MENU

अन्तर्वार्ता

Ncell Axiata

विषादी झारबाट सचेत हुनुहोस्

पार्थेनियम हेस्टेरोफोरस भनिने गाँजर झारले कृषिजन्य प्रजातीलाई पनि विस्थापित गर्दै लगेकोमा वैज्ञानिक चिन्तित छन् । झण्डै एक दशकअघि नेपाल भित्रिएको यो झार अहिले सडकको दायाँबायाँ, खेतबारीको खाली ठाउँ र चरनक्षेत्रमा  पनि फैलिएको छ ।

यस झारको नियन्त्रणका विषयमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको जिन बैंकका प्रमुख मदन भट्टसँग उज्यालो अनलाइनका लागि विनोद चौलागाईले गरेको कुराकानी:

पार्थेनियम हेस्टेरोफोरस कस्तो खालको झार हो ?

यसको पात गाँजरको जस्तो देखिने भएकाले गाँजर झार पनि भनिन्छ । यसको बैज्ञानिक नामचैं पार्थेनियम हेस्टेरोफोरस हो । संसारमा ठाउँ अनुसार यसको बिभिन्न नाम छन् । फुलेको बेला सेतो टोपी जस्तै देखिने हुनाले ‘सेतो टोपी झार’ पनि भनिन्छ । यो झार  संसारकै अति मिचाहा प्रजातीमा आउँछ । बाटोको छेउछाउमा, खाली जमिनमा, गाईवस्तुको चरनमा यो झारको बिउहरु हावाको माध्यमबाट उडेर जान्छ र उम्रन्छ ।

अरु प्रजातीहरुलाई बिस्थापित गरेर यसले आफ्नो प्रभुत्व जमाउँछ । यो घाँसले एक बोटबाट ३० हजारदेखि एक लाखसम्म बिउ उत्पादन गर्छ । यो झार फागुनदेखि उम्रन सुरु गर्छ भने बैशाख÷जेठमैं बिउ बन्न सुरु गर्छ र फेरि अरु विरुवा हुर्कन थाल्छ । यो झारको एकैपटकमा विभिन्न अवस्था देख्न पाइन्छ । उम्रिराखेको छ, हुर्किराखेको छ, फुलिराखेको छ, बिउ बनिसकेको छ र बिउ पनि फैलिसकेको छ । यो कारणले गर्दा तिव्र गतिमा देशभरि फैलिराखेको छ ।

खाद्यवालीहरुलाई यो झारले कसरी असर गर्छ ?

यो मिचाहा जाती भएको हुनाले खाद्य बालीहरु, तरकारी बालीहरु उम्रिरहेका हुन्थे त्यसलाई विस्थापित गर्दै कृषि जैविक विविधतालाई ठुलो हानी पुर्‍याइराखेको छ । यो सन् १९५० मा भारतले अमेरिकाबाट खाद्य आयात गर्दा गहुँको बिउ बाट भारतमा भित्रियो र भारतबाट नेपालमा आएको भन्ने अनुमान गरिएको छ ।

किसानले यसलाई कसरी चिन्ने ?

कतिपय वृद्ध महिला दिदीबहिनीहरुले यसलाई तितेपाती भन्ने ठानेर यसको बोटहरु हातले समातेको देखियो । देख्नेबित्तिकै मैंले भनें ‘आमैं यो त एकदम बिषाक्त झार हो, नछुनुस् ।’ सर्वसाधारणलाई राम्रोसँग थाहा छैन, यो झार गाँजरको पात जस्तो वा तितेपाती जस्तो देखिन्छ । कतिपय किसानहरु झुक्किन्छन् पनि । तितेपाती हो भन्ठानेर औषधीको रुपमा प्रयोग गर्न खोज्ने, पुजापाठमा पनि प्रयोग गर्ने चलन भएको हुनाले तितेपाती नैं हो भनेर घरमा लगेको देखियो ।

सर्वसाधारणले नबुझिकन घाँस वा स्याउलाको रुपमा प्रयोग गरिरहनुभएको हुनसक्छ । यसले कस्तो असर पार्छ ?

यसबाट एलर्जी, छालाको रोगहरु, श्वासप्रश्वासका रोगहरु देखा पर्छन् । गाईवस्तुले खायो भने दूधै खान हुँदैन भने खसीबोकाले खायो भने ‘पार्थेनिन’ नाम गरेको बिष मासुमा जाने भएकाले मासु समेत खान नहुने हुन्छ । यसबाट अनेकथरी रोग लाग्ने हुनाले अति बिषाक्त मानिएको छ । भारतमा यो झारको कारणले रोग लागेर मृत्यु समेत भएको उल्लेख गरिएको छ ।

यसलाई नियन्त्रण गर्न सकिन्छ ?

यसलाई नियन्त्रण गर्न पनि त्यति सजिलो छैन । यो बडा मिचाहा प्रवृत्ति भएको हुनाले सबै झारहरुलाई मार्ने ‘ग्लाइकोफोसेट’ भन्ने बिषादी र ‘राउण्ड–अप’ भन्ने हर्बिसाइड हुन्छ, त्यसको समेत यसले अबरोधीता प्राप्त गरेको हुन्छ । यसलाई कलिलो अबस्थामा ‘टु फोर डी’ नामक झार नाशक बिषादी छर्‍यो भने नियन्त्रण गर्न सकिन्छ । सबभन्दा राम्रो उपाय भनेको यसमा जनचेतना फैलाएर जनमानसमा यो झार यस्तो किसिमको हो, तितेपाती वा गाँजर जस्तै यसको पात देखिन्छ ।

यसलाई झुक्किएर पनि नछुने । हातमा पञ्जा तथा मुखमा मास्क लगाएर जरा सहित निकालेर खाल्डोमा हाल्यो भने यसको कम्पोष्ट बनाउन सकिन्छ । अन्यथाचैं यो अब नेपालभरी फैलिसकेको हुनाले भबिष्यमा कृषि जैविकतादेखि लिएर मानवजातीमा, पशुपंक्षीहरुमा बिभिन्न थरीका रोगव्याधीहरु निम्त्याउनसक्ने ठुलो सम्भावना छ । यस्तै बिषयमा चेतना फैलाउनु आबश्यक देखेको छु मैंले ।

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया