Total Hits: 3.4 K

लोकमानको बिरोध चियाको कफमा तुफान ल्याउने प्रयासः प्रचण्ड

  • Posted: Tuesday, May 07, 2013 18:56 PM ( 1 year ago )

भवानीप्रसाद पाण्डे/ उज्यालो ।

रुपन्देही, बैशाख २४ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका लागि सिफारिस गरिएका लोकमानसिंह कार्कीको बिरोध गर्नुको कुनै अर्थ नभएको बताउनु भएको छ ।

अख्तियारमा कार्कीको सिफासिको सर्वत्र बिरोध भैरहेका बेला प्रचण्डले कार्कीको विरोध गर्नु चियाको कफमा तुफान ल्याउने प्रयास भएको टिप्पणी गर्नुभयो । ‘अनावश्यक कचिङ्ग गरेर चुनावको वातावरण बिगार्न खोजिँदैछ’, रुपन्देहको बनकट्टीमा क्रान्तिकारी पत्रकार संघले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो, ‘कतिपय मानिसहरु चियाको कफमा तुफान ल्याउन खोजिरहेका छन् । अनावश्यक बिबाद सिर्जना गर्दैछन् ।’

अख्तियारमा कार्कीको सिफारिस एकीकृत माओवादीको मात्र नभएको भन्दै प्रचण्डले उच्चस्तरीय राजनीतिक समिति र संवैधानिक परिषदमा सर्वसम्मतीबाटै प्रस्ताव गरिएकोले बिबादको अर्थ नभएको बताउनुभयो । अख्तियारमा प्रमूख नियुक्तिको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्ने प्रचण्डको दावी छ ।

‘उच्चस्तरीय राजनीतिक समितिमा एमालेबाट पहिलो प्रस्ताव आयो । औपचारिक बैठकमा मधेसी मोर्चाको तर्फबाट प्रस्ताव आयो’, प्रचण्डले भन्नुभयो, ‘संवैधानिक परिषदले एकमतले राष्ट्रपतिकहाँ लगेको सिफारिस संवैधानिक र नैतिक रुपमा राष्ट्रपतिले स्वीकृत गर्नुपर्छ ।’

‘बिरोध गर्दैमा चुनाव रोकिन्न’

प्रचण्डले आन्दोलनरत पक्ष सहमतिमा नआएपनि चुनाव नरोकिने बताउनुभयो । विरोधमा रहेको नेकपा—माओवादी लगायतका दललाई सहमतिमा ल्याउने प्रयास भईरहेको भन्दै प्रचण्डले जति प्रयास गर्दापनि सहमतिमा नआए चुनाव नरोकिने बताउनुभयो ।

‘निर्वाचन यतिबेलाको मुख्य जिम्मेवारी हो । दुईचार दिनभित्रमा चुनावको मिति घोषणा हुन्छ’, प्रचण्डले भन्नुभयो, ‘सबैका असहमतिको सम्बोधन हुन्छ । यति हुँदापनि एकाध पार्टीले अवरोध गरेभने चुनाव रोकिन्न ।’

प्रतिक्रिया दिनुहोस