MENU

अन्तर्वार्ता

Ncell Axiata
USAID

महिलालाई विदेश पठाएर पुरुषले घर धान्दा....

सरकारी तथ्याङ्क अनुसार बितेका ८ बर्षमा १ लाख भन्दा धेरै नेपाली महिला रोजगारीका लागि विदेश पुगेका छन् । त्यो भन्दा अगाडि र भारत भएर काम गर्न बिदेश जाने महिलाको रेकर्ड कतै पनि छैन । त्यसैले कति नेपाली महिला रोजगारीका लागि विदेश पुगेका छन् भन्न कठिन छ । तर हिजोआज नेपालका धेरै घरपरिवार नेपाली महिलाले विदेशमा बगाएको पसिनाले धानेको तथ्य चाहिँ कसैबाट लुकेको छैन ।

हाम्रो समाजमा छोरी मान्छेलाई पढाउनु हुँदैन भन्ने र छोरीलाई पढाउने बाबुआमाका कुरा काट्नेहरु अझै छन् । तर, अहिले समय फेरिएको छ । चुलाचौकोमा सिमित नेपाली महिला धन कमाउन सात समुन्द्र पारी पुगेका छन् । महिलाको सट्टा चुलोचौका र घरव्यवहार सम्हाल्ने काम पुरुषले गर्न थालेका छन् ।

तर, उनीहरुको घर सजिलोसित चलेको छैन । चुलोचौकाको घेरा नाघेर नेपाली महिला घरपरिवारको दुःखसुखमा खर्च टार्ने भइसकेका छन् । श्रीमानको भरोसा लिएर बाँचेकाहरु आफ्नै खुट्टामा उभिएका छन् । तर, कुरा काट्ने मान्छेको खाँचो छैन हाम्रो समाजमा । यिनै सेरोफेरोमा साथी रीतु थेबेले वैदेशिक रोजगारीमा महिलाका कारण फेरिएको चालचलनबारे मानवशास्त्री डा. जनक राईसँग कुराकानी गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा जानेहरुका कारण नेपाली समाज र व्यक्तिमा आएको परिवर्तन के हो ?

त्यसका विभिन्न कारणहरु छन् । व्यक्तिगत रुपमा स्वदेशमा केहि गर्न सकिएन भने विदेशमा गएर भएपनि मैले कमाउन सक्छु भन्ने आत्मबल आएको छ । यसलाई सकारात्मक नकारात्मक भनेर विश्लेषण गर्नु भन्दापनि यो आत्मबलले आफूले आफूलाई नै हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । आर्थिक रुपमा विदेशमै गएर भएपनि कमाउन सक्छु है भन्ने भावना आएको छ । यसले नेपालमा रेमिट्यान्स आर्थिक स्रोतको ठूलो हिस्सा भएको छ । यस्तै सामाजिक रुपमा रहेका आधारभूत संस्था र संगठनमा पनि वैदेशिक रोजगारीले ठूलो प्रभाव पारेको छ । उदाहरणका लागि परिवार । हाम्रा हजुरबुबा, हजुरआमाले बुझ्ने परिवार र अहिले हामीले बुझ्ने परिवार फरक छ । नेपाली परिवार हिजोआज बहुराष्ट्रिय परिवारमा परिवर्तन भएको छ । प्रायःजसो परिवारका सदस्यहरु कुनै कुनै देशमा छन् र प्रत्येक परिवारको सम्बन्ध एउटा गाउँको परिधिभीत्र मात्रै नभएर धेरै राष्ट्रमा फैलिएको छ । त्यसले गर्दा हाम्रो सामाजिक सम्बन्धहरुमा पनि विस्तारै परिवर्तन भइरहेका छन् ।

महिला विदेश जान थालेपछि पुरुषले महिलाको काम धान्नु परेको छ । यसलाई पुरुषले कस्तो रुपमा लिएका छन् ?

पहिलो कुरा नेपालको कृषि क्षेत्रलाई धान्ने काम महिलाले नै गरेका हुन् । उनीहरुले परिवार तथा घर गृहस्तीका सबैका धान्दै आएका हुन् । अहिले विदेश जाने महिलाहरुको संख्या ठूलो छ । सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने पनि करिब २ लाख महिला वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका छन् । नेपाली समाजको संरचना अहिलेसम्म पनि पितृसतात्मक छ । घरगृहस्ती धान्ने, चुलोचौको गर्ने, पानी ल्याउने बस्तुभाउ गर्ने भनेको महिला कै काम हो भन्ने मान्यता अहिलेसम्म पनि हाम्रो समाजमा छ । महिला विदेश जाने क्रम बढेपछि उनले गर्दै आएका काम धेरैजसो परिवारमा अहिले पनि परिवारका अन्य महिलाले गर्दै आएको विभिन्न अध्ययनले देखाएका छन् । कोही कोही पुरुषले पनि घर धान्ने काम गरेका छन् । त्यसमा उनीहरुलाई व्यवहारिक कठिनाइ त हुन्छ । तर यसले महिलाप्रति पुरुषले गर्ने व्यवहारमा परिवर्तन भने आउँछ । उनीहरुले आफ्नो आमा वा श्रीमतीले कसरी काम गरेका रहेछन् भन्ने थाहा पाएका छन् । यसले महिला प्रतिको सोचाइमा विस्तारै परिवर्तन गर्दै लैजान्छ । व्यवहारिक कठिनाइ त हुन्छ नै । यसो भन्दैमा महिला वैदेशिक रोजगारीमा जानु हुँदैन भन्ने होइन । मेरो विचारमा यसले लैंगिक सम्बन्धहरुमा सकारात्मक परिवर्तनहरु ल्याएको छ ।

पुरुषले घर धान्नु पर्दा त्यो घरमा कस्ता कस्ता समस्या आउलान् ?

ठ्याक्कै यस्तै खालको समस्या आउला वा आएका छन् भनेर मैले किटान गरेर भन्ने स्थिति छैन । तर तपाईंले भने जस्तै पुरुषप्रधान समाज भएकाले के हुन सक्ला भने पुरुषलाई यसले त महिलाको काम पनि गर्दो रहेछ, घरमा भान्छा पनि गर्दो रहेछ भनेर उसलाई समाजिक हिसाबमा कसैले गिज्याउन सक्ला भने कसैले सम्मान पनि गर्न सक्लान् । ए यसले त घरको काम पनि गर्दो रहेछ, यो त असल बाबु पो रहेछ भनेर सामाजिक प्रतिष्ठा पनि बढ्न सक्छ । हुन त महिला पुरुष दुबै मिलेर घर परिवार चलाएको राम्रो । वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आएमा पुरुषलाई घर धान्न, बच्चाहरुको पढाइ तथा आफ्नै घरबाहिर गर्नुपर्ने कामका असर पर्न सक्छ । हिजो पुरुष बाहिर हुँदा महिलाहरुले भोगेको समस्या पनि त्यहि नै हो । महिलालाई विदेश पठाएर पुरुषले घर धान्दा समाजको एक पक्षले गिज्याउने र अर्को पक्षले सम्मान गर्न सक्ने दुबै सम्भावना रहन्छ ।

बालबच्चाको स्वास्थ्य, शिक्षा जस्ता कुरामा पनि समस्या आउलान् नि ?

हाम्रो समाजमा अझै पनि पश्चिमा देशहरुमा जस्तो विवाहपछि एकल परिवारमा नभएर संयुक्त परिवारमा नै बस्ने परम्परा कायमै छ । नाबालक सन्तान छाडेर महिला विदेश गएको अवस्थामा बच्चाको मनोवैज्ञानिक अवस्थामा प्रभाव पर्छ । त्यसो भन्दैमा महिला विदेश गएका परिवारका बालबालिकाको हुर्काइमा समस्या आएको छ भन्ने होइन । अध्ययनहरुले के देखाएका छन् भने आमा अथवा बुहारी विदेश गएमा सासुले उसले गर्दै आएको भूमिका लिइरहेका छन् । महिलाहरु वैदेशिक रोजगारीमा जाने वित्तिकै उनीहरुको सबै पारिवारिक जिम्मेवारी पुरुषमा आएको छ भन्ने होइन । कतिपय अवस्थामा तपाईंले भनेजस्तै बाबुले मात्रै गर्नु पर्दा मायाममता, बालबच्चाको हुर्काइ बढाइमा व्यवहारिक कठिनाइ आउन सक्छ । जस्तो, छोरी हुर्किँदै जाँदा बाबु र छोरीबीचमा छोरीको शारीरिक परिवर्तन तथा समस्याहरुमा नेपाली समाजमा व्यवहारिक समस्या भने छ ।

वैदेशिक रोजगारीले महिलाको सशक्तिकरण र उनीहरुको सामाजिक, आर्थिक स्थिति चाहिँ सवल भएको हो ?

निश्चित रुपले हो । किनभने महिलाहरुले पनि मौका पाए भने कमाउन सक्दा रहेछन् भन्ने भएको छ । कमाइ बढेपछि उहाँहरुको आत्मबलमा पनि विकास भएको छ । यसलाई महिलाको सशक्तिकरणसँग जोड्न सकिन्छ । अध्ययनहरुले के देखाएका छन् भने महिलाले कमाएको पैसा उनीहरुका बालबच्चाको शिक्षा दिक्षामा खर्च हुने गरेको पाइएको छ । सिंगो परिवारकै सामाजिक पूँजी निर्माणमा सहयोग पुगेको छ । तर महिलाहरुले अहिले पनि विदेश गएर गर्ने काम भनेको घरायसी काम नै हो । उनीहरुले त्यहाँ गरेका काम नेपालमा आएपछि प्रयोगमा ल्याउन सकिन्छ कि सकिदैन भन्ने तर्फ चाहिँ ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया