MENU

अन्तर्वार्ता

Ncell Axiata

वैदेशिक रोजगारीको नाममा महिला बेचबिखन बढेको छ – डा. रेणु राजभण्डारी

सामाजिक कलंकको रुपमा रहेको मानव बेचबिखन नियन्त्रणको धेरैै प्रयास हुँदा पनि यसमा कमी आउनुको साटो झन् बढेको छ । 

भारतीय सीमा क्षेत्रमा कडाई हुन थालेपछि केही मानव तस्करले वैदेशिक रोजगारीको बाटोलाई महिला बेचबिखनको माध्यम बनाउन थालेका छन् । कमजोर न्याय सम्पादनका कारण मानव तस्करी मौलाउँदै गएको मानव अधिकारकर्मीहरु बताउँछन् ।

यसै सन्दर्भमा महिला मानवअधिकारकर्मी डा. रेणु राजभण्डारीसँग उज्यालो अनलाइनका लागि विनोद चौलागाईंले गरेको कुराकानीः  

अहिले नेपालमा मानव बेचबिखनको अवस्था कस्तो छ ?

हामीकहाँ विगत २० वर्षको कुरा गर्नुभयो भने मानव बेचबिखन दुईसय प्रतिशतले बढेको छ । पहिले एउटा सानो रुपमा यहाँबाट भारतीय दलालले ललाइफकाई यौन शोषणको लागि लग्ने क्रम थियो भने अहिले एकदमै स्थापित मेनपावर एजेन्सी अर्थात रोजगारदाता कम्पनीहरुबाट कानुनी रुपले यहाँबाट महिलालाई लगेर बेचिने काम भैरहेको छ ।

बेचबिखन भनेर पैसाको लेनदेन होइन कि बेचबिखनको स्थितिमा पुर्‍याइने गरेको छ । यसको सहजीकरण चाहिँ सरकारले गरेको छ । त्यसकारणले मानवीय वेचबिखन एकदमै बढेको छ ।

अहिले रुप परिवर्तन पक्का पनि भएको छ । रुप परिवर्तन भनेको यौन शोषणमा मात्र सीमित छैन । मैले एकजना पीडितसँग कुरा गरेको थिएँ । उहाँलाई यहाँबाट दिल्ली, दिल्लीबाट मुम्बई, मुम्बईबाट कतार र कतारबाट सिरिया पुर्‍याइएको छ । सिरिया जस्तो देशमा पुगेर त्यहाँ पीडित भएर मैले कसरी न्याय पाउने भनेर हामीकहाँ आउनुभएको थियो । यो तरिका छ मानव बेचबिखनको ।

अहिले मान्छे बैदेशिक रोजगारीमा जान चाहन्छ । जान पाउनु पनि पर्छ । तर सरकारको सही नीति र सहजीकरण राम्रो नभएका कारणले बेचबिखन ओसारपसार अहिले बढिरहेको छ । प्रवृत्ति यसरी परिवर्तन भएको छ ।

बेचबिखन भन्नाले हिजोका दिनहरुमा भारतीय शहरहरुमा पुर्‍याइन्छ भन्ने थियो अहिले त्यो बैदेशिक रोजगारीको नाममा हुँदैछ भन्न खोज्नुभएको हो ?

एकदमै हो । भारतको शहरमा अहिले पनि विभिन्न कामको लागि पुर्‍याइन्छ । तर युरोप, अमेरिकामा पनि पुर्‍याइएको छ, कोरियामा विवाहको नाममा बेचबिखन हुन्छ । अहिले अर्को खालको बेचबिखन मृगौलाको लागि हुन थालेको छ । भनेपछि विभिन्न रुप चाहिँ थपिंदै गएको छ र मानवीय बेचबिखन बढेको छ ।

बैदेशिक रोजगारीका क्रममा बिदेशमा समस्यामा परेर फर्किएका महिलाले न्याय पाउन किन सकिरहेका छैनन् ?

हाम्रो देशको न्याय व्यवस्था  पीडितका लागि पनि हैन, गरिबका लागि पनि हैन ।  पीडितले न्याय हाम्रोमा पाउँदैनन् हेर्नुस् । खै सीता राईले न्याय पाएको ? वैदेशिक रोजगारीबाट फर्किंदा त्यति ठूलो अत्याचार र पीडा भोगेपनि उहाँलाई न्याय भएन । मैंले यो यहाँ किन भन्न खोजेको हो भने हाम्रो न्याय व्यवस्था पीडितमुखी छैन । पीडितमुखी बनाउनुपर्छ हाम्रो न्याय व्यवस्थालाई ।

कानुनी प्रक्रिया यति झन्झटिलो र यति लामो छ कि एउटा महिला पीडित भएको हुन्छ । जाँदाखेरी पैसा तिरेर गएको हुन्छ । आउनलाई पनि कतिपय महिलालाई घरबाट पैसा पठाएर अर्को ऋण थपिएको हुन्छ । आउने बित्तिकै घरपरिवारको मान्छेले पनि के भनिराखेको हुन्छ भने तैंले यहाँ पनि काम गर्न सकिनस् ? एक किसिमको लान्छनाको यति धेरै पोका हुन्छ की उसले अदालतमा गएर त्यो थेग्नै सक्दैन । त्यही भएर बिचमा एकदुई लाखमा मिलाएर मुद्दा फिर्ता लिनुपर्ने अवस्था हुनसक्छ ।

हामीकहाँ शान्ति सुरक्षाको व्यवस्था छैन । अर्को वैदेशिक रोजगारीमा ठगीको मुद्दा चलाइन्छ । मानव बेचबिखनबाट मुद्दा चलाउन मान्दैनन् । जबकी बेचबिखन ओसारपसारको केस हुन्छ । प्रहरीले ठगीमा लान खोज्छ । त्यसले गर्दा थोरै सजाय हुन्छ । ठगीबाट सजायँ पाएर न्याय पाउने भनेको कुरा महिलाभन्दा रोजगारदाता कम्पनी धेरै पावरफुल छन् । मन्त्रालय सम्हालेर बसेका छन् । भनेपछि न्याय पाउने त कुरै भएन ।

हामीकहाँ भारतीय शहरमा बेचबिखनमा परेका महिला स्वदेश फर्किएर अदालतमा मुद्दा चलाउँदा पीडितका पक्षमा फैसला भएको थुप्रै उदाहरण छन् । तर त्यसै प्रकृतिको घटनामा वैदेशिक रोजगारीको नाममा भएको बेचबिखनको हकमा चाहिँ किन त्यस्तै खालको मुद्दा चल्न नसकेको ?

त्यो किनभने तेस्रो मुलुकमा पठाउने मान्छे पैसावाल छ । भारतमा पनि ललाइफकाई लगेर किटानी जाहेरी दिएको मान्छेमा पनि सबभन्दा निमुखा मान्छेले सजायँ पाएका छन् । त्यहाँपनि पावरफुल मान्छेले सजाय पाउँदैनन् । तेस्रो मुलुकमा कम्पनीहरुले पठाएको छ । त्यसले हाम्रो न्याय व्यवस्थालाई नैं किनेको छ । हाम्रो प्रशासनलाई किनेको छ । यो भन्दाखेरि थुप्रै उदाहरण छन् । त्यसैले भन्ने आँट गरेको छु मैले । हामीकहाँ पावरका पक्षमा न्याय जान्छ, पीडितका पक्षमा जाँदैन ।

बेचबिखनबाट जोगिन महिलाहरु कसरी सचेत हुने ?

हो । बेचबिखनबाट जोगिन महिलाहरु सचेत हुने स्थिति त आएको छ । तर महिलाहरु मात्र सचेत भएर हुँदैन । यहाँनेर समाज सचेत हुनुपर्‍यो । महिलाहरुलाई सघाउने मान्छे सचेत हुनुप¥यो । सबैभन्दा धेरै सचेत त सरकारी निकाय हुनुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया