MENU

अन्तर्वार्ता

Ncell Axiata

मलाई ७० प्रतिशत भोट–ओली, विगतमा पनि तथ्यांक देखिएकै हो–नेपाल

नेकपा एमालेको नवौं महाधिवेशन अन्तिम चरणमा पुगेको छ । महाधिवेशनले सबैभन्दा महत्वपूर्ण काम नयाँ नेतृत्व चयन गर्न बाँकी छ । सहमतिको प्रयास सार्थक हुन नसकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुवैले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्यानल सहित चुनावी मैदानमा होमिएका दुवै नेताहरु आफ्नै जित हुने दावी गर्छन् । यसै विषयमा उज्यालो अनलाइनलका लागि दीपेन्द्र कुँवरले एमालेको अध्यक्ष बन्न चाहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीसँग गरेको कुराकानी :

७० प्रतिशत भोट मलाईओली

विगतमा पनि तथ्यांक देखिएकै हो - नेपाल

तपाई अध्यक्षमा लड्ने नैं हुनुभयो ?

मैंले लड्ने भनेको छैन । निर्विरोध गरौं भनेको छु ।

सम्भावना छ ?

विभिन्न कारणले सम्भावना छ । माधबजी, झलनाथजी धेरै बर्ष चलाईसकेका साथीहरु हुनुहुन्छ । अहिले चुनौती दिन्छु भनेर माधबजी आउनुभएको छ । उहाँ धेरै वर्ष संसदीय दलको नेता, धेरैपटक पार्टी प्रमुख, २२ महिना देशको कार्यकारी प्रमुख गरेर आफ्नो क्षमता देखाईसक्नुभएको छ । त्यो अवस्थामा उहाँलाई मेरो साथ सहयोग रह्यो । त्यस्तोमा उहाँले फेरि गरेको ईच्छा मैंले बुझेको छैन । उहाँले समर्थन गर्न नमिल्ने कुनै कारण छैन ।

तपाईको यो तर्कलाई त उहाँ (माधव नेपाल) प्रतिस्पर्धा गर्न डराएर उठाईएको कुरा हो भन्दै हुनुहुन्छ  ?

अर्को कारण पनि छ । प्रतिनिधि चयनबाट उहाँहरुको ३० प्रतिशत मात्र आएको छ । बेस्सरी चढाउनुभयो भने ३५ प्रतिशत पुर्‍याउनुहोला । धेरै घट्यो भने हाम्रो ६५ प्रतिशत पुग्छ । ६५ प्रतिशत भयो भने हामी जित्छौं, त्यो भन्दा तल जाँदैन ।

उसो भए त निर्विरोधको कुरा तपाईले किन गर्नुपर्‍यो र ?

परेन, मेरो भनाई मात्र के हो भने त्यत्रो समय पार्टी प्रमुख र सरकार प्रमुख भएर चलाएको मान्छे म केही नचलाएको मान्छेसँग प्रतिस्पर्धामा जानु हुँदैन भनेको ।  धेरैपल्ट उहाँलाई मैंले निर्विरोध छोडेको छु, प्रस्तावक भएर छोडेको छु, यस्तो अबस्थामा उहाँले आफुबाहेक अर्को हुन्छ भन्ने वित्तिकै असहिष्णु हुनुपर्ने कारण छैन । नेतृत्व हस्तान्तरण हुँदै जाने कुरा हो । त्यो कुरा सिङ्गै पार्टीले महशुस गरेको छ । सामुहिक नेतृत्वको प्रणाली, बहुपदीय संरचना र संस्थागत निर्णय यी तीनवटा कुरामा हामीले बल दिएका छौं र बल दिन्छौं । यी विभिन्न कारणले मलाई लाग्छ महाधिवेशनसम्म पुग्दा निर्विरोध हुन्छ । उहाँ(माधव नेपाल)ले फेरि ईच्छा गर्नु वाञ्छनीय नभएकाले, त्यसले उहाँहरुको प्रतिष्ठामा बढोत्तरी नल्याउने भएकाले सहमति गर्न योगदान गर्नुस् भन्ने आग्रह हो मेरो ।

तपाईले वाञ्छनीय नभएकाले भन्नुभयो, माधवकुमार नेपालजीको उम्मेदवारीलाई के ले रोक्छ र ?

पहिलो कुरा त विधानले रोक्छ । दुई कार्यकाल भन्दा बढी एउटा नेता प्रमुख पदमा बस्न पाउँदैन भन्ने छ । तीन कार्यकाल भैसक्यो उहाँहरुको पहिलेनैं । हामीहरुले उहाँहरुसँग मुद्दा लड्न खोजेको हैन कानुनी लडाई लड्न खोजेको हैन । पार्टीको भावना के हो भने एउटा व्यक्तिले लामो समय खानुहुन्न । एउटै व्यक्तिको नेतृत्वमा पार्टी जकड्निु हुन्न । त्यसलाई आत्मसाथ नगरेर ०५० सालमा भएको नेतृत्व ०७१ मा आएर फेरी मैं हुन्छु भन्नु कति उचित हुन्छ ?

तर विधानको भूतप्रभावी व्याख्यागर्न मिल्छ ?

मिल्छ ।

कसरी मिल्छ ?

हामीले पार्टीमा एक कार्यकाल भन्दा बढी दोहोर्‍याउन पाउँदैन भन्यौं । त्यसो भनेपछि मिल्दैन । एक कार्यकाल भैसकेको कोही छ भने त्यो पनि पाउँदैन ।

त्यो त तपाईले बहुपदमा जाँदाखेरी गरेको व्यवस्था हो, जतिबेला माधवकुमार नेपाल महासचिव हुनुहुन्थ्यो, यो त अध्यक्षको कुरा हो ?

उहाँ महासचिव हुँदा त यो प्रस्तावलाई उहाँले ढिम्किनै दिनुभएन । सातौं महाधिबेशनमा उहाँले ढिम्किन दिनुभएन नी । उहाँले सातौं महाधिबेशनमा चरम गुटबन्दी गर्नुभयो । त्यसले गर्दा ढिम्किन पाएन । सही प्रस्ताव थियो । त्यो वैचारिक लडाई हो । उहाँले आफूले राजीनामा गर्नुभएको हो, पार्टी अत्यन्त कमजोर भयो भनेर । मेरो नेतृत्वकालमा पार्टी घट्दै गएर ३३ सिटमा पुग्यो । म नेतृत्व गर्न सक्षम रैनछु भनेर नैतिकताका आधारमा भन्दै उहाँले राजिनामा दिनुभयो । उहाँको तीन कार्यकालमा पार्टी हरेक कदम एउटा महाधिवेशन भयो पहिलोबाट दोस्रोमा झर्‍यो, अर्को महाधिबेशन भयो दोस्रोबाट तेस्रोमा झर्‍यो । अत्यन्त न्युन स्थितिमा झर्‍यो ।

त्यसको एकल जिम्मेवारी माधव कुमार नेपालको मात्रै हुन्छ ?

प्रमुख जिम्मेवारी त नेतृत्वकै हुन्छ । त्यसै भएर उहाँले राजिनामा गर्नुभयो अरुले गरेनन् नी त । सातौं महाधिवेशनमा हामीले कुरा राखेका थियौं । यो नीतिका साथ जाऔं, यो विधिका साथ जाऔं । त्यसलाई उहाँले चरम गुटबन्दीको अस्त्र प्रयोग गरेर असफल पार्नुभयो ।  राजतन्त्रका बिरुद्ध संघर्ष गर्नुपर्ने ठाउँमा ओठेभक्तिमा जे–सुकै भनिएको होस् नेतृत्व (माधव नेपाल)को राजतन्त्रसँग विश्वास र सहकार्य गर्ने आन्तरिक नीति थियो,। त्यसकारण राजतन्त्र विरोधी आन्दोलन त्यस्तो प्रकट र प्रखर रुपमा भएन । त्यसका निम्ति प्रयास भएनन् ।

त्यो माधव कुमार नेपालकै चाहनाले भएको थियो ?

अरु कसको चाहनाले हुन्छ ?  

तर माधवजी राजतन्त्र प्रति तपाइँको लोयल्टी भएको र राजतन्त्र समाप्त गर्न र माओवादीलाई यो प्रक्रियामा ल्याउन मेरो भूमिका छ भनिरहनुभएको छ त ?

राजतन्त्र कसले हटायो, आन्दोलन कसले गर्‍यो ? भन्दा उहाँ (माधव नेपाल) मैले भनिरहनुभएको छ ।

अनि तपाइँ मैले भन्नुहुन्छ ?

होईन, मैले भनेको छैन् ।  सातौं महधिवशेनमा राखेका र अरु कतिपय कुरा मैले गरेको भनेको छु । म बोलेको कुरामा जिम्मेवार छु । पाँच वर्ष अघि, सात वर्ष वा २० वर्ष अघि बोलेको भएपनि म त्यसप्रति जिम्मेवार छु । म ४५ वर्षदेखि पूर्णकालीन छु र विचार गरेर, विश्लेषण गरेर राजनीतिक तबरले बोलेर काम गर्ने  र पश्चाताप नलिने मेरो स्वाभाव हो । झापा आन्दोलनमा मेरो नेतृत्वदायी भूमिका रह्यो, जो प्रकट छ । राजतन्त्रका विरुद्ध पर्चा छर्न नसकिने र पात नहल्लिने बेला हामीले गणतन्त्रको माग राखेर हतियार उठायौं । दमनले शिथिल भएको कांग्रेसलाई त्यसले हौसला दियो । छिन्न भिन्न रहेका कम्यूनिष्ट पार्टी एक बनाउने अभियान थाल्यो । त्यसैले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि हतियार उठाउने मान्छेले राजतन्त्र बचाउन कसरी खोज्यो ?

गणतन्त्र भनेको ठेलागाडा चढेर अमेरिका जानेभन्ने तपाइँको पछिल्लो अभिव्यक्ति ठीक हो कि झापा आन्दोलन ? यो  त विरोधाभाषपूर्ण भयो नि ?  

विरोधाभाष होईन, मैले केन्द्रीय कमिटीमा बोलेको कुरा हो त्यो । म पार्टीको नीति अनुसार चलौं, व्यक्ति वीर नबनौं भन्ने मान्छे हो र मैले त्यतिबेला पनि त्यही सन्दर्भमा बोलेको हो । एक दुई जना साथीले उत्ताउलिएर, आत्मकेन्द्रीत भएर, व्यक्ति वीर बन्न खोजेपछि मैले संस्थागत ढंगले जाउँ भनेको हो । पार्टीले संवैधानिक राजतन्त्र मानिरहेका बेला म एक्लैले गणतन्त्रका लडेको भनेर त्यो बेला राजतन्त्रसँग समझैता गर्दिनँ भन्ने कुरा त हुँदैनथ्यो । ०४६ सालमा पनि म समेत भएर सम्झौता भएको हो । म राजतनत्र विरुद्ध झुक्किएर लडेको मान्छे होईन, १४ वर्ष जेल बस्दा राजतन्त्रविरुद्ध लड्दा मलाई अहिले राजावादी भन्ने साथीहरु कहाँ थिए, के गर्दै थिए ?

तर त्यो अभिव्यक्ति पछि यो प्रश्नले त तपाइँलाई पछ्याईरह्यो नि ?  

हामी त्यतिबेला पाँच दलीय, सातदलीय गठबन्धनमा थियौ । जनमोर्चा बाहेक कोही पनि त्यतिबेलै गणतन्त्रमा जानुपर्छ भन्नेमा थिएनन् । वातावरण बनेपछि तयारी गरेर जानेकुरा बेग्लै हो । व्यक्ति वीर हुने कुरा थिएन, त्यसमा पार्टी बुरुक्क गरेर हिड्दा त्यतिबेला निरंकुश राजतन्त्र विरुद्धको आन्दोलनमा भाँजो हाल्थ्यो । अझ पछि लैजान्थ्यो हामीलाई । कांग्रेसको विधान संवधौनिक राजतन्त्रप्रति आस्था र विश्वास छ भन्ने थियो  । उनीहरु त्यसलाई आदर्श मान्थे । नेपाली कांग्रेस हाम्रो मुख्य सहयात्री शक्ति थियो । उनीहरु मिलेर एउटा सीमा भित्र बसेर हामी अघि बढेका छौं थियौं । अहिले यस्तो कुरा गर्ने साथीहरुको कुरा त्यतिबेला के थियो ?

भन्दिनुस न त के थियो ?

भन्नुपर्दैन, उहाँहरु्र स्मरण गरिहाल्नुहुन्छ । यति भनौं –गणतन्त्रको कुरा गर्ने साथीहरुको जीब्रो निकाल्न खोजिन्थ्यो । आडम्बर र देखावटी गर्न मलाई आउँदैन । संघर्षको मैदानमा पीठ फर्काउँदिन पनि ।

त्यो अभिव्यक्तिका बारेमा तपााँलाई केही भन्नु छैन अहिले ? वा आत्मालोचना गर्नु छैन ?

०४६ सालमा राजासँग कन सम्झौता गरेको ?  गणतन्त्रका लागि लड्नु पर्थ्यो नि त । किन संवैधानिक राजतन्त्र स्वीकारेको ? त्यसो भए ०४६ सालको आन्दोलन सफल हो कि असफल ? हाम्रो माग गणतन्त्र त छँदै थियो, तर केही साथी व्यक्तिवीर कु समयमा उफ्रिन खोजेपछि मैले नेपाली कांग्रेसलाई गणतन्त्रमा ल्याउँ, उसको विधानबाट संवैधानिक राजतन्त्र हटाउन लगाउँ भनेको थिएँ । या त हाम्रो पल्टाउने शक्ति छ भने गणतन्त्रको नारा दिउँ वा सहयात्री शक्तिलाई सहमतिमा ल्याउँ भनेको थिएँ ।

तर गणतन्त्र त आयो नि तपाइँले त्यसो भन्दा भन्दै पनि ?

आयो तर ०६२–०६३ को आन्दोलनमा गणतन्त्र लगायत कतिपय माग थिएनन् । आन्दोलन भन्दा पछि आयो । आन्दोलन सफल भएपछि जनताको मनोबल र पार्टीको मनोबल उठयो अनि त्यसपछि आयो गणतन्त्र । वैशाख ११ गतेको शाही समबोधन हामीले नै लेखेर दिएका हो, त्यसमा गणतन्त्र छैन् । अनुकुलतामा गणतन्त्रमा जाने भन्ने हो । ०६४ सालमा संविधानसभा हुँदै ०६५ साल जेठमा गणतनत्र आयो ।

तपाइँलाई माधव नेपालजीलाई गणतन्त्र विरोधी देख्ने, तपाइँ उहाँलाई गणतन्त्रक कुरा गर्दा जीब्रो थुत्ने नेतृत्वका रुपमा बुझ्ने । अब त एमाले गणतन्त्रवादी होईन रहेछ भन्ने प्रश्न उठ्ने भयो ।

उठ्दैन, यो प्रश्न । छैटौ महामधिवशेन पछि प्रकशित दस्तावेजबाट ‘गणतन्त्र’ सुटुक्क हटाए जस्तो मैले छलछाम गरेको छैन ।  सातौं महाधिवेशनमा जनताको बहुदलीय जनवाद नैहटाई दिएर, जनताको लोकतन्त्र ल्याउँछौ भन्ने कुरा मैले हटाएर सरकार गठन गर्नु हाम्रो उद्देश्य हो भनिएको थियो ।  

माधवजी ले हटाईदिनुभयो हो ?

सुटुक्क हटेको थियो । विधान र दस्तावेजका विषयमा त्यत्रो लडाइँ भयो  । अर्को विधान जारी गर्नु पर्‍यो । सुटुक्क यस्ता काम भए, मेरो कारणले हो ? छापिएपछि म आश्चर्यमा परें मैले त्यसलाई मान्दिनँ भने । मान्न सम्भव पनि थिएन । उहाँहहरु जे पनि बोल्नुहुन्छ । झुठको कुनै दबाई हुन्न । ०४६ सालमा कहाँ हुनुहुन्थ्यो ?  ०६३ सालमा किन आन्दोलनको माग नबनाएको ? राजतन्त्र मिल्काउने बहादुरले किन गणतन्त्र शब्द उल्लेख नगरी हटाएको ? पदीय स्वार्थ भएका बेला कोहीकोही मान्छे यति लिप्त हुन्छन कि अरु धेरै कुरा छोड्छन् ।  त्यो कार्यकाल (माधव नेपालको) मा पनि प्रधानमन्त्रीको पदीय आकर्षण (माधव कुमार नेपालले प्रधानमन्त्रीका लागि दरबारमा विन्ती हालेको तर्फ संकेत गर्दै ) ले गर्दा कतिपय नीति र व्यवहार त्यसै अनुसार हुनु त्यो (माधव नेपाल) प्रवृत्तिका लागि स्वाभाविक थियो ।

 तपाइँहरुले नै पठाएको हो नि त्यतिबेला दरबारतिर ?

होईन, गलत कुरा हो । नेतृत्वको पहल  प्रयास  र सहमति बिना कसरी सम्भव हुन्छ ? नेतृत्वकै चाहनाले त्यस्तो भएको हो ।

तपाइँनै अध्यक्ष हुनुपर्ने कारण के हो ?

हाँस्दै, यो मैले भन्ने होईन दुई जना उपाध्यक्ष, महासचिव, सचिवहरु हुनुहुन्छ ।  उहाँहरुलाई  सोध्नुस ।

तपाइँको चाहना होईन र ?

म बिलकुल खुला छु । छैठौमा मैले माधवजीलाई दिनुपर्छ भनें, त्यसमा राजनीतिक कारण थियो । सातौ महाधिवेशनमा लिडरसीपको टीम हेर्दा म जाँदा साथीहरु खुशी हुने देखिनँ , अनि मलाई लैजानुपर्छ भन्ने अनुभूति पनि देखिन त्यसपछि किन जाने भनेर गइनँ । मलाई लानु पर्छ भन्ने अनुभुति छैन भने किन जाने भनेर गइनँ ? अहिले यही कोठा (आफ्नो बैठक कक्ष) मा आएर महासचिव, अनुशासन आयोगको अध्यक्ष अमृत बोहराजी सचिवजी, युव्राज ज्ञवालीजीले समेतले अध्यक्षका निम्ती तयार हुनुस भन्नुभयो ।

माधवजीलाई फर्काउने कुरा हुन सक्दैन भन्नुभयो । ०३९ देखि ०४६ र ०६५ देखिन ०७१ झलनाथजी पनि चलाउनुभयो भन्नुभयो ।  मैले साथीहरुसँग सल्लाह गरें ।  वामदेवजीले शुरुमा सहज रुपले लिनु भएन, मैले साथीहरुको कुरा यस्तो छ भनेपछि ‘ठीक छ’ भन्नुभयो । उहाँ लागेपछि धसिएर लाग्नु हुन्छ  र लाग्नुभएको छ । विद्याजी पनि ठीक छ भन्नुभयो । मैले अध्यक्षसँग पनि कुरा गरें ।  तपाइँ हुने भए समर्थन छ भन्नुभयो । केन्द्रीय कमिटीमा पनि सहमतिको बाहेक अध्यक्ष हुनेछैन भन्नुभयो ।

ए उसो भए अध्यक्षको  समर्थन तपाइँलाई छ भन्नुभएको ?

उहाँले यहीँ (घरमै )आएर त्यही भन्नुभयो । तपाइँ हुने भए म समर्थन गर्छु होईन भने मलाई समर्थन गर्नुस भन्नुभयो ।

यो अहिले भर्खरै सम्मको कुरा हो वा पहिलेको ?

म थाईल्याण्डबाट उपचार गरेर आएपछिको कुरा हो ।

ए वस्तुस्थिति अध्यक्ष हुने देखिएपछि अघि सरेको तपाइँ ?  

आम साथीहरुको चाहना छ । प्रश्न चाहनाको होईन र तर मैले ईन्कार गरिनँ ।

तपाइँ गुटबन्दी गरेर हैरान पार्ने मान्छे, नेतृत्वमा गएपछि के गर्नुहोला भन्ने त्रास पनि छ अर्को समूहमा  ।

हाँस्दै । उहाँ (माधव नेपाल)ले जस्तो म्यासेकर ( कत्लेआम) चलाउन खोज्नुभयो, मैले त्यसको प्रतिरोध गरेको हो ।  दुख पाएका ,त्याग गरेका काम गर्न योग्यता भएक,सक्रिय र योगदान दिएका साथीहरुलाई आफूतिर हो कि होईन भन्ने ? नभए पञ्छाउने शैलीले हुँदैन भनें मैले ।  पार्टी निमार्ण गर्दा को कति बेला कसको पक्षमा हुन्छ, भन्ने कुरा ठूलो होईन । हामी भित्रै विविधता छ, कोही जातिवाद भन्छ, कोही क्षेत्रीयतावाद भन्छ, तर हाम्रो कुरा देश निर्माणको हो नि त्यसैले पार्टीमा त सबैलाई समेटेर लैजानुपर्छ ।

समेट्दा समटे्दै तपाइँ धनवादी, डनवादी, गनवादी र भ्रष्टाचारीको संरक्षण गर्ने काममै लाग्नुभयो भन्ने कुरा छ नि ।  

कसैले एउटा पनि तथ्य र दृष्टान्त दिन्छ भने म उसको अगाडि कायल हुन्छु । तर भन्ने मान्छेले हेक्का राख्नुपर्‍यो ।

परशुराम बस्नेत, दिनेश अधिकारी चरीलाई संरक्षण गरेको होईन ? परशुरामको त अहिले पनि  मुद्दा छ ।

मुद्दा त मलाई नि लागेको हो नि । १४ वर्ष जेल बसेको हो ।  

केही नभएको मान्छेले दुई चार वर्षमै करोडौं कसरी कमाउँछ  ?

त्यो हुन सक्छ । त्यो हो कि होईन म गएको पनि छैन । तर जस्तो म श्रीलंका गएका बेला परशुरामलाई लुकाउन सँगै लगेर गयो भने प्रचार लछप्पै भयो । म भीआर्ईपी कक्षबाट गएको हो । यो स्याल हुइँया कस्री चलाईयो ? केही निहीत स्वार्थ भएका व्यक्तिले चलाएको हो यो ।

कुरा व्यक्तिको नभएर प्रवृत्तिकोे  र त्यो प्रवृतिको संरक्षक तपाइँ भएकोले तपाइँ अध्यक्ष बनेमा एमाले मात्रै होईन सिंगो कम्यूनिष्ट आन्दोलन खतम हुन्छ भन्नुभयो माधव नेपाल जीले त ।

ल खतम भएको हेरौं न ? म नवौ महाधिवेशनबाट अध्यक्ष हुँदैछु । उहाँलाई आफ्नो भन्दा अरुले राम्रोकाम गर्लान भन्ने चिन्ता लागेको होला ।  

तर सर्पले सर्पको खुट्टा् देख्छ भन्छन ।

भए देख्छ नभए देख्दैन ।

हावा नचलि पात हल्लिन्छर ?

म आरोप प्रत्यारोपमा विश्वास गर्दिनँ । आग्रह र पूर्वाग्रह राखेर कुरा गर्दिनँ । म प्रमाण विनाको कुरा गर्दिनँ । मैले भन्ने गरेको छु – नेतृत्व राष्ट्र बैंकको नोटमा लेखे जस्तै यसको यति रुपैयाँ माग्न आएमा तुरुन्त भाूक्तानी गरिनेछ भने जस्तै धितो जमानी बस्ने खालको हुनुपर्छ ।

राष्ट्र बैंकको  नोट हुन लायक एमालेमा केपी ओली मात्रै  होईन ?

मैले त्यसो भनेको छैन्  नेतृत्वको पंक्ति छ हाीसँग । यो पंक्ति ले केपी ओलीले नेतृत्व गरोस भन्ने चाहान्छ । राजतन्त्रका विरुद्ध पर्चा नछनिरेने बेलामा गणतन्त्रको माग राखेर हतियार उठाए यता  विभिन्न जङ्कचरमा वैचारिक संघर्ष भए । तत्कालीन रुपमा रुपमा घेराबन्दीमा पारियोे होला, पराजित गरियो होला । तर कालान्तरमा मैले ल्याएको विचार सही सावित भएको छ । झापा आन्दोलन सच्याउने कुरा शुरुमा कसैलाई पचेन, मैले त्यो आन्दोलन महान छ, तर केही सच्याउनै पर्छ भनें । जनमत संग्रह बहिस्कार नगरौं भने ।  पञ्चायत विरुद्धका सबै फोरम प्रयोग गरेर पञ्चायत फालौं भने । अर्को विभिन्न समयमा दक्षिण पन्थ र उग्रवामपन्थका विरुद्ध कसले संघर्ष गर्‍यो ? पदीय नेतृत्वमा हुनेले गर्‍यो कि बाहिर बाट गर्नुपर्‍यो ?

तर विचारको कुरा कहाँ छ र ? नेतृत्व भनेको पद मात्रै हो भन्ने भैरहेको छ त ?

पद त नेतृत्व नै होईन  । विचारको कुरा ठूलो होला हो ? विभिन्न देशमा राष्ट्रपति त को हुन्छ को हुन्छ नि

विचार र नीतिको  कुरा त कहिँ पनि छैन त ?

नीति त बहुदलीय जनावद हो ।

मदन भण्डारीले भन्नु भाथ्यो भन्यो हिड्यो होईन ?

होईन त्यसलाई अद्यावधिक पनि गरेका छौं ।

तर नेतृत्वमा होईन नीतिमा जाउँ भन्न सकिन्थ्यो नि त ?

सकिन्थ्यो  तर म अस्पताल भएका बेला अनेकौं उछलकुद भए त्यसमा म के गर्न सक्छु र ? केही समय यता संस्कार हेर्दा भट्टीमा पाखुरा सुक्र्या होकी राजनीतिक बहस हो ? पार्टीको सभ्यता हो कि होईन भन्ने लाग्छ ?

त्यही त किन यस्तो वर्ग वैरीका जस्तो व्यवहार गरेको तपाइँहरुले  ?

 तपाइँले किन भन्नुहुन्छ ? कसले गर्दैछ तोकेर भन्नुस न । मेरो बोलीमा त्यस्तो छ भने भन्नुस म सच्याउँछु । अरुको जिम्मा म कसरी लिऊँ ?

तर एमालेमा आयो ?

आयो एमालेमा आयो , एमाले भित्र छ । विभिन्न महाधिवेशनमा देखापरेको छ ।

कस्तो स्कूलिङ भन्ने कुरा आउँदा तपाइँको कुरा पनि जोडिन्छ हैन र ?

मैले राम्रो स्कूलिङ दिएको छु । कानून पढेको मान्छे दुई वटा भूमिकामा हुन सक्छ । एउटा न्यायाधीश र अर्को वकिल । न्यायाधीश भए तटस्थ भूमिका खेल्छ र न्याय निरुपण गर्छ ।  वकिल भए क्लाईन्टको पक्षमा बोल्छ । म न्यायधीशको कुर्सीमा बसेको छैन । तर दमनकारी पार्टी सत्ताको दमनमा परेका साथीहरुलाई यसो गर्न हुँदैन भनेर आड भरोसा दिँदा गुटबन्दी गरेको हुँदैन् ।   

यसो भनौं एमालेमा लोकतन्त्र छैन हो ?

लोकतन्त्र छ, तर बाहिर लोकतन्त्र भने पनि भित्र अस्वीकार गर्ने भैरहेकोछ ।  सातांै महाधिवेशनमा लोकतन्त्र अस्वीकार गरेको हो कि होईन ? लोकतन्त्र जीवन दर्शन नबनाउने भन्ने विषय बनाउने । लोकतन्त्र भन्ने तरा व्यवहारमा सामन्ती थिचोमिचो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्‍यो ।

त्यसका लागि तपाइँ अध्यक्ष हुनु पर्‍यो होईन ?

मैले त्यो पनि भनिनँ । साथीहरुले मलाई भन्नुभएको छ । र मैले स्वीकार गरेको छु ।

अध्यक्ष बन्नेमा ढुक्क हुनुहुन्छ ?

बिलकुल

कति प्रतिशत ?

भोट ७० प्रतिशत आउँछ तर म शतप्रतिशत ढुक्क छु ।

माधवजी लाई केही भन्नुछ ?

मिलेर काम गर्नुपर्छ ।

तपाईं अध्यक्षको आकांक्षी, तपाइँनै अध्यक्ष हुनैपर्ने कारण के हो ?

हा हा हा....रहर गरेर अघि बढेको होईन, म आकांक्षी होईन । मलाई नयाँ युवा पुस्ताले जसरी तपाइँले राजनीतिक क्रान्तिको अगुवाई गर्नुभएको थियो ।

मुलुक आर्थिक क्रान्तिको नयाँ चरणमा प्रवेश गर्दै गरेको अवस्थामा एमालेलाई गतिशील बनाउन,जनतासँग पार्टीलाई जोड्न, पहिलो शक्ति बनाउनका लागि तपाइँको गतिशील र भिजनरी नेतृत्वको आवश्यकता भएको भनेर प्रज्ञाभवनमा आह्वान गरेको सन्दर्भमा म अघि बढेको हो ।

यसमा तपाइँको चाहना अग्रसरता होईन ?

मेरो आफ्नो केही छैन, मेरो रहर गर्ने बानी छैन । नेतृत्व भनेको संघर्षले प्राप्त हुने हो, गतिशीलताले प्राप्त हुने चुनौतीको सामना गरेर ऐतिहासिक कालखण्डमा लिएको अडानका आधारमा नेतृत्व प्राप्त हुने हो ।

राजतन्त्र विरुद्धको संघर्ष र  राजतन्त्र समाप्त गर्ने, राजतन्त्रको नयाँ युगको प्रारम्भ गर्ने काममा खेलेको अहम भूमिका, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कुरा वा सरकारमा संचालनमा चुनौतीको सामना गरेर लोकप्रिय कार्यक्रम मार्फत सुशासन कायम गरेको लगायतका मेरो राम्रो काम र पक्ष  देखेर नयाँ पुस्ताका नेता कार्यकर्ताले मबाट आशा अपेक्षा गरेको ठान्दुछ ।  संभवत सबै नेपाली जनताको, कार्यकर्ता र प्रतिनिधिको आशा अपेक्षा पनि यही हुनुपर्छ ।

अरुको ईच्छापूर्तिका लागि मात्रै कि आफ्नो पनि चाहना ? आफै अग्रसर नहुने नेतृत्वले अरु आकांक्षा कसरी पूर्ति गर्छ ?

युवा साथीहरुले अग्रसर हुन आह्वान गरेपछि  विश्लेषण गरेर, कस्तो नेतृत्वको खाँचो छ भन्ने विचार गरेर म अग्रसर भएको । मैले पदमा पुगौं भनेर पदका लागि गरेको होईन ।

यो अन्याय अत्याचारको अन्त्य, गरीबी भेदभाव, पछौटेपनको समाप्ति र समतामूलक समाजको स्थापना र मुलुकलाई समाजवादको दिशामा लैजानु मेरो मिशन हो ।

 ए, त्यसका लागि तपाइँ मात्रै उपयुक्त ?

यो फैसला महाधिवेशन प्रतिनिधिले गर्नेछन् । सबैलाई आ–फ्नो योग्यतामा विश्वास हुन सक्छ । म योग्य छु सबैले ठान्न सक्म्छ । अरुलाई पनि त्यो अधिकार छ । अधिकार भएकोले  प्रतिस्पर्धा राजनीतिको कुरा गरेको हो हामीले ।

कमरेड मदन भण्डारीले बनाएको जनताबाट र कार्यकर्ताबाट पनि अनुमोदित हुनुपर्ने मान्यताका आधारमा हामी प्रतिस्पर्धामा जाने हो ।  तर यति हुँदाहुँदै पनि मैले भनेको छु –नयाँ पुस्तालालई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । पुरानो वृद्ध पुस्ताको गोलचक्करमा फस्नु हुँदैन ।

पुराना सबै टेस्टेड भैसकेका छन् । कसको क्षमता कति छ ? देखिएको छ ।  । पार्टीलाई क्रान्तिकारी, गतिशिली र देशको चुनौती सामना गर्नेका लागि अब काम काजी नेतृत्व चाहिन्छ, गफ गर्ने होईन ।

नेतृत्व हस्तान्तरणको कुरा गर्ने अनि आफै पदका लागि प्रतिस्पर्धा ? विरोधाभाषपूर्ण भएन ?

विरोधाभाष पूर्ण भएन । नयाँलाई अगाडि सार्ने कुरा आएपछि पुराना पुस्ताका मान्छेले २० वर्षसम्म आफ्नै वरिपरि राख्न खोजेपछि नयाँ पुस्ता आत्तियो ।

नेतृत्व हस्तान्तरण भनेको पुरानो वृद्ध पूस्ताको गोलचक्कर लगाउने भनेको होईन, नयाँ पुस्तामा गर्नुपर्छ । पुराना सबै पार्टीको नेतृत्वमा र राज्यका महत्वपूर्ण अंगमा बसेर टेस्टेड भैसकेका हुन् ।

अरुले लिँदा वृद्ध पुस्ता हुने तपाइँले लिँदा नहुने ? त्यसमा त तपाइँ पनि पर्नुहुन्छ होला नि ?

म त एक कार्यकाल मात्रै बस्ने हो । त्यसपछि सिधै नयाँ पुस्तामा जान्छ नेतृत्व ।

तपाइँ पनि त टेस्टेड’  नेता हो नि होईन र ?

‘टेस्ट’मा म सफल कि असफल ? मूल्याङ्कन जनता, कार्यकर्ता र प्रतिनिधिले गर्नेछन् र भन्नेछन् ।

टेस्टेड हुँ भन्ने लाग्छ कि लाग्दैन ?

नरेन्द्र मोदी १५ वर्ष  मुख्यमन्त्री भए ।  टेस्ट भएर उनी योग्य देखिए । टेस्टको कुरा गर्दा सफल कि असफल भन्ने हुन्छ । मूल्यांकन गरौं न त सबै प्रधानमन्त्री, सबै नेताको । दिएको जिम्मेवारी र कामको मूल्याङ्कन गरौ । त्यसपछि समूचित मूल्याङकन गरौं ।  

ए उसो भए समकालीन राजनीतिमा सबैभन्दा सफल नेता माधवकुमार नेपाल  होईन त ?

मैले त्यसो भनेको छैन् । त्यस्तो दावा गर्न चाहान्न ।  तर छ मान्छेले विना आत्मविश्वास त्यसो भन्न सक्दैन् ।

तपाइँले अर्को समूहलाई वृद्ध पुस्ता भन्नुभयो । त्यसमा त तपाइँमा पनि त लागू हुन्छ नि कि हुँदैन ?

हाम्रो पुस्ता सबै विदा होउँ नत  त ।

त्यस पछि को ?

०३६ सालको पुस्तालाई दिउँ, हामीले छोडौं ।

जुन नेताले हस्तान्तरण गर्नै मान्दैन उसले पुस्तान्तरण गर्छ र भन्ने आशंका छ ? अर्को पक्षले तपाइँमाथि आशंका गरेको छ ।

मैले कसरी हस्तान्तरण गर्ने ? मेरो हातमा केही छैन । जसको हातमा छ उसले हस्तान्तरण गर्ने हो । जनवर्गीय संगठनको नेतृत्व २० वर्षदेखि कब्जा गरेर जसले बसेको छ, उनीहरुसँग छ पद । ३० वर्षदेखि केन्द्रीय कार्यालय कब्जा गरेर बस्नेहरुले हस्तान्तरण गर्नुपर्छ ।

त्यतिबेला तपाइँ नै महासचिव हुनुहुन्थ्यो होईन र ?

जहिले जो सुकै भएपनि जो केन्द्रीय कार्यालयमा बसेका छन, उनीहरुको हातमा छ । जो सधैभरी पार्टीका हस्तीका रुपमा बस्दै आएका छन,  स्थायी कमिटीमा बस्दै आएका छन्,पद उनीहरुको हातमा छ ।

तर नेतृत्व भनेको त पद मात्रै हो र नेपाल ज्यू त्यो त एक्सरसाईज पनि हो । तपाइँले गर्नुपनि भएको छ ।

होईन, व्यक्तित्वको कारण मुलुकले मलाई मान्छ भने  किन ईष्या गर्नु ?

हो कहिले काहीँ पद भन्दा व्यक्तित्व हावी हुन्छ नेकपा एमालेमा माधवकुमार नेपाल त्यही अवस्थामा हुनुहुन्छ, प्रष्टै छ त कुरा ।

म पदका लागि मरिहत्ते गरेको छैन, कसैलाई भन्न गएको छैन । गुट बनाएको पनि छैन । मलाई सिंगो पार्टीको माया छ ।

पद पाउनका लागि जे जे आरोप प्रत्यारोप चलिरहेको छ, त्यो आवश्यक छ र ? प्रतिस्पर्धा हो भनेर स्वीकारेर जाँदा हुन्थ्यो नि होईन र ?

नगरे हुन्थ्यो । प्रतिस्पर्धाको राजनीति अंगीकार गर्ने अनि प्रतिस्पर्धामा आउन पाउँदैन भन्ने ? यो त रुञ्चे कुरा हो नि यसको के जवाफ हुन्छ ?

तपाइँले पनि डनवादी धनवादी, गनवादी प्रवृत्ति भनेर आरोप लगाईरहनुभएको छ नि त ।

हाम्रो पार्टी भित्र डनवादी प्रवृत्ति देखा परेको छ, धनवादी प्रवृत्ति देखा परेकोछ । भ्रष्टाचार जन्य प्रवृत्ति देखा परेको छ ।  धेृरै खाले प्रवृत्ति देखिएको छ ।

तपाइँ भन्दै हुनुहुन्छ, ओली जीले त्यसको नेतृत्व गर्नुभएको छ होईन त ?

मैले त्यस्तो भनेको छैन , कसले गर्छ मैले भनेको छैन । पार्टी क्लिनसिङ गरौं भनेको हो । गलत प्रवृत्ति विरुद्ध लडौं भनेको हो । 

पार्टीलाई सुधारौं भन्ने वित्तिकै मलाई भनेको किन ठान्ने ? विकृति छन, पदको लासिग हिरिक्क हुने, पदको निम्ती ककुर्म गर्न चाहने , पदका लागि पोजिसन चेञ्ज गर्ने , पैसाको निम्ती जे पनि गर्ने, सत्ताको दुरुपयोग गर्ने भन्ने वित्तिकै  मैलाई भन्यो भनने किन ठान्ने ?

तपाइँले एउटा सार्वजनिक कार्यक्रममा भोजभतेर गरेर  कार्यकर्ता र प्रतिनिधिल किन्न खोजियो भन्नुभयो । ओलीजी मात्रै त हुनुहुन्छ नि प्रतिस्पर्धामा ।

गर्नेलाई पो पोल्छ त । नगर्नेलाई किन पोल्छ ?

गर्ने भनेको को हो ? तपाइँको प्रतिस्पधी त ओली जी नै हो नि ?

को हो त्यो ? खोज्ने काम तपाइँ पत्रकारको हो, खोज्नुस ।

एमालेमा तपाइँ केपी ओली भन्दा सिनियर नेता त्यसकारण एमालेमा भएको धनवाद, गनवाद र डनवादको संरक्षणको अलिकति जिम्मेवादरी तपाइँको हिस्सामा पनि पर्छ होला नि ?

त्यस्ता प्रवृत्ति विरुद्ध म कति जुधेको छ थाहा छ होला नि । सातो जान्छ, मसँग डराउँछन, आउन सक्दैनन उनीहरु मसँग । माधव नेपाललाई धम्क्याउन तर्साउन  सकिन्न भन्ने थाहा छ उनीहरुलाई ।

अहिले महाधिवेशनका बेला आएर मात्रै यो कुरा किन ?

मैले यसका विरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएको छु । अरुले कसले उठाएको छ यसरी कुरा ?  यस्तै प्रवृत्ति बोक्ने मान्छेको जिम्मामा पार्टी छोड्यो भने पार्टीको हालत के हुन्छ भारतको राजनीतिमा मैले बाहुबली र  अपराधीको बोलबाला  रहेको पढेको थिएँ ।

एमालेमा त्यस्तै भयो भने के हुन्छ ?  असल मान्छे पार्टीबाट आउट  अनि त्यस्तै गलत प्रवृत्तिका मान्छेको पार्टीमा वर्चश्व ।

त्यसपछि नेपालको कम्यूनिष्ट आन्दोलन सिध्याउन केही गर्नुपर्दैन ।  कम्यूनिष्ट आन्दोलन ओरालो लाग्छ र  आन्दोलन समाप्त हुन्छ ।

उसो भए ओलीजीलाई नछोड्ने होईन त ?

ब्राजिलले अर्जोन्टिनालाई छोडिदिए भयो नि किन प्रतिस्पर्धा गर्ने ?

तपाइँ त १५ वर्ष नेतृत्वमा बस्नुभयो नि ?

त्यही त ब्राजिलले नै सधै किन जित्ने ? अरुलाई छोडे भयो नि त । छोडे भयो नि त ।

ओलम्पिकमा सधैं अमेरिकाले किन धेरै गोल्ड मेडल लिनुपर्ने छोडे भयो नि एकपटक चीन र रुसलाई । प्रतिस्पर्धा भएपछि मान्नु पर्‍यो  । प्रतिस्पर्धाम गर्ने आँट हुनुुपर्छ ।

विचारमा लोकतन्त्रको कुरा गरेपनि संगठनमा निरशंकुता भयो र त्यो काम तपाइँले गर्नुभयो भन्ने आरोप छ अर्को पक्षको ?

त्यस्तो होईन, बरु गुट चलाएर हैरान पारेका छन् । गुटले प्रदुषित बनायो र कार्यकर्ता आजित । पद नपाउने वित्तिकै धम्काउने, पार्टी विभाजन गर्छु भन्ने, पार्टी निर्णय नमान्ने  प्रवृत्तिले हामीलाई दुख दिएको छ । 

आठौं महाधिवेशन  पछिको पीडा कमरेड झलनाथलाई सोध्नुस, सातौं पछिको मलाई थाहा छ ।  मलाई शुरुदेखि कति दुख दिएको छ ?

काम गर्नुछैन, जिम्मेवारी पुरा नगर्ने, खालि पद खालि पद भन्ने  प्रवृत्ति हुर्केको छ ।  यो पार्टी गफाडीको क्लब बनाउनु हुन्न । कामकाजीको संगठन बनाउने हो ।

जित्नुहुन्छ ?  

हाँस्दै यसको जवाफ पछि थाहा हुन्छ ।

दुवै जना ६५–७० प्रतिशतका कुरा गरिरहनुभएको छ नि त्यही भएर सोधेको ?

तथ्याङ्क खेलाउनेहरुले गरिरहेका होलान । गर्न दिनुस । सातौं महाधिवेशनमा पनि गरेका थिए । गरुन ।

आठौंमा तपाइँले ओलीजीलाई बनाउन खोज्दा ठीक अहिले बेठीक ?

होईन, म आठौं महाधिवशेनमा आफै उम्मेदवार थिएँ र दुवै जनालाई मेरो मातहात आउनुस भनें ,। तर त्यसो हुन सकेन । मैले समर्थन र विरोध दुवैको गरिन ।

तपाइँले असफलताको जिम्मेवारी लिएर राजिनमा दिएको हो नि त एक वर्षमै कसरी दावी गर्नु मिल्थ्यो आठौं महाधिवेशनमा ?

म असफल होईन । सिस्टम बसाल्ने कुरा हो त्यो , मेरो दावी स्वाभाविक थियो ।  सिंहदरबारमा आलो लाग्छ, तर प्रधानमन्त्रीले आफै लगाउँदैन जिम्मेवारी लिएर राजिनामा दिन्छ । तर त्यसपछि फेरि प्रधानमन्त्री बन्न पाउन्न भन्ने होईन ?

यसको मतलव तपाइँले त एक वर्ष पनि नहुँदै अर्को नेतालाई काम गर्न नदिन खोज्नुभएको रहेछ नि  त ?

१८ सय मध्ये १३ सयले मलाई समर्थन गरेका थिए ।

अनि किन नभएको त ?

टीम फर्मेसन भएको थिएन । नजिक हरेका साथीहरुले मलाई  प्रतिस्पर्धामा नजान सल्लाह दिनुभयो । त्यहीभ एर नगएको  साँचो कुरा यही हो ।

तपाइँ अहिले जसको नेतृत्व गरिरहनुभएको छ, तिनै नेता कार्यकताको विचारमा पहिले तपाइँ सहमत हुनुहुन्थेन । तपाइँले पदका लागि पोजिसन चेञ्ज गरेको मानिने की नमानिने ?

म सतिसाल झैं उभिएको छु । यता ढल्किने उता ढल्किने होईन । विचार त विकास हुन्छ ।

पहिले हामी साँस्कृतिक क्रान्ति मान्थ्यौ, झापामा वर्ग शत्रु खतम आन्दोलनमा थियौ थियौ ।  ग्याङ अफ फोर मान्थ्यौ, चारु मजुमदारलाई मान्थ्यौं , तर पछि सच्याउँदै गयौं । विचार त विकास हुँदै जान्छ ।

त्यही विकास हुँदै जाँदा पार्टीको झण्डा र नाम पनि फेर्ने कुरा आयो होईन ?

होईन म त्यसको विरुद्ध दृढता पूर्वक उभिने मान्छे हुँ । त्यो गलत विचार हो । त्यो हुँदैन ।

तर आयो नि त पार्टीको नाम र झण्डा फेर्नुपर्छ भन्ने नेताकै नेतृत्व गर्दै हुनुहुन्छ तपाइँ ?

०३७ सालमा ३९ सालमा र ०४२ सालमा ल्याउने को थिए ? भनौं । गणतन्त्रबारे कसले के भनेका थिए भनौं ? अहिले नभनौं । विचार आउँदैमा आत्तिनु हुँदैन । धेरै कुरा बेहोर्दै आएको छु मैले ।

त्यो प्रवृत्तिलाई बाहिर आउनु पनि दिनुपर्छ ।  तर आजको विचारमा जो जो उभिएका छन, दृढतापूर्वक लागेका छन, त्यसैमा जाने हो त्यसलाई हेुर्नपर्छ  । निष्ठा छ भने आन्दोलन प्रति समर्पित छ भने आरोप लगाएर केही हुन्न ।

प्रतिक्रिया दिनुहोस

Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया