MENU

अर्थ

ujyaalo forign call inside

इच्छा पूरा गरिदिने पाथीभरा देवी

केशवप्रसाद भट्टराई/उज्यालो

ताप्लेजुङ, साउन १८ – धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेवी धाममा वर्षेनी पर्यटक बढ्दो छ ।

साउन, पुस र माघ महिनामा केही कम भएपनि अरु महिनामा पाथीभरामा पर्यटकको भीड लाग्छ । दशै तिहारको समयमा दैनिक ३० हजार जनासम्म आउने मन्दिर संरक्षण समितिका उपाध्यक्ष रणबहादुर कार्की बताउनुहुन्छ ।

मनको इच्छा पूरा गरिदिने देवीको रुपमा प्रसिद्धी कमाएको पाथीभरामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा लगायत पूर्वाञ्चलका जिल्लाका साथै काठमाडौ र छिमेकी भारतको उत्तर प्रदेश, आसाम, दार्जिलिङ, सिक्किमसम्मका मानिसहरु आउँछन् । समुन्द्र सतहबाट तीन हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथीभरा क्षेत्र ताप्लेजुङ सदरमुकामबाट १९ किलोमिटर टाढा पर्छ । यो क्षेत्रबाट विश्वकै अग्लो सगरमाथा हिमाल सजिलै देखिने भएकाले पनि पर्यटक लोभिने यहाँका डिल्लीराम आचार्य बताउनुहुन्छ । ताप्लेजुङ सदरमुकामबाट पैदल हिडेर सुकेटार, देउराली हुँदै पाँच घण्टामा भालुगौंडे अर्थात तल्लो फेदी पुगिन्छ । त्यहाँबाट दुई घण्टा हिँडेपछि माथिल्लो फेदी अर्थात पाथीभराको कान्छी थान आउछ । त्यहाँदेखि नै पाथीभरा क्षेत्र सुरु भएको मानिन्छ । कान्छी थानबाट दुई घण्टाको यात्रापछि मन्दिर क्षेत्र पुगिन्छ ।

यस क्षेत्रमा दुर्लभ रेडपाण्डा, कालोभालु, कस्तुरी मृग, डाँफे, मुनाल लगायतका दुर्लभ वन्यजन्तु र पन्छीहरु अनि कुट्की, विखमा, पाचँ औले, खोकिम लगायतका सयौ जडीबुटी पाइन्छ । चैत बैशाखमा यस क्षेत्रका पहाडमा ढकमक्क हुने लालीगुँरासले पर्यटक लोभिने गर्छन् । मौसम चिसो हुँदा हिउँ खेल्न आउनेहरुपनि उत्तिकै हुन्छन् । पाथीभरेको आकृतिको डाँडामा देवीको धाम भएकाले नै यसलाई पाथीभरा नामाकरण गरिएको वुढापाका बताउँछन् । करिव पाँचसय वर्ष पहिला यस क्षेत्रमा भेडीगोठ थियो । एक दिन गोठालाहरुको पाँच सय वटा भेँडा हरायो । तीन दिनसम्म खोज्दा समेत फेला नपारेपछि हैरान भएर उनीहरु रित्तै वेंशी झर्ने सोँचमा पुगेका थिए । त्यसै बेला राती सपनामा देवीले ‘तिम्रा भेडामध्येको ठूलो थुुवाँ पूजा गरिदिन्छौ भने हराएका सबै फेला पारिदिन्छु भनेपछि गोठालाले गोठको सबै भन्दा ठूलो थुवाँ पूजा गरिदिने भाकल गरेका थिए । भाकल गरेको केही समयभित्रै हराएका सबै भेडा कराउदै आएपछि गोठालाहरुले मन्दिर स्थपना गरिदिएको किंवदन्ती रहेको फुङलिङ ५ का बयोबृद्ध प्रजापति काफ्लेले बताउनुभयो ।

कतिपय भत्तजन भाथीभरा देवीले मनको इच्छा पूरा गरिदिएको विश्वास गर्छन् । झापा सुरुङ्गा ७ का सिद्धिकर्ण आचार्यले ७ बर्ष अगाडि सन्तान वरदान मागेको र त्यो पूरा भएपछि फेरि आएको बताउनुभयो । त्यतिमात्र नभई मन्दिर क्षेत्रबाट र बाटोमा देखिने मनमोहक दृष्यले पनि लोभ्याएको उहाँको भनाई छ ।

फोहोर ब्यवस्थापन र शौचालयकोे व्यवस्थाले हिजोआज मन्दिर क्षेत्र सफा भएको छ । मन्दिरमा आएर फर्कन नभ्याउने भक्तजन राती वास बस्न धर्मशाला पनि बनाइएको छ । मन्दिर संरक्षणका लागि सरकारी पाथीभरा क्षेत्र विकास समिति र निजी क्षेत्रको पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वर्द्धन समितिले बाटोघाटो, फलैचा निर्माणका साथै सरसफाइका काम गरिरहेको छ । अझ मन्दिरमा चढाइएका भेटी नगद वा जिन्सीको सदुपयोग गरी मन्दिर संरक्षणमा लगाएको पाथीभरा संरक्षण तथा संबद्र्धन सििमतिका कार्यबाहक अध्यक्ष रणबहादुर कार्कीले बताउनभुयो । आर्थिक बर्ष २०७०/०७१ मा १ करोड ४० लाख रुपैयाँ भन्दा भेटी संकलन भएको छ । त्यसमध्ये ४४ लाख ६८ हजार तीनसय त्रिसठ्ठी रुपैयाँ खर्च भएको कार्कीले बताउनुभयो ।

गएको वर्ष आन्तरिक र बाह्य गरी २ लाख ५० हजार जनाले पाथीभरा क्षेत्रको भ्रमण गरेका थिए । आगामी बर्षमा अझै पर्यटकहरु थपिने आसा रहेको कार्कीले बताउनुभयो । मन्दिरमा रहेका हजारौ थान घण्ट, देश विदेशका पुराना रुपैयाँ पैसा, पुरातात्विक महत्वका सामाग्री, ढुङ्गाका कलात्मक मुर्तिहरु हेर्न समेत पर्यटकहरु आउने गर्छन् ।

इच्छा पूरा गरिदिने पाथीभरा देवी

इच्छा पूरा गरिदिने पाथीभरा देवी

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया