MENU

अन्तर्वार्ता

Ncell Axiata
NIC Asia

प्रशिक्षक पुबुदु दासानायकेलाई तत्काल बोलाउनुपर्छ : पारस खड्का

नेपालले शनिबार ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको छ । अष्ट्रेलियाको मेलबर्नमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको बैठकले खेलेको नेपाल र नेदरल्याण्ड्सलाई ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो ।

१७ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले पाएको यो सबैभन्दा ठूलो सफलता हो । यो सफलतालाई कसरी हेर्न सकिन्छ र नेपालको भावी चुनौती के हो भनेर उज्यालो अनलाइनका लागि लक्ष्मण कार्कीले नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोध्नुभएको छ ।

ऐतिहासिक सफलताको समाचार सुनेपछि तपाईंले कस्तो महशुस गर्नुभयो ?

यो हामी सबैको लागि खुशीको क्षण हो । सबैभन्दा पहिले, नेपाली क्रिकेट समर्थकलाई बधाई दिन चाहन्छु । हाम्रो यत्तिका वर्षको मेहनतको फलको रुपमा हामीले यो हैसियत पाएका छौं । नयाँ उपलब्धिसँगै हामीलाई चुनौती पनि थपिएको छ । हामी अब भारत, पाकिस्तान, अष्ट्रेलिया जस्ता देशसँग खेल्न योग्य भएका छौं ।

तपाईंले यो खबर आफ्ना सहकर्मीहरुलाई बाँड्न भ्याउनु भयो कि छैन ?

हामी सबै खुशी छौं । सबै जना राम्रो गर्नका लागि उत्साहि छौं । हामीले गर्न सक्ने भनेको निश्चित पोजिसनसम्म मात्रै हो । हामीलाई पनि साथ र सहयोग चाहिन्छ । सधैं मेहनत मात्रै भनेर हुँदैन । हामीमाझ अर्को दुर्भाग्यपूर्ण कुरा पनि छ । खेलाडीको मनोबल उच्च राख्न प्रशिक्षक पुबुदु दसानायकेलाई ल्याउनै पर्छ । नेपालले जुन उपलब्धि हात पारेको छ, त्यसमा उहाँकै योगदान सबैभन्दा महत्वपूर्ण छ । अहिलेको पहिलो प्राथमिकता भनेको प्रशिक्षक पुबुदुलाई फिर्ता बोलाउनु नै हो ।

क्यान भित्रको भद्रगोलले नेपाल कारबाहीमा पर्ने हो कि भन्ने डर पनि थियो, तर यही बीचमा सुखद खबर पनि आएको छ, अब क्यानले के गर्नुपर्ला ?

पहिलो कुरा त एउटा सिस्टमको थालनी हुनुपर्छ । क्रिकेटलाई कसरी अघि बढाउने भन्ने विषयमा सक्रियता देखाउनु पर्‍यो । आइसिसी र एसिसीसँग सम्बन्ध राम्रो बनाएर उनीहरुबाट पाउने सुविधा रोकिएका छन्, त्यसलाई कसरी ल्याउने भन्ने तर्फ सोच्नु पर्छ । उहाँहरु पैसा छैन भन्दै हुनुहुन्छ, तर मलाई त्यस्तो लाग्दैन ।

एउटा मान्छेका लागि लगानी गर्न पैसा छैन जस्तो मलाई लाग्दैन किनभने भएका स्रोतको उचित परिचालन भएको छैन । आफू पनि बलियो हुनुपर्छ । हामीले निरन्तर भनिरहेका छौं, तर बुझ्नु पर्ने मान्छेले बुझ्ने बेला आएको छ । अब पनि नबुझे कहिले बुझ्ने ?

हामीले १७ वर्षको इतिहासमा हामीले यो उपलब्धि हासिल गरेका छौं, यसलाई जोगाइ राख्नु चैं कत्तिको चुनौतिपूर्ण हुनेछ ?

अहिलेको सबैभन्दा ठुलो चुनौति भनेकै यही हो । हामीले अझै मेहनत गर्नुपर्छ । खेल पनि राम्रो खेल्दै जानुपर्‍यो । बाहिर जे जस्तो भए पनि हामीले खेल्दै आएका छौं । अब भने एउटा योजना बनाएर अघि बढ्नुपर्छ । घरेलु संरचना बलियो बनाएर अघि बढ्नुपर्छ । खेलाडी उत्पादनलाई जोड दिनपर्छ । जुनियर तथा सिनियर खेलाडीलाई प्रशिक्षणका लागि विदेश पठाउनु पर्छ । को कुन पदमा बस्ने भन्ने कुरामा हामी अड्किनु भएन । नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्ने विषयमा सोच्ने बेला आएको छ ।

क्रिकेटप्रेमीको खेलाडीको नेपाली टोलीले भारत पाकिस्तान जस्ता टोलीसँग कहिले खेल्छ होला भन्ने सपना थियो, त्यो पुरा भएको छ, यसलाई चैं कसरी हेर्नुभएको छ ?

यो खुशीको समय हो । हामीले को सँग कहिले खेल्ने भनेर अघि बढ्नुपर्छ । ठुला देशहरुसँग कहिले खेल्ने भनेर खेलाडीले भन्ने होइन, त्यो संघले गर्ने हो । यसमा क्यान सक्रिय भएर अघि बढ्नुपर्छ । भइ हाल्छनी भनेर भनेर हुँदैन । मैले अघि भनें बुझ्नु पर्ने मान्छेले बुझ्नु पर्‍यो । हामीलाई यो हैसियत कायमै राख्ने चुनौति पनि छ । हामीले अझै धेरै मेहनत गर्नु पर्ने छ । खेलाडीको मेहनतले एउटा सफलता हासिल गर्न सकिन्छ तर अब व्यवहारिक रुपमा पनि व्यवस्थापकीय पक्ष पनि राम्रो हुनुपर्छ । त्यसका लागि क्यानको भूमिका पनि ठुलो हुन्छ । हामी हाम्रोतर्फबाट मैदान भित्रका साथै बाहिरबाट पनि कोशिष गर्नेछौं ।

नेपाली क्रिकेटका समर्थकलाई यो खुशीमा के भन्नुहुन्छ ?

म सबैलाई बधाइ र धन्यवाद दिन चाहन्छु । यहाँहरुको माया सदैव रहोस । हामी हाम्रोतर्फबाट सधैं प्रयास गर्छौं । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउन यहाँहरुको भूमिका सबैभन्दा ठुलो छ । हाम्रो सम्पत्ति भनेको नै समर्थकहरु नै हुन् । नेपालमा क्रिकेटको भविष्य निकै उज्वल छ । हामी नेपालले खेल्ने सबै खेल जिताएर यहाँहरुलाई खुशी पार्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया