MENU

अन्तर्वार्ता

ujyaalo forign call inside

सुटिङसँगै हाम्रो ‘इलु इलु’ पनि सकियो : बेनिशा हमाल

चलचित्र ‘स्वर’बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका बेनिशा हमालले अहिलेसम्म एकसयवटा म्युजिक भिडियोमा अभिनय गरेकीछन् भने पाँचवटा चलचित्रमा आफ्नो अभिनयको कला देखाइसकेकी छिन् ।

चितवनबाट ६ वर्षअघि काठमाडौं प्रवेश गर्दा उनलाई चलचित्रकी नायिका बन्छु भन्ने लागेको नै थिएन रे । रेडियो प्रस्तोता हुँदै टेलिभिजनमा भिजेका रुपमा काम गरेपछि विस्तारै उनको मोह म्युजिक भिडियो र चलचित्रतर्फ बढेको हो ।

‘स्वर’ फिल्म रहरै रहरमा खेलेकी बेनिसाको त्यसपछि फिल्म नखेल्ने भनेर यो क्षेत्रमा आएपनि बिस्तारै ‘ज्यान हाजिर छ’, ‘महसुस’, ‘म अनि तिमी’ हुँदै ‘मोक्ष’सम्म आईपुगेकी छिन । उनी अभिनित चलचित्र मोक्ष यही माघ २४ गतेबाट अलनेपाल रिलिज हुँदैछ । नायिका हमालसँग गरिएको कुराकानीको अंश :

अहिले केमा ब्यस्त हुनुहुन्छ ?

अहिले चलचित्र ‘मोक्ष’को प्रोमोसनमा ब्यस्त छु । त्यसदेखि बाहेक एकदुई वटा म्युजिक भिडियोहरु पनि गरिरहेकी छु । अरु त्यस्तो त खासै केही छैन । मास्टर्स पढिरहेकी हुनाले पढाईलाई पनि समय दिइरहेकी छु ।

चलचित्र क्षेत्रबाट के पाउनुभयो त ?

चलचित्र क्षेत्रबाट भनेजस्तो दाम त मैले पाईन होला तर एउटा सम्मान पाएको छु । मेरो करियर सुरु भएको धेरै समय भएको छैन तर यो अवधिमा आफूले पाएको उपलब्धिलाई म निकै ठुलो मान्छु । दर्शकहरुबाट धेरै माया पाएको छु, जुन मेरो सबैभन्दा ठुलो सम्पत्ति हो ।

अब त नायिका भइसक्नु भयो, सबैले फिल्मबाटै चिन्छन् फेरि म्युजिक भिडियो के का लागि ?

अक्सर मान्छेहरुले भन्छन म्युजिक भिडियो गर्न थालेपछि नायिका बन्ने अवसरहरु आउँछ, त्यो हो पनि तर नायिका बनेपछि म्युजिक भिडियोमा काम गर्नु हुदैन भन्ने कहाँ लेखेको छ र ?

र जहाँसम्म के का लागि भन्ने प्रश्न छ, त्यसमा म के भन्छु भने जब मैले म्युजिक भिडियो गर्न सुरु गरेको थिएँ त्यसतिबेला मात्र रमाइलोको लागि गर्थें । तर, अहिले आएर आफूलाई आफ्नो काम मन पर्न थालेको छ । म म्युजिक भिडियो गर्छु, फिल्म गर्छु त्यो सब मेरो आत्मसन्तुष्टिको लागि, सम्मानको लागि र नामको लागि गर्छु ।

दामको लागि चाँही के गर्नुहुन्छ नी ?

म चलचित्र क्षेत्रमा पैसा कमाउन भनेर आएको होइन । पैसा नै कमाउने मेरो लक्ष्य थियो भने अहिलेसम्म मैले लगभग जस्तोपायो त्यस्तो सिनेमा गरेर २० वटा भन्दा बढी चलचित्र गरिसकेको हुन्थे होला । कहिले पनि मैले पैसाको लागि नै भनेर काम गरेको छैन ।

म अहिले पढीरहेकी पनि छु, अहिलेसम्म पनि मलाई घरबाट पैसा पठाइदिनुहुन्छ । मलाई फेमिली सपोर्ट पनि राम्रो छ । चलचित्र क्षेत्रमा लागेर मैले पैसा कमाउनु पर्ने छ भन्ने पनि छैन । तपाईंको राम्रो कामले दिने सन्तुष्टि त पैसाले दिने सन्तुष्टि भन्दा ठुलो हुन्छ नि, होइन र ?

महिनामा कति खर्च गर्नुहुन्छ ?

महिनामा यति नै खर्च हुन्छ भन्ने त्यस्तो केही छैन । तर खर्च भने भइ नै राख्छ । विषेश त कस्मेटिक, लुगा र चस्मामा मेरो खर्च धेरै हुन्छ । जे होस महिनामा १५–२० हजार त खर्च भइहाल्छ नि, थोरै खर्च गर्छु भन्दा पनि । तर यो खर्च भनेको मेरो ब्यक्तिगत खर्च मात्रै हो ।

तपार्इंमा के छ, जसले गर्दा मानिसहरु तपाईंलाई म्युजिक भिडियो या फिल्ममा लिन चाहन्छन् ?

हेर्नुस, म ऐना जस्तो छु । तपाईं ऐनाको अगाडि बसेर जस्तो ‘एक्ट’ गर्नुहुन्छ नि ‘रिएक्ट’ पनि त्यस्तै पाउनुहुन्छ । मान्छेहरुलाई मेरो त्यो ‘एक्ट’ मनपर्छ जस्तो लाग्छ । म मान्छेहरुसँग राम्रो व्यवहार गर्छु । कोही मसँग मित्रवत ब्यबहार गर्नुहुन्छ भने म उहाँहरुको लागि राम्रो साथी भइदिन्छु ।

तर यदि कसैले मेरो नराम्रो गर्न खोज्छ भने त्यतिबेला म जति नराम्रो अरु कोही हुँदैन । म ‘स्ट्रेट फरवार्ड’ नेचरकी छु । साथमा कामप्रतिको मेरो लगाव र इमान्दारिताले गर्दा पनि मलाई मानिसहरु म्युजिक भिडियो या त फिल्ममा लिन चाहान्छन । यदि मैले राम्रो काम गरेको थिइन भने त बेनिशा हमालले आज दुईवटा म्यजिक भिडियो खेलेर अर्को कुनै क्षेत्रमा रहेर काम गरिरहेको हुन्थी होला, आज सयौं भिडियो गरिसकेको हुने थिइन नि । होइन र ?

ऐना हेर्दा आफैंलाई मनपर्ने आफ्नो कुरा ?

सबैले तिम्रो स्माइल राम्रो छ भन्नुहुन्छ । ऐना अगाडी उभिँदा मलाई पनि यो कुरा सही नै लाग्छ । त्यसैले मलाई मेरो मुस्कान मन पर्छ । आखाँ पनि राम्रै छ तर धेरै ‘कम्प्लिमेन्ट’ मुस्कानबाटै पाउँदै आएकी छु ।

नेपाली चलचित्र क्षेत्रमा तपाईंलाई मनपर्ने नायक नायिका को हो ?

नायकको कुरा गर्दा मलाई चलचित्र मोक्षका नायक कोशिष क्षेत्री मनपर्छ । त्यसपछि राजेश हमाल पनि मन पर्छ र नायिकाको बारेमा भन्नुपर्दा केकी अधिकारी मेरो बेष्ट हो । त्यस्तै करिश्मा मानन्धर, जल शाह पनि मलाई मनपर्ने नायिका हुन् ।

कोशिष क्षेत्रीसँग तपाईको ‘इलु इलु’ परेको छ भन्छन् नि बजारमा, के यो साँचो हो ?

हो । ‘इलु इलु’ नै परेको हो तर चलचित्रको सुटिङ समयमा मात्रै । फिल्म सकियो, हाम्रो ‘इलु इलु’ पनि सकियो । त्यो प्रेमलाई दर्शकले चलचित्रको पर्दामा मज्जाले नै हेर्न पाउनुहुनेछ ।

–अर्जुनकुमार संग्रौला

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया