MENU

बातावरण-कृषि

Ncell Axiata

गिद्ध संरक्षणका लागि जटायु रेष्टुरेन्ट

सुमन पुरी/उज्यालो । सुनसरी, माघ १८– गिद्ध नेपाली समाजमा अपसकुनको प्रतिक मानिन्छ । घरमा गिद्ध आएर बस्यो भने नराम्रो हुन्छ भन्ने मान्यता छ । कसैले नराम्रो दृष्टिले हेर्दा गिद्धे दृष्टि भनिन्छ ।

हुन त पौराणिक ग्रन्थहरुमा गिद्धको महिमाको बारेमा पनि वर्णन गरिएको छ । यसले मानिसलाइ धेरै सहयोग गरेको कुरा पनि पौराणिक ग्रन्थहरुमा छ । तर गिद्ध सहयोगी पंक्षी हो भन्ने कुरा थाहा नुहँदा यसलाई मानिसले राम्रो दृष्टिले हेर्दैनन् ।

मरेका जनवारहरु गिद्धले खाएर यसले बिभिन्न खाले रोगको सङ्क्रमणबाट बचाएर प्राकृतिक कुचीकारको काम गर्छ । मानिसले उठाउन नसक्ने फोहारहरुको उचित व्यबस्थापन गर्छ । यस्तै फाइदा बुझेर सुनसरी महेन्द्रनगरका वासिन्दाले गिद्धको संरक्षणको लागि जटायू रेष्टुरेन्ट सञ्चालन गरेका छन् । गिद्धले खाने आहारा यो रेस्टुरेन्टमा पाइन्छ । साथमा गिद्धको बासस्थानको समेत व्यबस्था गरिएको छ ।

जटायु रेष्टुरेन्टका व्यबस्थापक केदार राइले भन्नुभयो ‘रामधुनी सामुदायिक बन उपभोक्ता समितिको पहलमा हामीले गिद्ध संरक्षणको अभियान थालेका हौं ।’ गएको बैशाखदेखि सामुदायिक बन उपभोत्ता समितिको क्षेत्रभित्र जटायू रेष्टुरेन्ट सञ्चालनमा आएको हो । ‘नेपालमा पहिलो पटक नवलपरासीमा यस्तो रेष्टुरन्ट सञ्चालनमा आएको थियो’ उहाँले भन्नुभयो, ‘यही देखेर हामीले पनि सञ्चालन गर्ने योजना बनायौं ।’

पक्षी संरक्षण र अनुसन्धानको क्षेत्रमा काम गर्ने चराबिद डा हेमसागर बरालसँगको सर– सल्लाहा र सहयोगमा काम सुरु गरेको ब्यवस्थापक राईले बताउनुभयो । जटायु रेष्टुरेन्टका लागि गैर सरकारी संस्था हिमाली प्रकृतिले सहयोग गरेको छ । रेष्टुरेन्टमा गिद्धका बारेमा आवश्यक पर्ने सम्पूर्ण जानकारी पाइन्छ । गिद्धलाई आवश्यक पर्ने अहाराका लागि सो क्षेत्रबाट बुढा र मर्न लागेका गाईबस्तुहरु जम्मा गरिन्छ । रामधुनी सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष हरिनारायण चौधरीले भन्नुभयो ‘पूर्वमा छुट्टै पहिचान बनाउने उदेश्यले यो कामको शुरुवात गरेका हौ । हामीले गिद्धका बारेमा यस क्षेत्रमा प्रचारात्मक अभियान पनि चलाएका छौ ।’

सामुदायिक वन समूहले गिद्धले मानिसको जीवनमा पुर्याउने सहयोगका बारेमा सुनसरीको प्रकाशपुर मधुबन, महेन्द्रनगर बराहक्षेत्र लगायतका क्षेत्रका स्कुलमा गएर जानकारी गराउने गरेका छन् ।

गिद्ध मासिनुको पहिलो कारण हो पशूहरुलाई डाइक्लोफेनक नामक औषधि खुवाउनु हो । यस्तो औषधि खाएका जनवारहरुको सिनो खाए गिद्धहरु मर्छन् । ‘हामीले यो क्षेत्रमा डाइक्लोफेनक नामक औषधि प्रयोग गर्न बन्द गराएका छौं’ चौधरीले भन्नुभयो ।

नेपालमा नौ प्रजातिका गिद्धहरु पाइन्छन् । हाडफोर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, डङ्गुर, राज गिद्ध सुना गिद्ध, लोमो डुडे गिद्ध हिमाली गिद्ध, र खैरो गिद्ध नेपालमा पाइने गिद्ध हुन् । यी मध्ये हिमाली र डङ्गुर गिद्ध रामधुनी सामुदायिक बन उपभोक्ता समितिमा सञ्चालित जटायु रेष्टुरेन्टमा पाइन्छन् ।

अहिले आहारा हालेको बेला ८० देखि १ सय वटा सम्म गिद्ध आँउछन् । स्थानीय तथा सामुदायिक बन उपभोत्ता समितिका पूर्व अध्यक्ष जोनी लिम्वूले यो क्षेत्रमा गिद्ध आउने क्रम दिन दिनै बढ्दै गएको बताउनुभयो  । ‘सवै अनुसन्धान गरेर हामीले आहारा हाल्न थाल्यौ एक महिना सम्म कुनै पनि गिद्धले आहारा खाएन’ उहाँले भन्नुभयो ‘एक महिना पछि मात्रै गिद्धहरु आएर चारो खान थाले ।’

रामधुनी सामुदायिक बन क्षेत्रमा अग्ला अग्ला रुखहरु पनि भएको र मानिसहरुको घञ्चो मञ्चो पनि रोकेपछि अहिले गिद्धहरु निर्धक्क आएर बस्न थालेका छन् । गिद्ध बस्ने र खेल्ने स्थानमा मानिसहरु नपुगुन् भनेर जटायू रेष्टुरेन्ट व्यबस्थापन समितिले सो क्षेत्रमा तार बारको व्यबस्था गरेको छ । अनधिकृत रुपमा मानिसको चहल पहल नहोस भनेर हेरालुको समेत व्यबस्था गरेको छ । गिद्धलाई चाहिने आहारको लागि बुढा गाई बस्तुहरु सङ्कलनको काम समेत गरेको छ । आसपासका गाँउ गाँउमा गाइ बस्तु मरे भने सम्पर्क गर्नसमेत भनिएको छ । अहिले कोही गाँउलले पनि मरेको गाइ बस्तु गाड्दैनन् ।

स्थानीय तथा युचेप नेपालका रविन घिमिरेले अहिले गाइ बस्तु मरे भने रेष्टुरेन्टमा फोन गर्न थालेको बताउनुभयो । ‘हामी गएर डाइक्लोफेनाक खुवाएको नखुवाएको परीक्षण गर्छौ र नखुवाएको पाइए ल्याएर गिद्धलाइ दिन्छौं’ उहाँले भन्नुभयो  ।  

एउटा गिद्धले बर्षमा एक पटक एउटा मात्रै अण्डा पार्छ । गिद्धको प्रजाती अनुसार एउटा अण्डाबाट चल्ला कोरल्न ४५ दिन देखि ८० दिनसम्म लाग्छ । उड्नका लागि कम्तीमा एक सय २० दिन लाग्छ । यसले गर्दा गिद्धलाइ सन्तान उत्पादन गर्नका लागि धेरै समय लाग्छ ।

अहिले ठूला ठूला रुखहरु मासिएका छन् । संरक्षित वन भएकाले यो क्षेत्रमा रुखहरु पनि बढ्दै छ । घिमिरेले यो क्षेत्रमा गिद्धको रेष्टुरन्ट खोल्यो भने गिद्ध संरक्षित हुन्छन् भनेर यो अभियान थालेको जानकारी दिनुभयो । यसले सामुदायिक बनको आय श्रोत पनि बढ्ने बिश्वास राखेका छौ । गिद्धको अवलोकन गर्नका लागि समितिले अवालोकन घर बनाएको छ ।

अवालकेन घरमा गएर गिद्धहरुले खाएको खेलेको हेर्न सकिन्छ । समितिले दुरबिनको समेत व्यबस्था गरेको छ । केहि समय पछि बन क्षेत्रमा पार्क र पिकनिक स्पोट समेत बनाउने आय आर्जनको बाटो खोल्ने स्थानीयबासिन्दाको योजना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बिहान र साँझमा मात्रै कराउने चिरकालिज लोप हुने अवस्थामा

    म्याग्दी, कात्तिक २ – विश्वमा नै संकटापन्न र नेपालका लागि दुर्लभ मानिने चिरकालिज वासस्थान र उचित वातावरण अभावका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया