MENU

अन्तर्वार्ता

Ncell Axiata
NIC Asia

रुकमाङ्गद कटवाल भनेको त्यो हात्ती हो, त्यसलाई सबैले देख्छन् र कराउँछन्

पूर्व प्रधान सेनापति रुकमाङ्गत कटवाललाई चर्चाले कहिल्यै छोडेन । उहाँको आत्मकथा सार्वजनिक हुन लागेको बेला कितावका अंश बाहिर आउँदा धेरैलाई कितावमा के होला र किन लेखियो यस्तो किताव भन्ने लागेको हुनसक्छ । त्यसै सेरोफेरोमा उज्यालो ९० नेटवर्क तथा उज्यालो अनलाइनका लागि गोपाल गुरागाईंले पूर्व प्रधान सेनापति कटवालसँग गरेको कुराकानी ।

तपाईंले आफ्नो आत्मवृत्तान्त लेख्न किन आवश्यक ठान्नुभयो ?

मलाई देश तथा विदेशमा रहेका मेरा मित्रहरुले आत्मवृत्तान्त लेख्न धेरै नै ‘इन्करेज’ गरे । म केही पहिले बनारस गएको थिएँ । त्यो बेला पनि मलाई धेरैले नेपालमा प्रजातन्त्रको पक्षमा नेपाली सेनाले लिएको अडानका विषयमा तपाईंले एउटा पुस्तक लेख्नुपर्छ भनेका थिए । उनीहरुले मलाई संसारमा यस्तो कहिँ पनि भएको छैन, तपाईंले यसको सुरुवात गर्नुहोस पनि भने । संसारमा धेरै इतिहास छन्, जहाँ सेनाले निर्वाचित सार्वभौम संसदले बनाएको संविधानको उल्लंघन गरेको, त्यसको खिलाफमा गएको छ । तर नेपाली सेनाको भूमिका यस्तो रह्यो जसले निर्वाचित संस्थाले बनाएको संविधानको रक्षा मात्रै गरेन त्यसलाई ध्वंस गर्न खोज्नेसँग पनि लड्यो । नेपाली सेनालाई कि यो त जहाँनिया व्यवस्थाको सेना हो अथवा कुनै व्यक्तिको मात्रै हो भन्ने बनाउन खोजिएको थियो । संसारका हरेक लडाईं र संसारमा शान्ति स्थापना गर्ने भनेर कहलिएको सेनालाई एउटा जहाँनिया सेना मात्रै बनाउन खोजिएको थियो ।

यस्तो अवस्थामा एउटा घटना हुन पुग्यो । सेनाले संविधानको पक्षमा अडान लिएकाले यो एउटा ऐतिहासिक घटना हो । यस्तो कुरा भविष्यका हाम्रा सन्ततिहरुले पनि थाहा पाउनुपर्छ र यो कुरा ‘रेकर्डेड’ हुनुपर्छ भनेर मलाई धेरैले भनेको हुनाले मैले यो लेखेको हुँ । धेरै साथी भाइले मलाई तपाईंले यो नलेखे नेपालको आधुनिक इतिहास अपुरो हुन्छ भनेर भने । मैले बेलायत गएर फर्कंदा के बुझें भने त्यहाँ धेरैले हरेक कुरा आफैंले रेकर्ड राख्ने चलन रहेछ । तर हामी भने इतिहास पनि बाहिरका मान्छेले लेखेका पढ्न बाध्य छौं । यस्तै पूर्व प्रधानसेनापति सिंहप्रताप शाहसँग म हङकङ जाने बेलामा उहाँलाई भेट्न गएको थिएँ । उहाँ २००७ सालपछिको सबैभन्दा शक्तिशाली प्रधानसेनापति भन्थे । उहाँलाई त्यतिबेला संसदहरु फूलका गुच्छा लिएर स्वागत गर्न बसेका थिए । हामी त्यतिबेला धेरै जुनियर थियौं, त्यै भएर हामी बोल्न धक मान्थ्यौं । उहाँलाई त्यो भएको चैं किन रे भने राजा वीरेन्द्र बेलायत बस्दा उहाँ चैं ‘अफिसियल गार्जिएन’ हुनुहुन्थ्यो रे त्यतिबेला । उहाँको राजासँगको अति नै राम्रो सम्बन्ध भएकाले उहाँलाई त्यसो गरिन्थ्यो भन्ने मैले सुनेको थिएँ । त्यतिबेलै मैले उहाँलाई हजुरले केही लेख्नुपर्‍यो भनेको थिएँ । उहाँले त्यतिबेला मलाई तिमीहरु केटाकेटी नै छौ, नेपालको सन्दर्भमा सत्य कुरा लेख्न सजिलो छैन भन्नुभएको थियो ।

तपाईंले भनि हाल्नुभयो नेपालमा सत्यतथ्य कुरा लेख्न सजिलो छैन, तर तपाईंको किताब सार्वजनिक हुनुभन्दा पहिले नै जे जति कुरा बाहिर आएका छन् त्यसले यहाँ ठूलो आगलागी होला भन्ने देखिएको छ, तपाईंको किताबमा उल्लेख भएका कुरा चैं कति सत्य छन् ?

यस्तो प्रश्न सोधिँदा मलाई बडा आनन्द लाग्छ । सत्यता जाँच्ने कसी के हो ? त्यो तुलो के हो त ? यो धेरै गाह्रो छ । संसारमा धेरै मान्छेका अटोबायोग्राफी हामीले पढेका छौं । त्यसमा पनि मान्छेले विभिन्न कुरा उठाउँछन् । हेर्नुस भगवान रामको पालामा त राममाथि औंला ठड्याएका थिए भने यो बेला रुकमाङ्गद कटुवालमाथि औंला ठड्याउनु कुन ठुलो कुरा भो र ? मूल सकडमा हजारौं कमिला हिँड्छन् त्यसलाई कसले देख्छ ? तर एउटा हात्ती हिँडोस त्यसलाई त सबैले देख्छन्, चिच्याँउछन्, कराउँछन्, तैपनि हात्ती आफ्नै बाटोमा अघि बढिरहन्छ । रुकमाङ्गद भनेको त्यो हात्ती हो, त्यसलाई सबैले देख्छन्, कराउँछन् । के भो र ? जबसम्म रुकमाङ्गदले देश र जनतालाई धोका दिँदैन, प्रजातन्त्रको पक्षमा लडिरहन्छ तबसम्म जोसुकै कराउन मलाई मतलव छैन । सबैले यसलाई मन पराउनै पर्छ भन्ने पनि छैन ।

भनेपछि किताबमा तपाईंले जति कुरा लेख्नुभएको छ, सबै सत्य हो ?

सबै सत्य हो । त्यसमा छिरिक्क तलमाथि छैन । यो सबै विश्वासको कुरा हो । जस्तो मैले गिरिजाबाबुसँग भएका कुराकानी पनि यहाँ समावेश गरेको छु । तर उहाँ त अहिले यहाँ हुनुहुन्न । हाम्रा केही गन्यमान्य व्यक्तिहरु अचेल के गर्नुहुन्छ भने एउटै टिभीमा एकापट्टि उहाँको अघिल्लो दिनको बाइट बजिरहेको हुन्छ र अर्कोपट्टि उहाँ त्यही कुरा मैले भनेकै छैन भन्नुहुन्छ । त्यसलाई पत्रकारले बंग्याइदियो भनेको त तपाईंले दिनदिनै सुन्नुभएको छ । त्यसैले कसैले यसलाई विश्वास गरेन भने पनि मलाई यो ‘सर्प्राइज’ हुने छैन । हामीमा हरेक चिजलाई नकारात्मक रुपमा हेर्ने परिस्थिती सिर्जना भएको छ । रुकमाङ्गदका केही राम्रा गुण पनि होलान नि, तर हामीमा भने उसको नकारात्मक पक्ष मात्रै हेर्ने चलन छ ।

तपाईले ईतिहासको रेकर्डका लागि भन्नुभयो, यो किताव इतिहास हो वा तपाईंको आत्मवृत्तान्त ?

यो आत्मवृत्तान्त भए पनि इतिहासको एउटा कालखण्डबाट गुज्रेको छ । एउटा प्रधान सेनापतिको कार्यकालमा राष्ट्रिय स्तरका ठूला ठूला घटनाहरु भए । जसले यहाँ ठूला ठूला परिवर्तन ल्याउने चेष्टा देखायो । त्यस्तो अवस्थामा रुकमाङ्गद कटुवालसामू नेपाली सेनाको प्रधान सेनापतिको हैसियतमा राष्ट्रिस्तरका निर्णय गर्नुपर्ने बाध्यता आइपर्‍यो । के निर्णय गर्दा देश जनताको हित हुन्छ भन्ने परिस्थिति बन्दा उसले देश र जनताका लागि झुण्डिन तयार छु भनेर बस्यो ।

धेरै मानिसहरुले तत्कालीन सत्तारुढ नेकपा माओवादीप्रति निकै कठोर बन्नुभयो भन्छन् नि !

एक पक्षीय मान्छेले त्यसो भन्छन् । केही मान्छेले अहिले पनि मलाई आएर तैंले राजालाई धोका दिइस भन्छन् । कतिले मलाई माओवादी विरोधी देख्छन् । उनीहरु मेरा नेपाली दाजुभाइ हुन्, म उनीहरुको सम्मान र श्रद्धा गर्दछु । उहाँहरु एउटा वर्गलाई सिध्याउनै पर्छ भन्नुहुन्छ, माक्र्सले त्यस्तो कुरा कहिल्यै भन्नुभएको छैन । उहाँहरु संसारबाटै फेज आउट भइसकेको विचारको कुरा गर्नुहुन्छ जुन कुरा नेपालको भू राजनीतिक अवस्थाले पनि स्वीकार गर्न सक्दैन । उहाँहरुले अरुलाई पश्चगमनकारी भन्नुहुन्छ, यो त महापश्चगमनकारी आइडियोलोजी हो । यहाँ वन पार्टी डिक्टेटरसिप चल्दैन भनेर मैले त्यसको विरोध गरेको हुँ ।

तपाईंले माओवादीको विरोध नगरे पनि तत्कालीन रक्षामन्त्री रामबहादुर थापा बादललाई त बादल नभनेर ‘मिस्टर क्लाउड’ मात्रै भन्नुभो नि ?

मलाई उहाँ मिस्टर क्लाउड हो भन्ने थाहा थिएन । मैले अरुले भनेको सुनेको हुँ । मैले अरु राजनीतिज्ञको मुखबाट सुनेको हुँ । अर्को कुरा आर्मीमा चेन अफ कमाण्ड हुन्छ र त्यो तोडियो भने उसले दिएको जिम्मेवारी वहन गर्न सक्दैन । त्यो बेला उनीहरुलाई नेपाल आर्मी हाम्रो आर्मी हो भन्ने भान भएन । उनीहरुले आर्मीलाई कसरी गाली गलौज गरे ? आर्मी त धैर्यवान भएर बसेका हो, त्यो नभएको भए ठूलो रक्तपात हुने थियो ।

तपाईं राजा महेन्द्रसँग हुर्कनुभयो, वीरेन्द्रसँग लामो संगत गर्नुभयो र आफैंले खाई खेलेको संस्थालाई विदाइ पनि गर्नुभयो, त्यतिबेला तपाईंलाई द्विविधा भएन ?

म पहिले के क्लिएर गरौं भने राजा महेन्द्रले मलाई पहाडबाट ल्याएर स्कूलमा हाल्नुभयो, त्यतिबेला हामी ८ जना थियौं । त्यतिबेलाका हामीमध्ये कोही डाक्टर छन्, कोही पाइलट छन् र म प्रधानसेनापति भएँ । तर यो कुरा म प्रधान सेनापति हुने बेलामा बाहिर ल्याएर बबन्डर गरियो । मलाई दरबारको धर्मपुत्र भन्छन्, तर म दरबारमा एक रात पनि सुतेको छैन । राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग त मेरो हङकङमा चिनजानी भएको हो । मैले त्यतिबेलाको शाही नेपाली सम्पर्क अधिकारीको कार्यालयमा कार्यरत रहेको अवस्थामा उहाँहरुसँग चिनजानी गरेको हुँ । नेपाली सेनाले कस्तो भूमिका खेल्ने भन्ने कुरा धेरै त्यही कितावमा उल्लेख छ । अन्तिम समयमा नेपाली जनताको परिवर्तनको चाहनालाई सेनाले स्वीकार गर्ने अथवा त्यसलाई लात मार्नेतिर जाने अवस्था आउँदा मैले जनताको पक्षमा निर्णय गरेको हुँ ।

त्यतिबेला तपाईंले तत्कालीन राजा ज्ञानेन्द्रलाई सल्लाह दिनुभएन ?

त्यतिबेला प्रशस्त कोसिस भए तर के कारणले हो त्यो सुनुवाइ भएन । नेपाली सेनाले नेपालीहरुलाई मार्न हुँदैन भन्नेमा थियो । २०६२/०६३ मा जनता उर्लेकै हुन् । यो बेलामा आर्मीले धेरै नेताहरुसँग कुराकानी भएको छ ।

रिटायर्ड लाइफमा हुनुहुन्छ, के गरेर जीवन बिताउँदै हुनुहुन्छ ?

गोपालजी, म एउटा कुरा भनौं, संसारमै जनरल्स नेभर रिटायर्ड, दे फेड अवे भन्छन् । मैले मेरो विदाइ कार्यक्रममै भनेको थिएँ, मलाई रिटायर्ड पनि नभन्नुस र थाक्दिन पनि भनेको थिएँ । यहाँ आएर मलाई हेर्नुभयो भने मेरो दिनचर्या हेर्न सक्नुहुन्छ, मलाई बिजी विद्आउट विजनेश भन्नु सान्दर्भिक हुन्छ । म आर्मीमा युनिफर्म लगाएर बस्दा धेरै बोल्न मिल्दैनथ्यो तर अहिले म फ्रि छु । अहिले त महा फ्रिडममा छु ।

यो फ्रिडमसँग सँगै तपाईंलाई जहिले पनि विवादले पच्छ्याइराखेको छ, कारण के होला ?

त्यो त राम्रो कुरा हो नि । कन्ट्रोभर्सी आउने भनेको विशिष्ठ मान्छेको आउँछ । महात्मा गान्धीको त शत्रु रहेछन् भने मेरो के भो र ? यसमै छ मज्जा ।

माओवादी आन्दोलन कति भुराजनीति कारणले जन्मेको भन्दा तपाईंले ग्रासरुट डेमोक्रेसीको कुरा गर्नुभयो । यो ग्रासरुट डेमोक्रेसी बन्दा बन्दै माओवादी आन्दोलन आएर भत्किएको भन्ने धेरै जनाको मुल्यांकन छ । नेपालमा प्रजातन्त्र बन्न थाल्दा खेरी सुरु भएको माओवादी आन्दोलनमा भुराजनीतिक कारण कति हावी थियो ?

त्यसबेलामा गरिवी, अशिक्षा र बेरोजगारीका साथै जाति, जनजाति, धर्मका मुद्दाहरु उठे । त्यसलाई उहाँहरु(माओवादी नेताहरु)ले पृथ्वीनारायण शाहभन्दा पहिलाको नेपाल जस्तो लागेर एक अर्कालाई जुधाई दिने, बझाई दिने र आफू चै नेता बन्ने । त्यो कुरा चाहिं उहाँहरुले लागू गर्न खोज्नु भयो र त्यसैलाई समातेर उहाहरुले ‘शो कल्ड’ आन्दोलन सुरु गर्नुभयो । अज्ञात, अञ्जान र अशिक्षित मान्छेलाई त थाहा हुँदैन । धेरै लोभ देखाएपछि जो पनि फस्छ । तैंले प्रधानमन्त्री, मुख्यमन्त्री    हुन पाउँछन् । भोलि तँ यहाँको हाकिम हुन्छस भने पछि जो मान्छे पनि उसको पछि लागि हाल्छ । अज्ञानता, असक्षमता र दुरदृष्टी नभएका मान्छेहरुलाई राम्रोसँग उहाँहरुले प्रयोग गर्नुभयो । त्यसको नतिजा उहाँहरुले अहिले आफैं भोगिरहनु भएको छ ।

यो देशमा नेतृत्वको खाँचो भयो । जुन कुरा अस्ति भर्खर विदेशी पाहुना आउँदा पनि तपाईंहरुले देख्नुभयो । नेपालको स्वार्थ के के हुन् ? त्यो स्वार्थका लागि के के गर्नुपर्छ ? छिमेकी देशलाई दुःख नपुर्‍याई के के फाइदा लिन सकिन्छ भन्ने बारेमा निर्णय गर्ने ठाउँमा रहेका सबै नेताहरु बसेर छलफल गरी निर्णय गरेर भेट्न गएको भए हुन्थ्यो नि भन्ने मेरो मान्यता हो ।  तर उहाँहरु कांग्रेस, एमाले, माओवादी, मधेसी बनेर भेट्न जानुभयो । विदेशी पाहुनाले नै पहिला तपाईंहरु नेपाली बनेर आउनुस् न भन्ने सन्देश दिनुपर्‍यो । यो भन्दा लज्जास्पद कुरा अरु के हुन्छ ? मेरो लागि त त्यो भन्दा लज्जाको विषय अरु केही हुँदैन ।

भारतमा भर्खरै राजनीतिक नेतृत्व परिवर्तन भयो । के त्यहाँ मुख्य सचिव, सुरक्षा निकायका हाकिम परिवर्तन भएका छन् ? छैनन् । तर हामीकोमा त्यो भएन । प्रधानमन्त्री परिवर्तन हुने वित्तिकै हामीकामो एउटा डिएसपी, खरदार, सुब्बासमेत परिवर्तन हुन्छन् । त्यसो भएपछि त्यो खरदार, सुब्बाले नेताको घर धाउनु परेको छ । त्यसैले उ काममा लाग्ने भएन । उसले स्वास्नी छोराछोरी पाल्नुपर्छ । त्यसैले उ जागिर जोगाउन हाकिमकोमा धाउनु पर्छ । यहि रितले गर्दा खेरि तलदेखि माथिसम्म भताभुंगा भएर प्रशासनिक, राजनीतिक, नैतिकता, अनुशासन, कार्यक्षमताको भ्वांग परेको छ । अब कुन चैं भ्वांग टाल्ने ?

यसमा मैंले देखेको  उपाय के हो भनेनी राष्ट्रिय मुद्दामा हामी सबै नेपाली एकै ठाउँमा बस्न सक्नुपर्‍यो । हामीलाई सबैभन्दा पहिला नेपाल चाहिन्छ । त्यसपछि मात्र हाम्रो चिनारी पहिचान अर्थात भनौं धर्म, जाति, बर्गका कुरा पछि आउँछन् । तेश्रोमा चाहिं हामीलाई प्रजातान्त्रिक पध्दति चाहिन्छ । जुन पध्दति अनुसार मैंले मेरो हक अधिकारको कुरा गर्दा मेरा विरोधीका हक अधिकारको पनि रक्षा गर्ने क्षमता होस । त्यो पध्दति जसलाई विश्वले मानेका छन् । हाम्रा छिमेकीले मानेका छन् । यी कुरालाई मध्यनजर गर्नु पर्‍यो ।

तपाईंको किताबले त्यो दिशा तिर लैजान मद्दत गर्छ नेपाललाई ?

यो मेरो जीवनी हो । त्यतातिर लैजानका लागि ठोस रुपमा यसो गर्नुपर्छ भनेर भन्ने कुरा भएन । यो सन्दर्भ अर्को भयो ।

तर तपाईंको अनुभव त छ नि यो किताबमा ?

यो किताबले भन्दा पनि अरुले चैं सक्छ होला । मलाई तपाईंका अनुभवका श्रृखला आउनु पर्छ भनेका छन् । मलाई किताब लेख्न सघाउने किरण भण्डारी, सुदीप श्रेष्ठजीहरुले सय डेढसय जनासँग गएर कुरा गरेका छन् । मसँग काम गरेका, मलाई चिन्ने, राजनीतिज्ञ, जाने बुझेसम्म सबैसँग गएर उनीहरुले बुझेका छन् ।  तर त्यो यहाँ लेखिएको छैन । त्यसको पाटो भिन्नै हुन्छ ।

भिन्नै पाटोको कुरा गर्दा मलाई एउटा कुरा सोध्न मन लाग्यो । तपाईंले धेरै वटा प्रधानमन्त्रीसँग काम गर्नुभयो ?

हो हो मैंले धेरैजनासँग काम गरेको छु । देउवाजी, लोकन्द्रजी, सूर्यबहादुरजी, त्यसपछि फेरि देउवाजी, त्यहाँपछि गिरिजा बाबु पाँचौ हुनुभयो । त्यसपछि पुष्पकमल दाहालजी, त्यहाँपछि माधव जी । सात जनासँग काम गरेछु मैंले ।

यी सात जनासँग काम गर्दाे, सेनाका संवेदनशीलता र महत्वलाई सबैभन्दा सजिलो बुझ्ने प्रधानमन्त्री को हो जस्तो लाग्यो तपाईंलाई ?

मैंले यसका दुई चारवटा कुरा किताबमा लेखेको छु । मेरा लागि सबै प्रधानमन्त्री उत्तिकै हुन् । यी सात जना प्रधानमन्त्रीसँगका मेरा व्यक्तिगत कुराहरु र मेरो निजी अनुभव किताबमा लेखिएको छ । मेरा लागि मान्यवर छन् सबैजना । सबैलाई सत्कार गर्छु, मान्छु । देशका नेताहरु हुनुहुन्छ । उहाँहरुलाई पशुपतिनाथले ज्ञान दिएर सबैजना एकै ठाउँमा बसेर नेपालको सन्दर्भमा कुरा यो हो भन्ने सक्ने क्षमता प्रदान गरुन् । मेरो भनाई यही नै हो ।

होइन होइन काम गर्दा सजिलो अप्ठ्यारो हुन्छ नि ?

मलाई कसैले त्यस्तो अप्ठ्यारो पारेनन् । अब माओवादीको सरकार हुँदा के के पर्‍यो भन्ने कुरा किताबमा छँदै छ । माधव नेपालजीसँगको पनि भिन्नै पक्ष छ । त्यो कुरा किताबमा लेखिएको छैन यहाँ । सायद त्यो पनि लेखिन्छ होला । लेख्छन् होला लेख्ने मान्छेले ।

प्रधानमन्त्रीसँग सँगै राजाको कुरा पनि जोड्छु यहाँ । ज्ञानेन्द्र, विरेन्द्र र महेन्द्र तीनवटा राजामध्ये सबैभन्दा दुरदर्शी र नेपाललाई नेतृत्व दिन सक्ने को थियो जस्तो लाग्छ ?

राजा महेन्द्रको तुलना यो देशमा छैन ।

 किन ?

मैंले दशैंको टिकाको दिन संखुवासभामा त्यहाँका राजनीतिज्ञ, पत्रकार, मानव अधिकारकर्मीलाई भनेको थिएँ । हेर्नुस राजा महेन्द्र र विपीलाई मिल्न दिएको भए यहाँ अहिले चार लेनको हाइवे हुन्थ्यो होला । ठूला ठूला डबल डेकर बस चल्थे । तपाईंका छोराछोरी राम्रा लुगा लगाएर स्कुल कलेज जान्थे होलान् । तपाईंहरु सुट टाई लगाएर हिंड्ने हुनुहुन्थ्यो होला । तर महेन्द्र र विपीलाई मिल्न नदिएका कारण यस्तो भएको छ भनेर मैंले त्यहाँ भनेको थिएँ ।

त्यस कारणले मलाई के लाग्छ भने नेतामा निर्णय गर्ने क्षमता चाहिँ हुनुपर्छ । २५–३० वर्ष वा ५० वर्षपछिको कुरा नेपालको सन्दर्भमा देख्न सक्नुपर्छ र त्यो बेलामा नेपालीको अवस्था कस्तो होला भनेर भिजन बनाउनुपर्छ । त्यो भिजन अनुसार काम गर्ने लक्ष्य निर्धारण गर्नुपर्छ । त्यो निर्धारण गर्ने नेतामा मैंले बिपीलाई पाएँ । विपीको बारेमा पढेर मैंले यो कुरा पाएको हो । अमेरिकाबाट आएपछि मैंले राजा महेन्द्र र विपीको बारेमा पढ्न थालेको हो । राजा महेन्द्रमा  सबैको कुरा बुझ्ने र सुन्न सक्ने क्षमता रहेछ । धेरै मानिसलाई सुनेपछि मात्र उहाँले निर्णय गर्नुहुँदो रहेछ । उहाँले दरबारकै ठूला ठूला हाकिमलाई जागिरबाट निकाल्नु भएको छ ।

राजा ज्ञानेन्द्रको विषेशता नि ?

हामीले उहाँलाई पहिला पहिला बुबा महेन्द्र जस्तै चलाख र दुरदर्शी हुनुहुन्छ भनेर अनुमान गरेका थियौं । तर पछि त्यो उहाँमा देख्न पाइएन ।

अब फेरि अघिकै विषयमा फर्कौं । तपाईले जनरल नेभर रिटायर्ड भनिरहनु भएको छ । तपाईंको जिन्दगीमा गोली र बोलीले बराबरी महत्व राखिरहेको छ नि ?

एकदम । गोली र बोली एकपटक छुटेपछि छुट्यो छुट्यो । त्यो कहिल्यै फर्केर आउँदैन ।

तर तपाईं आफूलाई गोली चलाउने ठाउँमा हुँदा बलियो ठान्नुहुन्थ्यो कि अहिले पनि त्यतिकै बलियो ठान्नुहुन्छ ?

हैन त्यसबेलामा मेरो भिन्नै किसिमको जिम्मेवारी थियो । अहिले मेरो जिम्मेवारी फेरिएको छ । म स्वतन्त्र नागरिक भएको छु । म दुवै अवस्थामा कानुन भित्र बसेर बलियो छु ।

तपाईंको बारेमा पढ्दा बुझ्दा यस्तो लाग्छ कि तपाईंको जिन्दगीमा ग्रे एरिया नै छैन कि ह्वाइट एरिया छ कि ब्ल्याक एरिया छ । आफ्नो जिन्दगीलाई कसरी हेर्नुहुन्छ ?

मेरो जिन्दगीलाई कसरी हेर्ने भन्ने उत्तर दिन्छु म । फूलको आँखामा फुलै संसार । काँडाको आँखामा काँडै संसार । सुन्दरता हेर्नेको आँखामा भर पर्छ भनेजस्तै हो । मलाई कसैले हिटलर देख्छ । कसैले मलाई अलेक्जेण्डर द ग्रेट देख्छन् । कसैले मलाई माओवादी विरोधी देख्छन् भने कसैले मलाई दरबार विरोधी । एकथरीले मलाई नेता विरोधी देख्छन् । कसैले मलाई नेपालकै हिरो भन्छन् । अब तपाईंले मलाई कसरी हेर्नुहुन्छ ?

तपाईंलाई चाहिँ वास्तवमा आफू के हो जस्तो लाग्छ ?

म रुकमाङ्गत कटवाल, नेपालको एउटा नागरिक । नेपाल आर्मीको अवकास प्राप्त जर्नेल ।

तपाईंको किताबका जति अंश बाहिर आएका छन् । त्यो हेर्दाखेरि तपाईंले आफूलाई बढाई चढाई गर्नु भएको छ भन्ने प्रतिक्रिया सुन्न थालिएको छ ।

यसको उत्तर मैंले अघि नै तपाईंलाई दिइसकेको छु । तपाईंले कसरी हेर्नुहुन्छ । कसरी बुझ्नुहुन्छ त्यसमा भर पर्ने कुरा हो । यसको मापन के हो ? त्यो त पढेपछि कसैले ठिक छ भन्ला कसैले बेठिक भन्ला । रात र दिन त संसारमा हुन्छ ।

पाठकले पढ्नु अघि यो किताबको बारेमा तपाईंलाई केही भन्न मन लागेको छ ?

मलाई पन पराउनेले पनि मन नपराउनेले पनि यो किताब पढ्छन् । कौतुहलका लागि पनि पढ्छन् यो किताब । भविष्यका सन्ततिहरुले पनि यो कुरा बुझ्दै जान्छन् । इतिहास भन्ने कुरा तुरुन्तै देखिँदैन । ५० वर्ष २ सय वर्षपछि देखिने कुरा हो । इतिहासले त्यसरी नै मुल्यांकन गर्छ । देशका जनताका लागि पक्षमा आइ पर्‍यो भने निर्णय लिन सक्नु पर्छ र त्यो क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । कसैले नराम्रो भन्छन भने पनि त्यसलाई वास्ता गर्नुहुँदैन । तर तपाईंलाई भित्र आत्म विश्वास हुनुपर्छ कि मेरो निर्णय देशको पक्षमा छ, जनताको पक्षमा छ ।

त्यतिबेला प्रधानमन्त्री(प्रचण्ड)ले भनेको मानेको भए हेर्नुस अहिले म धेरै धनीमानी मान्छे हुन्थें होला । मेरा राम्रा राम्रा मोटर गाडी हुन्थे होलान् । म कुटनीतिक नियोगमा प्रवेश गरेर झण्डावाला गाडीमा चढेर विदेश घुमिरहेको हुन्थें होला । तर मलाई के लाग्छ भने, मैंले त्यसो गरेको भए मेरा छोरा नातीलाई थुक्क मोरा तेरो बाजेले यस्तो गरेछ नि । देशलाई धोका दिएर, संविधान तोडेर मोजमस्ती गर्‍यो भन्थे । त्यसैले मैंले निर्णय गरें जुन जनताको पक्षमा छ । यो देशको पक्षमा छ र भविष्यको पक्षमा छ भनेर मैंले निर्णय गरें ।

त्यो निर्णय लिनु भयो । त्यो निर्णयपछि निरन्तर चर्चामा हुनुहुन्छ । अब मलाई जान्न मन लागेको कुरा, यो किताबबाट तपाईंका शत्रु बढ्छन् कि मित्र ?

मलाई कसैले सत्रु देख्छ भने कसैले मित्र देख्ला । तर मैंले यो देशमा कसैलाई शत्रु देखेको छैन । मैंले उहाँहरुको गल्ती औंल्याई दिने प्रयास गरेको छु । शत्रुको नाताले होइन मित्रको नाताले । शत्रुलाई पनि सम्झाई बुझाई राम्रो बाटोमा ल्याउन सक्नुपर्छ र त्यो क्षमता भयो भने नेतृत्व देखिन्छ भन्ने धारणा भएको मान्छे म । त्यसैले कसैलाई शत्रु देखेको छैन । सबैलाई मित्र देखेको छु ।

भनेपछि किताबबाट आउने विवादको सामना गर्न तयार भएर बस्नु भएको छ ?

एक दम, एक दम । मलाई जतिले गाली गरुन । मेरो नुर गिर्ने गाली गरुन । अथवा मानिसले पढ्दै नपढुन् मलाई त्यसले असर गर्ने छैन । मलाई विश्वास छ यो सत्य हो र एक दिन यो खुलस्त हुने छ  नेपाली जनताले बुझ्नेछन् ।

कटुवालको पुस्तकको महत्वपूर्ण अंश पढ्नुहोस  : आरजु म्याडमलाई लाग्यो होला-यो जर्नेल पनि जड्याहा नै रहेछ

अन्तवार्ता सुन्न तलको अडियो फाइल डाउनलोड गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया