MENU

समाज

ujyaalo forign call inside

किन जाँदैनन् सुदूर पश्चिममा पर्यटक

विनोद ढकाल/उज्यालो   

काठमाडौ – हुन त देशको कुल क्षेत्रफलको करिब ४२ प्रतिशत क्षेत्रफल मध्य र सुदुर पश्चिमाञ्चल क्षेत्रले ओगट्छ ।

तर विकासमा भने यो क्षेत्र अझै पनि पछि नै छ । नेपाल घुम्न आउनेमध्ये केवल दुई प्रतिशत पर्यटक मात्रै यस क्षेत्रमा पुग्छन् ।

‘घुम्ने ठाउँ नभएर होइन, प्रचार प्रसार नभएर पर्यटक नगएका हुन्’ सुदूर पश्चिम क्षेत्रका पर्यटन अगुवा अमर शाही भन्नुहुन्छ ‘मुहान (काठमाडौ)मा पहुँच नभएर हामी पछाडि पर्‍यौं ।’

घुम्नका लागि देशका अरु ठाउँभन्दा कम छैनन् मध्य र सुदुर पश्चिम पनि । मध्यपश्चिमको जुम्ला नेपाली भाषाको उद्गम थलो मानिन्छ । संसारकै अग्लो उचाइमा धान खेती हुने ठाउँ पनि यही हो ।

हुम्लामा सैपाल हिमाल छ, लिमी उपत्यका र चाङ्ला हिमाल पनि छ । डोल्पा से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, याक क्याराभान र तिब्बती संस्कृतिका लागि पनि प्रसिद्ध छ ।

खप्तड क्षेत्र, रारा ताल पनि यही क्षेत्रमा पर्छ । रोल्पा र रुकुममा भर्खरै सञ्चालनमा आएको गुरिल्ला ट्रेक पनि घुम्ने नयाँ ठाउँ हो । रामारोशन, बडिमालिका, अपी नाम्पा संरक्षण क्षेत्र पनि रमणीय छन् ।

तर यति हुँदा हुँदै पनि नेपाल घुम्ने धेरै विदेशी पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष समेत पुग्दैनन् ।

काठमाडौसम्म मध्य र सुदूरपश्चिमको पहुँच नभएकैले विकासका अरु पूर्वाधारमा जस्तै पर्यटनमा पनि पछाडि परेको शाहीको भनाई छ ।

‘पर्यटकको भ्रमण तालिका बनाउने ट्रेकिङ एजेन्सी, टुर अपरेटरले हो, तर उनीहरुसम्म सुदूर पश्चिमको पहुँच नहुँदा उनीहरुको भ्रमण कार्यक्रममा पर्न सकेन’ उहाँ भन्नुहुन्छ ‘सोलुखुम्बु, कञ्चनजंघा, राउण्ड अन्नपूर्णमा दोहोर्‍याई तेहेर्‍याई पठाइरहेका हुन्छन्, मध्य र सुदूर पश्चिममा पठाउँदैनन् ।’

अहिले पदयात्राका लागि आउने पर्यटकहरु धेरैजसो सोलुखुम्बु जान्छन्, त्यसपछिको अन्नपूर्ण संरक्षण क्षेत्र र कञ्चनजंघा संरक्षण क्षेत्रमा जान्छन् ।

घुम्न आउनेहरु पोखरा, सौराहा, लुम्बिनी जस्ता ठाउँमा धेरै जान्छन् । सुदूर पश्चिमका वासिन्दा आफ्नो क्षेत्रपनि पर्यटकका लागि त्यति नै महत्वपूर्ण र लोभलाग्दो भएको दाबी गर्छन् ।

‘हामीले प्रचारप्रसार गर्न नसकेर हो’ पर्यटन विकास समाज धनगढीका अध्यक्ष कृष्णबहादुर महरा भन्नुहुन्छ  ‘हामीसँग भएका कुराको प्रचार गर्न सकेका छैनौं, सरकारले पनि ध्यान दिएन ।’

त्यसैले केही बर्षयता ‘सुन्दर सुदुर पश्चिम’को नारा सहित प्रचारप्रसार थालिएको छ । आफ्नो ठाउँ चिनाउन गत जेठ १० देखि १२ गतेसम्म काठमाडौमा मध्य तथा सुदूर पश्चिम महोत्सव गरेर पर्यटकीय गन्तब्य, साँस्कृतिक सम्पदा, गीत नाच र झाँकीहरु, खानाका परिकारहरु प्रदर्शन गरियो ।

‘हामीले काठमाडौका ट्रेकिङ एजेन्सी, टुर अपरेटर र सरकारलाई मध्य र सुदूर पश्चिमको सम्भावना देखाउन काठमाडौमा महोत्सव गरेका हौं’ ट्रेकिङ एजेन्सी रैका ट्राभल्स सञ्चालक समेत रहेका शाहीले भन्नुभयो ।

तर मध्य र सुदूरपश्चिममा पर्यटक पुर्‍याउन सजिलो नभएको नेपाल ट्रेकिङ एजेन्ट एशोसिएशन अफ नेपाल(टान)का महासचिव मोहन लम्साल बताउनुहुन्छ ।

‘ती क्षेत्रमा पर्यटकीय रुटहरु पनि कम छन्, यातायात खर्च धेरै लाग्छ, तालिमप्राप्त गाइड र कुकहरु पनि काठमाडौबाटै लैजानुपर्छ, त्यसैले ट्रेकिङ एजेन्सीहरु सजिलोका लागि त्यहाँको प्याकेज बेच्न मान्दैनन्’ उहाँ भन्नुहुन्छ ।

मध्य तथा सुदूर पश्चिममा दर्ता भएका ट्रेकिङ रुटहरु कम छन् । काठमाडौबाट ती सडकको राम्रो ब्यवस्था नभएकाले हवाइजहाज चढेर जानुपर्छ । लम्साल भन्नुहुन्छ ‘हुम्ला, डोल्पालाई सरकारले प्रतिबन्धित क्षेत्र घोषणा गरेर प्रति पर्यटक ५ सय डलर प्रवेश शुल्क लिन्छ, यसले पनि त्यस क्षेत्रको भ्रमण महङ्गो बनेको छ ।’

मध्य र सुदूर पश्चिमको विकल्प छैन

बिभिन्न समस्याका वावजुद पनि अब मध्य र सुदूर पश्चिममा पर्यटन विकासको विकल्प नभएको पर्यटन अगुवा शाही बताउनुहुन्छ ।

‘नेपाल भ्रमण गर्ने पर्यटकहरु नयाँ गन्तब्यको खोजीमा छन्, ट्रेकिङ एजेन्सी र टुर अपरेटरहरुले पनि नयाँ ठाउँको प्याकेज बेच्न सकेनन् भने उनीहरुको व्यापार पनि चल्नेवाला छैन’ शाही भन्नुहुन्छ ‘अब मध्य र सुदूर पश्चिममा पर्यटक पुर्‍याउनुको विकल्प छैन ।’

अहिले पूर्वाधारको विकास नभएपनि पर्यटक जान थालेपछि ती समस्या पनि नरहने शाहीको भनाई छ । ‘यो त विस्तारै हुँदै जाने हो, १०/१५ वर्षअघि त सोलुखुम्बु र अन्नपूर्णमा पनि यस्तै समस्या थियो, पर्यटक जान थालेपछि त लगानी बढेको हो नि’ शाही भन्नुहुन्छ ।

टानले पनि अहिले सुदूर पश्चिममा नयाँ पदयात्रा रुट निर्माण गर्न लागेको जनाएको छ । सम्भावना हेरेर थप ३/४ वटा नयाँ पदयात्रा मार्ग बनाउन लागेको महासचिव लम्सालले बताउनुभयो ।

बढ्दैछ पर्यटनमा लगानी

मध्य र सुदूर पश्चिमका ब्यवसायीहरु पनि पर्यटन क्षेत्रमा लगानी बढाइरहेका छन् । सुदूर  पश्चिममा मात्र पर्यटन उद्योगमा २ अर्बभन्दा बढी लगानी भएको महरा बताउनुहुन्छ ।

‘सरकारको मुख ताक्नुभन्दा सम्भावना भएको क्षेत्र हेर्दै हामी आफैं लगानी गर्न थालेका छौं, अरु भन्दा पर्यटनमा बढी सम्भावना देख्यौं त्यसैले यसैमा लगानी गर्‍यौं’ धनगढीको होटल डिभोटीका प्रबन्ध निर्देशक समेत रहेका महराले भन्नुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया