिर छोडेर पञ्चायतको चुनावमा लागें र नगर सदस्य हुँदै गाविसको उप प्रधानपञ्च पनि भएँ ।

त्यतिबेला नै साहित्यकार बन्छु भन्ने लागेको थियो ?

म साहित्यकार बन्छु भन्ने लागेको थिएन । तर मलाई साहित्यको जुन शोभा आयो त्यो चाँहि अनवरत रुपमा रह्यो । त्यसलाई छाड्नेतिर ध्यानै गएन । मैले जुन परिस्थितिमा पनि भ्याएसम्म र सकेसम्म लेखिरहें । अहिले पनि गरिरहेको छु ।

भैरहवामा रिक्सा चलाउने काम गर्दाको जीवन कसरी सम्झिनुहुन्छ ?

कतिबेला एक छाक खाइयो होला । कतिबेला खाइएन होला । रिक्सा चलाउँदा सधैं कमाइ भइरहन्छ भन्ने पनि छैन । रिक्सा चलाउन पनि जानेको थिइन । एकपटक बौद्ध भिक्षुले मसँग हिँड एसएलसी पास गरेको मान्छेलाई म राम्रो जागिर दिन्छु पनि भनेका थिए । मैले बा आमालाई छोडेर जान सक्दिन भन्दिएँ । त्यता लागेको भए के हुन्थ्यो भन्न सक्दिन ।

सुन झैं हजार चोटी खारे पो जीन्दगी हो ।
कुन बेहोसीले भन्छ हारेको जिन्दगी हो ।।
गमलामा फल सार्‍यौ खासै कमाल के भो ?
बाँझो भूमिमा बिरुवा सारे पो जिन्दगी हो ।।
टाढै कतै बसेर हरदम गिज्याउँछ जो
त्यो स्वर्गलाई भुईंमा झारे पो जिन्दगी हो ।।
औंला समाती बाटो तार्न सजिलो हुन्छ
तुफानबाट डुंगा तारे पो जिन्दगी हो ।।
अर्को जनम कसैले देख्यो, न देख्न सक्छ,
यहि जिन्दगीमै बाजी मारे पो जिन्दगी हो ।।

सफल मानिसहरु निकै संघर्ष गरेर आएका देखिन्छन् । तर अहिलेको पुस्तामा त्यस्तो किन पाइँदैन ?

५/ ६ वर्षयता नैतिक मूल्यमान्यता विघटन हुँदै गएजस्तो देखिन्छ । सामाजिक सद्भाव र शिष्टता ह्रास भैरहेको छ । मानिसले समाजमै भएका घटनाबाट प्रेरणा लिने हो । आज निकै कमजोर आर्थिक अवस्था भएको मान्छेको जीवनशैली भोलि आकाशपाताल फेरिन सक्छ । अहिले नचाँहिदो काम गरेर सम्पन्न हुने प्रवृत्ति समाजमा देखिएको छ । समाजमा भ्रष्टाचार गरेको मान्छे प्रोत्साहित भइरहेको छ ।

मैले एउटा गजलमा भनेको छुः

घरीघरी मरीमरी अजम्बरी भएछौँ की
चाँइचुँई सुनिँदैन महामारी फैलिएपनि ।

समाजमा नचाँहिदो काम भएपनि कसैले प्रतिवाद गर्दैन । अहिले चारित्रिक विघटनको अवस्थामा छ । बुद्धिजीवि भनिनेहरु पनि दश पुस्तालाई पुग्ने सम्पत्ति किन नजोड्ने भनेर लागेका छन् । त्यसैले समाज निकै पछि परिसकेको छ । यो अवस्थाको अन्त्य गर्न निकै गाह्रो छ । देशको नेतृत्व गर्नेहरुले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।

आफ्नो उतार चढावपूर्ण जीवनबाट सही बाटो हिँड्न के गर्नुपर्छ भन्ने बुझ्नुभयो तपाईँले ?

पहिलो कुरा त मानिसमा मैले असल काम गरिरहेको छु भन्ने लाग्नुपर्‍यो । त्यो काम गर्नका लागि धैर्यता चाहिन्छ । सही बाटोमा लगनशील भएर लाग्ने हो भने सफल हुन गाह्रो छैन ।

सेती पो हो जिन्दगी यो, काली हो जिन्दगी
बग्न नजान्दा गन्धा नाली हो जिन्दगी ।।
पहिरन्छ माला कहिले मोसो दलाउँछ
ताली कतै कसैको गाली हो जिन्दगी ।।
मिठो नमिठो नाना पकवान पस्किने
टपरी कहीँ त सुनको थाली हो जिन्दगी ।।
कसै कसैको डिस्को पिकनिक हो भने
कसै कसैको धर्ना र्‍याली हो जिन्दगी ।।
सिद्धान्त हो कसैको संघर्ष हो भने
कसै कसैको साला साली हो जिन्दगी ।।
छाडा पशुहरु छन् चर्लान् जोगाउनु
अनमोल प्रकृतिको बाली हो जिन्दगी ।।

प्रतिक्रिया दिनुहोस

Join us on Facebook