MENU

अन्तर्वार्ता

Ncell Axiata

मलाई कसैले 'आई लभ यू' भन्दैन : नायिका सुमिना घिमिरे

नेपाली चलचित्र क्षेत्रको एक चर्चित नाम हो सुमिना घिमिरे । चलचित्र दुलहीमा घुम्टो ओढेर फिल्म क्षेत्रमा आएकी सुमिनाले बीचमा निकै कम कपडा लगाएर पनि चलचित्र खेलिन् ।  

आम दर्शकले उनलाई कथाले मागेको दृश्य आनन्दले दिने नायिका भनेर पनि चिन्दछन् । उनले आफ्नो अभिनयको यात्रा दोहोरी गीतबाट शुरु गरिन ।

चलचित्र छविलाल कन्जुस छैन बाट चलचित्र क्षेत्रमा डेब्यु गरेपनि प्रर्दशनको हिसाबले दुलही उनको पहिलो चलचित्र हो । सुमिनाले किन मायामा, सडक, हेलो प्रकृति, तिम्रो लागि, जय होस्, पापी रात, पुरानो हुदैन माया, रंग, तिमी मेरो म तिम्रो, सिग्नेचर, नाईन ओ क्लक, लभ फरेभर लगायतका चलचित्रहरुमा अभिनय गरेकी छिन् ।

नायिका सुमिनाको परिवारको चाहना भने उनले सरकारी जागिर खाओस् अथवा चिकित्सक बनोस् भन्ने थियो तर उनलाई भने सानैदेखि चलचित्रको छाप परेको थियो । पढाईको सिलसिलमा काठमाण्डौ आएकी सुमिना आफ्नो सानैदेखिको इच्छालाई पछ्याउदै अन्तत चलचित्रको नायिका बनिन् । उनै नायिका सुमिना घिमिरेसँग गरिएको कुराकानी :

तपाईको सुन्दरताको राज के हो ?

सुन्दरता भनेको प्रकृतिको नै देन हो । मेरो सुन्दरताको राज पनि प्रकृती नै हो ।

हिरोइनले महंगो र फेसनेबल कपडा मात्रै लगाउँछन् भन्छन् नि ?

त्यो भनेको आफ्नो ईच्छामा भर पर्ने कुरा हो । कुनै ठाउँमा जाँदा मलाई सस्तै कपडा पनि लाउन मन लागिरहेको हुन्छ । म सस्तै कपडा पनि लगाउँछु । राम्रो लाग्यो भने म फुटपाथको कपडा पनि किन्छु । सधै महंगो र ब्रान्डेड लगाउनुपर्छ भन्ने छैन, आफूलाई कतिको कम्फर्ट हुन्छ त्यो महत्वपुर्ण हो ।

फिल्म क्षेत्रमा काम गर्न कत्तिको गाह्रो छ ?

यो क्षेत्रलाई व्यक्तिले कसरी लिन्छ भन्ने कुरो महत्वपूर्ण हो । गाह्रो माने गाह्रै छ, सजिलो माने सजिलै छ । खासमा काम गर्न सक्यो भने सजिलो  छ हैन भने गाह्रो । गाह्रो, सारो, अप्ठ्यारो त  यहाँ मात्रै हैन जुनसुकै क्षेत्रमा पनि हुन्छ नि, हैन र ।

यति राम्री हुनुहुन्छ ? ब्वाईफ्रेन्ड त होला नि ?

मलाई त कसैले मनै पराउँदैन । कसैले आइ लभ यू नै भन्दैन । के गर्ने ?

तपाइले त प्रश्न गर्ने पत्रकारलाई नै पिट्नु हुन्छ रे ?

हा हा हा हा (लामो हाँसो)...त्यस्तो होईन । म सबैलाई माया गर्छु । मलाई यस्तो कुरा नभइदियोस् जस्तो नै लाग्छ । तपाइ पनि नजिक बसेर प्रश्न गर्दै हुनुहुन्छ , खोइ मैंले तपाइलाई पिटेको छ र ? अब टपिक चेञ्ज गरौं ।

आफ्नै गाडी चढेर हिड्नु हुन्छ, फिल्म खेलेर पुग्छ ?

मैले कमाएको पैसाले मात्रै गाडी जोडेको होइन । मलाई परिवारको पनि धेरै नै साथ र सहयोग छ । मेरो आवश्यकतालाई आमा, बुवा र दाजुले पुरा गर्नु भएको छ । यसमा मेरो लगानीको पनि केही भाग छ ।

आजकाल हिरोइनको कमाई पनि हिरोको झै हुन्छ ?

अझ राम्रो हुन्छ । आजकाल हिरोइनले पनि निकै राम्रो आम्दानी गर्छन । केही नायिकाहरुले  हिराको भन्दा पनि राम्रो पारिश्रमिक लिने गर्छन । पारिश्रमिकको मामलामा नेपाली फिल्म क्षेत्र आजकाल निकै उदार भईसकेको छ । नायिकाहरुलाई सधै रोनाधोनाका भुमिकाहरुमा मात्रै देखिईने जमाना पनि गईसक्यो नि त । अहिले त शीर्ष भुमिकामा नायिकालाई नै राखेर पनि चलचित्रहरुको निर्माण हुन थालिसकेका छन् ।

फिल्म पाउन नायिकाहरु बिच तँछाडमँछाड हुन्छ रे नि ?

अहिलेको जमानामा प्रतिस्पर्धा हुँन जरुरी छ । फिल्म पाउन तँछाडमँछाड नै चाहि हँुदैन । क्यारेक्टरमा जो फिट हुन्छ उसले फिल्म पाउँछ । कथाले मलाई नै माग्छ भने मलाई नै लिनुहुन्छ, होईन भने अरु कसैलाई । कसैलाई चाप्लुसी गरेर फिल्ममा काम पाईन्छ भन्ने मलाई लाग्दैन । र त्यसो गर्नु पनि हुन्न ।

चलचित्र भिमदत्तमा भिमदत्तको श्रीमतीको भूमिका निभाउनु भएको छ । भिमदत्तको श्रीमती कस्तो हुनुहुन्यो थाहा छ ?

मैंले पहिलाको उहाँको फोटो हेरेको थिएँ । ब्ल्याक एण्ड ह्वाइटमा पहिल्यैको फोटो हेर्न अवसर पाएको थिएँ । त्यही फोटो हेरेर साथै उहाँको बारेमा अध्ययन गरेर केही कुराहरु थाहा पाएको थिए ।

भिमदत्त पन्तका बारेमा तपाईको बुझाई ?

भिमदत्त पन्त एउटा किसान नेता हुनुन्थ्यो । उहाँ विदेशी सेनाबाट मारिनु भयो । उहाँलाई शहिद घोषणा गरिनु पर्थ्यो । तर अझै पनि गरिएको छैन । शहिद घोषणा गर्नु पर्छ भन्ने हामी फिल्म युनिट सबैको माग हो । यो मागलाई सरकारले सुनोस् । उहाँको त्यागको कदर होस् भन्ने हामी सबैको माग हो ।

नेपालका केही शीर्ष नेताहरुले पनि भिमदत्त फिल्म हेर्नु भएको छ, तपाईको भूमिकालाई लिएर के भन्नु भयो उहाँहरुले ?

उहाँहरुले मेरो कामलाई मन पराइदिनु भएको थाहा पाएको छु । केही नेताहरुले डडेलधुराकै भाषा प्रयोग गर्नु भएको रहेछ राम्रो लाग्यो भन्नु भएको छ । माओवादी नेता प्रचण्ले त यो विषयलाई गहन अध्ययन गर्ने पनि भन्नु भएको छ रे । त्यस्तै कांग्रेसका नेता शेरबहादुर देउवाले भिमदत्तको टाउको काटेर बाँसमा झुन्ड्याइएको दृश्य साँचो हो कि होइन भनेर बुझ्न खोज्नु भएको थियो ।

राजनैतिक दलका शीर्ष नेताहरुबाट पाएको प्रतिक्रियालाई कसरी लिनु भएको छ ?

नेताहरु बाटै यस्तो प्रतिक्रिया पाउँदा निकै खुशी लाग्छ । नेताहरुबाट मात्रै होईन चलचित्र जति ठाँउमा प्रर्दशन गरियो आम दर्शकले पनि निकै प्रशंसा गर्नुभएको छ । भिमदत्तमा काम गर्न पाउनुले म आफुलाई भाग्मानी ठानिरहेकी छु । पहिला त चलचित्रमा आफ्नो भूमिकालाई न्याय दिन सक्छु कि सक्दिन भन्ने डर थियो, तर जे होस् काम राम्रै गरेकी रहेछु भन्ने लागेको छ  ।

नेपाली सिनेमाका बाघ भनेर चिनिने शम्भू प्रधानको फिल्म रङ वैजनीमा काम गर्दाको अनुभवलाई कसरी लिनु भएको छ ?

यस्तो खालको ब्यानरमा काम पाउनु ठुलो अवसर हो । पहिला धेरै राम्रो फिल्म निर्देशन गर्नु भएका निर्देशकको रोजाईमा पर्नु पनि निकै खुशीको कुरो हो नि, हैन र ? शम्भू सरको बाह्र वर्षको खोलो हामीतिरै फर्कियो भनेर हामीले सुटिङमा पनि कुरा गर्‍यौं । ‘रङ वैजनी’ मा हामी एउटा परिवार जसरी काम गर्यौ । काम पनि भने झै भएको छ । हेरौं चलचित्र प्रर्दशनमा आएपनि राम्रै प्रतिक्रिया पाउछु भन्ने लागेको छ ।

प्रस्तुति : अर्जुनकुमार संग्रौला/उज्यालो

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया