MENU

अन्तर्वार्ता

Ncell Axiata
USAID

मलाई हेडमास्टरको जति पनि अधिकार भएन : नेम्वाङ

सरकारले २६ जनाको मनोनयन नगरेकाले संविधानसभामा अहिले ५ सय ७५ जना सभासद कायम छन् ।

अहिले त परेको छैन तर कुनै पनि विषय पारित गर्न परेमा कम्तिमा एकसय ४२ जना सभासद उपस्थित हुनुपर्छ । विहिबार संविधानसभा बैठकमा नेपाली कांग्रेसका सभासद धनराज गुरुङले गणना गर्दा ८२ जना उपस्थित थिए ।

तर ३ बजे तिरको गणनामा ५० जना पनि पुग्न मुस्किल भयो । संविधासनभामा सभासदको उपस्थिति किन यस्तो टिठलाग्दो भएको छ  त ? उज्यालो अनलाइनका लागि साथी बोमलाल गिरीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग कुराकानी गर्नुभएको छ :

संविधानसभामा अहिले तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ । उपस्थित सभासदको संख्या कति हुने गरेको छ ? कुनै दिन गणना गर्नुभएको छ ?

संविधानसभामा अहिले गम्भीर छलफल चलिरहेको छ । तर सभासद, दलका नेता र मन्त्रीहरुको उपस्थिति न्यून छ । यस बारेमा सार्वजनिक रुपमा टिका टिप्पणी पनि भएका छन्, त्यो ठिक होइन । मैले औपचारिक रुपमा पनि ध्यानाकर्षण गराएको छु । विदेश नजान र काठमाडौं नछोड्न आग्रह गरे । तर त्यसको बाबजुद पनि उपस्थिती न्यून छ । मैले दल र दलका मुख्य सचेतकहरुलाई पनि पटक पटक झक्झकाउने काम गरेको छु ।

तपाईं त संविधानसभाको हेडमास्टर । विद्यार्थीले अनुशासन पालना गरे/गरेनन्, आए/आएनन् र आए पनि हाजिर गरेर भाग्छन् भन्ने कुरा बाहिर आइरहेको छ । तपाईंले विद्यार्थीलाई अनुुशासनमा बाँध्न त सक्नु भएको छ त ?

यसलाई त्यसरी तुलना गरेर हेर्न मिल्दैन । हेडसरले सायद धेरै कुरा गर्न सक्छन् । तर संविधानसभाको प्रमुखले गर्न सक्ने त्यति मात्र हो जति मैले गरिरहेको छु । मैले दलहरुमार्फत नै सभासदलाई भन्नुपर्छ । दलका मुख्य सचेतकहरुमार्फत नै भन्नुपर्छ र ध्यानाकर्षण गराउनु पर्छ । सायद पहिलो पटक होला मैले संविधानसभामार्फत नै ध्यानाकर्षण गराएँ र झक्झकाएँ । त्यो बाहेक अरु तरिका नियमले परिकल्पना गरेको छैन । छन् भने यसो गर्दा हुन्छ भनेर सुझाव दिन सक्नु हुन्छ । त्यो नियमल विपरित हुन्छ कि हुदैन विचार गर्छु र कार्यान्वयन गर्छु ।

संविधानसभा नियमावलीको परिच्छेद १३४ अनुसार लगातार १० वटा बैठकमा अनुपस्थित हुने सदस्यलाई अध्यक्षले कारबाही गर्न सक्ने व्यवस्था छ नी ? कि त्यस्तो व्यक्ति अहिलेसम्म पाउनु भएको छैन ?

त्यस्तो छैन । तपाईंले नियमावलीमा भएको कुरा गर्नुभयो । त्योसँगै त्यसमै अर्को व्यवस्था पनि छ । जुन अनुपस्थित रहेका सदस्यको जानकारी गराउने हो । कुनै कार्यक्रममा गएको भए फर्केर आएपछि जानकारी गराउने व्यवस्था छ । जुन व्यवस्था अनुसार सभासदले लिखित रुपमा जानकारी गराउने गर्छन र त्यही जानकारी अनुसार नियमावली प्रयोग हुनेगर्छ । यसलाई पनि हेक्का राख्नुपर्छ ।

चाहेको भए नियमावली बनाउने बेलामै धेरैकुरा सिक्ने अवसर थियो । अघिल्लो संविधानसभामा मुख्य दलका नेताहरु त संविधानसभा र समितिहरुमा निकै कम उपस्थित भए । तर त्यससबाट पनि तपाईहरुले पाठ सिक्नु भएन र नियमावलीमा कडाई गर्नुभएन है ?

निमायवलीले ती सबै कुरालाई ध्यान दिए पनि यत्तिको नियमावलीले ठिक ठाउँमा पुगिएला भनेर यस्तो नियमावली बनाइएको हो । अहिले विभिन्न कारण हुन सक्लान । अहिले विभिन्न दलका विभिन्न कार्यक्रम होलान । तर ती कार्यक्रम भन्दा पनि दलहरुले संविधानसभालाई महत्व दिनुपर्छ । तपाईले उठाए जस्तै प्रश्न आउलान भनेर मैले पहिले नै रुलिङ गरेको छु ।

बाहिरबाट हेर्दा दलका मुख्य सचेतक क्लास टिचर, तपाईं हेडमास्टर । क्लास टिचरलाई त हेडमास्टरले तह लगाउन सक्ला भनिएको थियो । तर त्यसो भए त तपाईंसँग कुनै अधिकार नै रहेनछ है ?

मैले दलहरुकै ध्यानाकषर्ण गर्नुपर्छ । मुख्य सचेतक मार्फत सभासद्को धयनाकर्षण गराउने हो । मैले विदेशन नजान र जिल्ला नजान भनेर पहिलो पटक संविधानसभाकै बैठकबाट रुलिङ गरे । विदेश जाने बारेमा त मैले विभिन्न देशका कुतनिटिक नियोग मार्फत पनि आग्रह गरे संविधानसभामै बोलाएर । आज तपाईलाई पनि भन्न चाहन्छु, सकारात्मक दवावका लागि सहयोग गर्नुभएको छ अझै सहयोग गर्नुस ।

अहिलेसम्म संविधानसभाको छलफल हेर्दा त दलहरुका पहिले जे अडान थिए । अहिले पनि तीनै अडान कायम छन् । सहमतीका लागि त समिति वा दलका शिर्ष नेताहरु नै जुट्नु पर्दो रहेछ । त्यसो हो भने संविधानसभामा यो टिठलाग्दो कर्मकाण्डी छलफल चलाउनुको के अर्थ छ ?

उपस्थिति हुनुपर्छ भन्नेमा त हामी निष्कर्षमा पुगेका छौं त्यसलाई मैले फेरी दोहोर्‍याउन परेन । तर यति हुँदा हुँदै पनि संसद र संविधानसभामा आफना कुरा र विचार रेकर्ड हुनुको महत्व छ । अहिले भएका रेकर्ड टिपोट गरेर सम्बन्धित समितिमा जान्छन् । सहमति भइएका दस्तावेज सुझाव र टिप्पणी सहित मस्यौदा समितिमा र अहसमतिका विषय सुझाव र टिपोट सहित राजनीतिक संवाद समितिमा जान्छन् । सभासदले बोलेका कुराको टिपोटलाई राजनीतिक संवाद समितिले असहमतिलाई सहमतिमा रुपान्तर गर्दा त्यसको सहयोग लिन सक्छ । मस्यौदा गर्दा पनि सभासदले के बोलेछन् भनेर ध्यान दिन सक्छ त्यसैले त्यसको महत्व छ ।

संविधानसभाले अहिलेसम्म गरेका कामबाट तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हामीले बनाएको नियमावलीले एउटा प्रक्रिया स्थापित गराएको र कार्यतालिकाले माघ ८ गते भित्र संविधान जारी गर्ने समयमावधि तोकेको छ र त्यसले संविधानसभाको  सामूहिक प्रतिबद्धता र संकल्प पनि जाहेर गरेको छ । हामी कार्यतालिका भन्दा पछि छैनौं । संगसगै हिडेका छौं र कुनै कुनै अवस्थामा त अघि पनि छौं । त्यसैले समग्रमा सन्तोषजनक छ तर पूरै सन्तोष जनक छैन । यहि अनुसार अघि बढेर संविधान निर्माणको प्रक्रिया टुंगोमा पुर्‍याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया