MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

थारु महिलाको स्वतन्त्रताको दिन ‘अष्टिम्की’ पर्व

सन्तोष दहित

थारु समुदायका महिलाहरुको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात ‘अष्टिम्की’ हो । यो दिन उनीहरुको स्वतन्त्रताको दिन पनि हो । किनकी अरु दिन घरको काममा व्यस्त हुने थारु समुदायका महिलाहरुलाई यो दिन चाहिँ पुरुषले सघाउँछन् ।

कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिको लगाउनु’ बाट भएको  थारु सँस्कृतिविद अशोक थारुले बताउनुभयो । 

अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टिको लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका रुपमा लिन्छन् । ‘अष्टिम्की’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउने गर्छन् । ‘अष्टिम्की’ आउने एक/डेढहप्ता अघिदेखि थारु महिलाहरु ‘अष्टिम्की’को तयारीमा जुटेका हुन्छन् । थारु महिलाहरुको सबैभन्दा महान पर्व भएकोले त्यसदिन बिशेषगरी नयाँ कपडा (रातो, कालो चोली, सेतो गुन्यु), बिभिन्न थरिका गहनाको तयारी गर्ने गर्छन् । यसरी कपडा गरगहना तयारी गरिसकेपछि ‘अष्टिम्की’को अघिल्लो रात दर खानको लागि माछा मार्ने, घोङघी खोज्न जाने गर्छन् ।

यस्तै भित्ते चित्र बनाउको लागि बिभिन्न थरीको रंग, चुन, गोबर माटो, चित्र कोर्नको लागि बाँसको ब्रस, आदि जुटाउने गर्छन् । त्यस्तै पकाउनको लागि दउरा, अग्रसान ‘कोसेली’ दिन जान सालको पात टिपेर टपरी लगाउने, घर सरफाई गर्ने लगायत कामको तयारी गरेका हुन्छन् ।

भित्तामा कोरिएको चित्रको सबैभन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्ये बीचमा रहेका श्री कृष्ण (कान्हा)लाई टीका लगाएर अन्य चित्रमा क्रमशः सिन्दुरको टिका, कलशको जलद्वारा पूजा गरिन्छ ।

 ‘अष्टिम्की’को पहिलो दिन

‘अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत बस्छन् । अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र बनाउनको लागि पुरुष पनि व्रत बस्ने गर्छन् । यसरी यो दिन थारु महिलाहरुले दिउँसो ११/१२ बजेतिर नुहाईधुवाई गरी अष्टिम्कीमा पूजा गर्नको लागि बिभिन्न थरीको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने तयारी गर्छन् भने पुरुष चाहिँ अष्टिम्कीको चित्र बनाउन तिर लाग्छन् । अष्टिम्कीको चित्र बनाउनको लागि थारु महिलाहरुले पनि सहयोग गर्ने गर्छन् ।

यसरी चित्र बनाइसकेपछि बेलुका गाउँका सबै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर,  लिएर लाइबद्ध रुपमा महटावाको घरमा जाने गर्छन् । त्यहाँ गाउँका सबै थारु महिलाहरु जुटीसकेपछि महटावाको श्रीमतीले सबैभन्दा अगाडी पूजा गर्छन् । त्यसपछि अरु अघि सर्छन् ।

गाउँका सबैले पूजा गरिसकेपछि सबैले आ–आफ्नो घरमा गएर दही, फलफूल खाइसकेपछि पुन महटवाको घरमा गई रातभरी सामुहिकमा ‘अष्टिम्की’को गीत गाइन्छ । अष्टिम्कीमा यसप्रकारको गीत हुन्छ:

हरे पहिल छ सिर्जल जल थल धरती
सिरीजी ट गइल हो कुशकै डाब २
सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २

‘अष्टिम्की’ दोस्रो दिन    

यसरी रातभरी गीत गाइसकेपछि विहान ६ वजे गाउँभरीका सबै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको दियो ‘दिप पज्वलन’, ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन् । पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन’, ज्यामिर, फूल एकसाथ बगाउने गर्छन् ।

यसदिन बगाएको ज्यामिर धेरै मिठो हुने गरेको थारु जानकारहरु बताउँछन् । यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल बगाई सकेपछि नुहाई धुवाई गरी आ–आफ्नो घरमा जन्छन् । अघिल्लो दिन जस्तै भात, तीनथरीको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन् ।

यसरी दुई दिनसम्म थारु महिलाहरु वर्षको एकचोटी आउने महान पर्व अष्टिम्की मनाउने गर्छन् । यो पर्व मनाउन पाउने थारु महिलाहरुको आफ्नो लागि ठूलो खुशी र स्वतन्त्रताको दिन पनि मान्ने गर्छन् । सधैभरी घरको काममा व्यस्त रहने थारु महिलाहरु अष्टिम्कीको दिन भने कुनै पनि काम गर्नु पर्दैन । सबै काम पुरुषले गर्ने भएकाले थारु महिलाहरुले यस दिनलाई स्वतन्त्रताको दिन मान्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया